बडीमालिका मन्दिरका पुजारीले दलितकाे पूजा थाली नै फालिदिए

दलित अनलाईन २१ भाद्र २०८०, बिहीबार १७:५५

बाजुरा— बाजुरा मार्तडीस्थित बडीमालिका पुजारीले हातमा लिएको पूजा थाली फालिदिएर टिका लगाउन अस्वीकार गदै जातीय विभेद गरेका छन् ।

श्रीकृष्ण जन्मअष्टमीको दिन पुजामा सहभागि हुन गएका दलित समुदायका युवतीहरुको पूजा थाली नै फालिदिएर पुजारीले टिका लगाउन अस्वीकार गदै जातीय विभेद गरेका हुन ।

बडीमालिका ८ मा बडीमालिका मन्दिर स्थापना गरिएको छ। बडीमालिका धार्मीक यात्राको प्रवेशद्धवारमा स्थापना गरिएको मन्दिरमा हरेक चाड पर्वको अवसर पारी मेला लाग्ने गरेको छ। पुजाका लागि मन्दिर पुगेका युवतीहरुलाई बडीमालिका नगरपालिका ८ का दलबहादुर रावलले तिमीहरुको हक छैन्, भन्दै टिका लगाउन अस्वीकार गरेका हुन्।

पुजारीले बडीमालिका नगरपालिका ८ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, बर्षा विक, सावित्रा विक, विपना विक सहीतको टोली माथि विभेद गरेका हुन्। सँगै रहेका अरुलाई केही नभनी टिका लगाएको र आफूहरुलाई चामलका दानाले हिर्काउँदै तिमीहरु किन आएको, यो तिमीहरुको हक नलाग्ने ठाउँ हो, गइहाल भन्दै सार्वजनिक रुपमा अपमान र विभेद गरेको पीडित संगीता विकले बताएकी छन्।

लाइनमा गैर दलित र दलित दुबै समुदायका व्यक्तिहरु थिए। नचिनेका सबैलाई केही नभनि टिका लगाइ दियो, जब हाम्रो टोली मन्दिरको गेट पुग्ने बेला हातको पुजा थाली समेत बाहिर फालिदिएको संगीता विकले बताइन् ।

सुरुमा म र शान्ति विक दिदी थियौं, जब हामी मन्दिरको मुल ढोकामा पुग्यौं। हातमा थाली थियो, त्यो बुझाउँन लाग्यौं त्यही बेला मन्दिर रहेका पुजारीले थाली नै बाहिर फालिदिए, तिमीहरुको मनपरि गर्ने ठाउँ हो, भन्दै चामल फालि बाहिर जान दबाब दिए, तल्लो जातको, मन्दिरमा कुनै हक अधिकार नै नभएको मान्छे किन आएको भन्दै रिसाएको र टिका लगाउन अस्वीकार गरेको सँगै गएकी विपना विकले बताएले बताइन् ।

आफ्नो जात थाहा पाउनु पर्ने हो। यहाँ आउनै नहुने हो, किन आएको ?, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरु केही नभनि फर्किएको दुखेसो उनीहरुको छ।

बडीमालिका मन्दिरमा यहाँका दलित समुदायले पटक पटक विभेद सहनु परेको छ। केही महिना अगाडि मात्रै ब्राह्मणले मन्दिरको ढोका नै बन्द गरि गएपछि एक जोडीले विवाह समेत गर्न नपाएको उजुरी परेको थियो।

८ नम्बर वडाका वडा सदस्य समेत रहेका रावलले विभेद नै गरिएको जानकारी नभएको र गरिएको भए आवश्यक छानवीन सहीत पीडित पक्षको माग अनुसारको प्रक्रिया अघि बढाउन सहजिकरण गर्ने बताएका छन्।

८ नम्बर वडाका अध्यक्ष चन्द्र थापाले पनि घटनाबारे जानकारी नभएको बताएका छन् । नगर प्रमुख अमर खड्काले मन्दिरमा विभेद गरिएको घटना साँचो भए कानुनी प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् ।

प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराले निवेदन आइसकेको बताएका छन् । निवेदनका आधारका पुजारीलाई बोलाइ सकिएको र घटना वास्तविक भए कानुनी प्रक्रिया अघि बढाउने बताएका छन् । बाजुरामा एक पछि अर्को जातीय विभेदका घटनाहरु भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank