गुन्डा लगाएर मुसहर बस्तीमा आक्रमण,त्रासले महिलाले गरिन् आत्महत्या, गाउँ नै त्रसित

दलित अनलाईन २३ श्रावण २०७७, शुक्रबार ११:००

विराटनगर– छरछिमेकको सामान्य विवादमा मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जीका मुसहर समुदायमाथि मध्यराति तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरिएको छ । आक्रमणबाट पाँचजना गम्भीर घाइते भएका छन । पक्राउ गरिएका आक्रमणकारी प्रहरीले छाडेपछि त्रसित पीडित परिवारकी एक महिलाले बिहीबार आत्महत्या गरेकी छिन ।
सामान्य विवादमा सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय बैजनाथ यादवले विराटनगर–१४ जतुवाबाट २० जना गुन्डा बोलाएर आक्रमण गराएको प्रत्यक्षदर्शीको भनाइ छ । १९ साउनको राति मोटरसाइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरूले तरबार, भाला र रडले आक्रमण गरेको पीडितहरूले बताए । आक्रमणबाट ५० वर्षीया सरस्वती, उनका भाइहरू ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भीर घाइते भएका छन । तरबारले सरस्वतीको छातीको देब्रे भाग नै ताछिएको छ । अन्यको टाउको, गर्धन र शरीरभरि ठुल्ठूला घाउ बनेका छन । गुन्डाहरु गरी गाउँमा पसेर आक्रमण गरेपछि कसैको स्तन कटिएको छ भने आँखा, घाटी, निधार र शरिरमा गहिरो चोट लागेको छ ।
गाउँमा पसेर अन्धधुन्ध आक्रमण गर्नेहरुलाई मोरङ प्रहरीले विराटनगर १४ का निमित्त वडा अध्यक्षको रोहवरमा जिम्मा लगाएको थियो ।
स्थानिय प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरीले घटना भएको दुई दिनसम्म नत पिडितहरुको घाउँ जाँच गराउन त परै जाओस् घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गराउन पनि सहयोग गरेन । घाइतेहरु घटना भएको रातभरि भल्भली आलो रगत बगाउदै घरमै रोइकराई बसिरहन बाध्य भएका थिए ।
२० साउन विहान जघन्य घटना भएको सूचना पाएर मुसहर बस्ती पुगेका बुढींगंगा गाउँपालिका नेपाली काँग्रेस सभापति जितनारायण थापाले उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गराएका थिए । स्थानीय सहयोगी नेकपा मोरङ जिल्ला सदस्य कपिल सुनारका अनुसार घटना भएको भोलिपल्ट आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गर्दै इलाका प्रहरी निमुवामा पिडितहरुले निवेदन गरे । तर प्रहरीले उल्टै घटना मिलापत्र गराउने प्रयास गरेपछि सचेत सहयोगीहरुको दवावमा आक्रमण गर्नेहरुलाई ईप्रकाले जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइदियो । र जिप्रका मोरङले सबैलाई २० साउनमै निमित्त वडा अध्यक्षको रोहवरमा मुद्दा दर्ता नै नगरी सबैलाई छाडिदियो । अगुवा कपिल सुनारका अनुसार अझै पनि प्रहरीले घटना मिलापत्र गराउन खोजिरहेको छ । प्रहरीले घाइतेहरुको घाउ जाँच गराउन पनि हेलचेक्रयाई गरेको छ । चर्को दबाब पछि घटना तीन दिनपछि बल्ल घाउँचाँज गराउन मानेपछि कोही पनि प्रहरी पिडितहरुलाई हेरेर विवरण लिन अस्पताल गएनन बरु उल्टै पिडितहरुलाई घाउ जाँच गराउन भनियो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले सबै सूचना आइनपुगेकोले मुद्दा दर्ता नगरी शंकास्पद पाँच जनालाई रोहवरमा छाडेको बताए । भने , ‘हामी अनुसन्धान गर्दैछौ , छाडिएकाहरु सबै हाम्रो निगरानीमा छन ,आवश्यक परयो भने मुद्दा दर्ता गर्छौै ।’,
यता स्थानीय अगुवाहरुको सहयोगमा मंगलवारदेखी घाइतेहरुको बुढींगंगा टंकी स्थित विराट मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने गरिब घाइतेहरुसँग उपचार गराउने पैसा पनि छैन । ‘अस्पताल जेनतेन भर्ना भएका छौ तर हामीसँग औषधी खाने पैसा पनि छैन’ , घाइते श्याम ऋषिदेवले भने ।

