सिन्धुली— सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनामा संसदीय छानबिनको माग गर्दै रास्वपा सांसद खगेन्द्र सुनारसहितले बिहीबारबाट सिन्धुली प्रशासनमा धर्ना थालेका छन् ।
१६ वर्षीया किशोरीसँग प्रेमविवाह गरेपछि श्रीकृष्णलाई बलात्कार मुद्दा लगाएर फसाइएको र प्रहरी हिरासतभित्र भएको घटना आत्महत्या मान्न नसकिने भन्दै पीडित परिवार र अधिकारकर्मी आन्दोलनमा छन् ।

यहीबीच सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आशिष गजुरेललेले सिन्धुली प्रशासनको गेटमा धर्ना सुरु गरेका हुन् । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक र ड्युटीमा खटिएका कमाण्डरलाई निलम्बन गर्नुपर्ने माग रहेको सुनारले बताए ।
उनका अनुसार प्रहरीको आन्तरिक उच्चस्तरीय, विज्ञ छानबिन, संसदीय छानबिन हुनुपर्ने माग छ भने बलात्कार मुद्दा भनेर जोहरी दिनेलाई जातीय हिंसामा कारबाही माग गरिएको छ ।
प्रहरीले ‘आत्महत्या’ दाबी गरे पनि पीडित परिवारले घटनालाई ‘रहस्यमयी’ भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । यद्यपि, सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेर बिहीबारबाट छानबिन थालिसकिएको छ ।


























Leave a Reply