घाइते आमा अस्पतालमा मरणासन्न , त्रसित छोरीले घरमा गरिन पासो लगाएर आत्महत्या
मध्यरातमा आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ नगरेको र आमालाई पनि काटेर घाइते बनाएको घटनाकी प्रत्यक्षदर्शी २४ वर्षीय छोरी उर्मीला ऋषिदेवले घरभित्रै पासो लगाएर विहिवार दिउँसो आत्महत्या गरेकी छन । उर्मीला आक्रमण्मा स्तन काटिएर घाइते भएकी ४५ वर्षीय सरस्वती ऋषिदेवकी माईली छोरी हुन ।
मध्यराती एक्कासी भाला , रड , खुकुरी लिएर घरघरमा पसेका व्यक्त्तिहरुले गरेको आक्रमणबाट त्रसित भएकी उनी घटना भएको दिनदेखी फेरि पनि आक्रमण गर्न आउँछन र हामी सबैलाई मार्छन भन्दै त्रसित बनेकी थिइन । नियन्त्रणमा लिएर पनि प्रहरीले सबैलाई छाडिदिएको सूचना पाएपछि उनले डरले शुन्य अवस्थामा पुगेर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासी सरस्वती मगरले बताइन ।
घरभित्र पासो लगाएर झुण्डिएकी उर्मीलाका दुई नावालक सन्तान छन । आक्रमणमा परेर उनकी आमा सरस्वती र चार जना दाजुभाई गम्भिर घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेका छन ।
एकातिर मध्यराती विना निहुँ बस्तीमा जधन्य आक्रमण भएपछि त्रसित बनेका मुसहरी बस्तीका दलितहरु उर्मीलाले त्रासले आत्महत्या गरेपछि झन त्रास र शोकमा डुबेका छन । रुवावासीले गर्दा गाउँको अवस्था झन त्रासमय र शोकाकुल बनेको छ । बालवालिका महिलाहरु बढी त्रसित छन ।

 

घटनाको निष्पक्ष छानविन गर्न माग
बुढीगंगा गाउँपालिका नेपाली काँग्रेस सभापति जितनारायण थापाले मुसहरहरुमाथि विना कारण जधन्य मात्र नभएर बर्वर आक्रमण भएको र दोषीलाई कारबाही गर्न प्रहरीले वेवास्ता गरेको बताए । उनले भने , ‘यो भन्दा अत्याचार हुनैसक्दैन घटनाको निष्पक्ष छानविन गर्नुपर्छ ।, नेकपा जिल्ला सदस्य तथा स्थानीय सहयोगी कपिल सुनारले पनि घटना निर्दोषहरुमाथि लकडाउनको समयमा नियोजित रुपमा भएको र फौजदारी जधन्य कसुर गर्नेहरुलाई प्रहरीले एकपक्षीय रुपमा संरक्षण गरेकोले घटना उच्चस्तरबाट छानविन हुनुपर्छ भने । बुढीगंगा गाउँपालिका २ का वडा सदस्य कन्हैया साहले कुनै गल्ति नै नगरेका मुसहरहरुमाथि जघन्य आक्रमण गर्नेहरुलाई प्रहरीले एकतर्फी संरक्षण गरेकोले कानुन कार्यान्वयमा प्रश्न उठेको बताए । लकडाउनको समयमा हातहतियार सहित मध्यराति अर्को ठाउँबाट सिटी रिक्सा र मोटरसाइकलमा आएका मान्छेले गरिबहरुमाथि आक्रमण गर्नुले घटना नियोजित रुपले भएको बताइन । आक्रमण गर्न मानिसहरु ल्याएका भनिएको विराटनगर १४ जतुवा भन्ने स्थान घटनास्थलदेखी झण्डै १० किलोमिटर दुरीमा पर्दछ ।

यस्तो छ घटनाको कारण
बुढीगंगा गाउँपालिका २ मा रहेको मुसहरी टोलमा ६० घर मुसहरुको बसोवास छ । भूमीहिन उनीहरु सबै ज्यालमजदुरी गरेर जीवन धान्छन । त्यही गाउँमा बैजनाथ यादवको परिवार पनि बस्ने गर्दछ । बैजनाथको परिवारले आफनो धाराको पानी निकास गर्न आवतजावत गर्ने राजमार्गमा खाल्डो खनेको छ । काम गरेर आउँदाजाँदा राति लडने र साइकल मोटरसाइकल दुर्घटनामा पर्ने भएकोले कि खाल्डो पुर्न कि पाइप लगाउन गाउँलेहरुले यादव परिवारलाई आग्रह गर्दै आएका थिए । तर गाउँलेहरुको आग्रहलाई बैजनाथ र उनको परिवारले वेवास्ता गरेको थियो ।
१९ साउन विहान एक जना ऋषिदेव महिला खाल्डोमा परेर लडदा समान्य घाइते भइन् । सोही विषयमा गाउँका केही मानिसहरुसँग बैजनाथकी बुहारी पवन यादवको झगडा भएको थियो । झगडाकै कारण बैजनाथको परिवारले एक जना ऋषिदेव महिलालाई धानवारीमा लछारपछार पारेर कुटपिट पनि गरेका थिए । दुव्र्यवारको ऋषिदेव महिलाको परिवारले विरोध गरेको थियो । त्यसपछि झगडा मिलाउन समाज बसेको थियो । समाजले दिउँसो आइन्दा विवाद नगर्ने र बैजनाथले खाल्डो पुर्ने सहमति भएको थियो । तर आफुहरुलाई मुसहरले हेपेको भन्दै बैजनाथको परिवारले ज्वाई चलमली यादवको सहयोगमा विराटनगर जतुवाबाट सिन्धु यादवको सहयोगमा सोही दिन राति सिटी रिक्सामा हातहतियार सहितका युवाहरु ल्याएर मुसहरहरुमाथि अन्धाधुन्ध आक्रमण गरेर गम्भिर घाइते बनाएको स्थनीय प्रत्यक्षदर्शीहरु बताउँछन । गाउँमा शंकास्पद मान्छेहरु आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीले सिटी र मोटरसाइकलमा आएका मानिसकहरु सबै बैजनाथका पाहुनाहरु हुन भन्दै कुनै सोधपुछ नै गरेन । तीनै मानिसहहरुले नजिकै रहेको मुसहरी बस्तीमा मध्य राति आक्रमण गरेका थिए । घटनावारे प्रहरीलाई खबर गरेपछि प्रहरी राति नै पुगेको थियो । तर प्रहरीले उल्टै पिडितहरुलाई नै दोष लगाएको र घाइतेहरुलाई उपचार गर्न कुनै चासो नदेखाएको प्रत्यदर्शी सरस्वती मगरले बताइन । उनका अनुसार प्रहरीले राति नियन्त्रणमा लिएका पाँच जना मानिसहरुलाई पनि भोलिपल्ट पिडितहरुलाई कुनै जानकारी नै नगराई छाडिदियो । घटनाको अनुसन्धान गर्न प्रहरीले कुनै चासो नदेखाएपछि गाउँलेहरु आफैले आक्रमणकारीहरुले प्रयोग गरेको तरवार प्रहरीलाई लगेर जिम्मा लगाएका थिए ।
प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको थियो । तर इलाका प्रहरी निुमवाले घटाना मिलापत्र गराउन खोजको भन्दै दलित अगुवाहरुले विरोध गरेपछि कानुनी कारबाही लागि उनीहरुलाई जिल्ला पठाइएको थियो । जिल्लाले उनीहरुलाई २० साउनमै रोहवरमा छाडिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank