काठमाडौं — सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ डाँडाचौरीका ६५ वर्षीय जनकबहादुर विश्वकर्मा गत असार १७ गते घरन जिकको आरनमा भाँडा पिट्दै थिए। त्यतिबेलै उनीमाथि एकाएक आक्रमण भयो। त्यो पनि जातीय विभेदजन्य गालीगलौज गर्दै ।
बेलुका साढे ७ बजेको थियो। रक्सी सेवन गरेर आएका ईश्वरपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष श्याम थापाका ३२ वर्षीय छोरा हिमाल थापाले जनकको गालामा दुई झापड हाने। लगत्तै छातीमा एक मुक्का हिर्काए।
अनि भने, ‘तँ साले डुम भएर हामी ठुला जातिलाई नटेर्ने, मुखमुखै लाग्ने, अचेल तँहरु निकै चढिएको छ।’
वृद्ध अवस्थामा शरीरिक रुपले कमजोर हुँदै गएका जनकलाई के भइरहेको छ ? केही पत्तो भएन। वर्षैदेखि आफैंले घरमै गएर सेवा गर्दै आएका वडाध्यक्ष छोरा किन यसरी आइलागे ?
जनकबहादुरको शरीर हुरहुरतै तात्यो। केहीबेर वाक्क न वक्क भए। अनि दुई हात जोडेर भने, ‘हामीले तपाईंहरुको के गरेका छौँ र ?’
आफू ठुलो जातको मानिस भएकोमा ‘मै हुँ’ भन्दै हिँड्ने वडाध्यक्षका छोरालाई रिस उठ्न अरु के चाहियो र, जनकको प्रतिप्रश्नबाटै चुर बने। र, झनै आक्रोशित हुँदै भने, ‘अझ ठुलो कुरा गर्छस्, साले कामीहरु तिमिहरुको जवाफ पर्ककाउने यत्रो हिम्मत !’
जनकको आँगनमै आएर वडाध्यक्षका छोराले धम्काउँदै हल्लाखल्ला गर्न थालेको सुइँको छिमिकीले पायो।
ठुलोबुवामाथि हातपात भएको थाहा पाएर दौडिदै आएका जनकका भतिजा र बुहारीहरुलाई हिमालले अपशब्द प्रयोग गर्दै गाली बर्साउन थाले। अनि, हिमालले छिमेकीहरुलाई बोलाउँदै भने, ‘यो कामीहरुलाई आज ठिक पार्नुपर्छ तिमीहरु छिटो आऊ।’
हिमालको आग्रहपछि घटनामा संलग्न भएकी रेखा खड्काले ‘यी चौडिका कमिनी, डङ्गीनी, डुमिनीहरु धेरै चढिएका छन् ठिक लगाउनुपर्छ’ भन्दै जनककी बुहारी सुमित्रा विकलाई आक्रमण गरिन्।
आफूमाथि यति ठुलो अन्याय हुँदा पनि जनकले हात जोडेर बिन्ती माग्दै झगडा नगर्न पटक पटक आग्रह गरे। तर, निर्धा दलितहरुमाथि पहुँच र शक्तिले अनमत्त भएका गैरदलितहरु कहाँ रोकिनेवा थिए र। विक परिवारले घटना साम्य गर्न खोज्दा खोज्दै रेखाका आफन्त पर्ने राजेन्द्र खड्का र अनिता कार्की घारा मुङ्गा बोकेर आए।
रिसले चुर भएका उनीहरुले सुमित्राको घुँडामा दुई पटकसम्म घारा प्रहार गरे। सुमित्रा चल्न डग्न नसक्ने भइन्। त्यसपछि भने झडप रोकियो। जातीय विभेदजन्य घटनाको बिउ रोपेका वडाध्यक्षका छोरा हिमाल भागे।
गैरदलितको दमन र कुटपिटबाट थलिएको डाँडाचौरीमा मध्यरातमा वडाध्यक्ष श्याम थापासहित प्रहरी आए। र, नाबालकसहित ६ जनालाई कठालोमा समातेर लगे। घाइते अवस्थाका उनीहरुलाई त्यस रात इलाका प्रहरी कार्यालय केशरगञ्जको चिसो खोरमा राखे।
वडाध्यक्ष र जनकको घर करिब पाँच सय मिटर दूरीमा पर्छ। फलामका भाँडाकुडा बनाएर जीविकोपार्जन गर्दै आएका जनकबहादुर र उनकी श्रीमतीले वडाध्यक्षको घरमा काम गर्दै आएका थिए। वडाध्यक्षको घरको सबै काम जनकबहादुरकी श्रीमतीले नै गर्छिन्। उनको बोलीमा समस्या छ, कुनै पनि शब्द शुद्धसँग बोल्न सक्दिनन्, धेरैजस्तो काम इसाराबाटै गर्छिन्।
बुधबारको घटना घट्नुअघि उनले आफ्नो पारिवारिक विवादको कुरा हिमाललाई सुनाएकी थिइन्। जनकका श्रीमान–श्रीमतीबीच घरायसी कुरामा मनमुटाव भएको थियो।
त्यही मनमुटावको कुरा जनककी श्रीमतीले वडाध्यक्षको छोरालाई सुनाएको र त्यही बहानमा हिमालले जनकमाथि आक्रमण गरेको हुन सक्ने अनुमान स्थानीयको छ।
विगतमा भएका थिए, स्थानीयलाई थाहा छैन। तर, त्यसदिन वडाध्यक्षका छोराले सिंगो दलित समुदायलाई नै अपमान गर्ने गरी कानुनले बन्देज गरेका शब्दहरु प्रयोग गरेर जातीय विभेद गरेको स्थानीय बताउँछन्।
झडप भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय केशरगञ्जमा दुवै पक्षबीच छलफल भएको थियो। यहाँ पनि हिमालले जातीय विभेदजन्य व्यवहार पुनः दोहोर्याए। त्यसमा वडाध्यक्ष श्याम थापाले थप बल पुर्याए।
छलफलमा सहभागी व्यक्तिहरुले बताएअनुसार हिमालले प्रहरीकै अगाडि ‘यी दमाई कामीहरुलाई त जुत्ताको तल धुलो बनाएर राख्नुपर्छ। अब यिनीहरुलाई कसरी ठिक लगाउने हो मैले जानेको छु’ भन्दै वडा ‘अध्यक्षको छोरा हुँ’ भन्ने पदीय र जातीय दम्भ देखाउँदै आफूले गरेको गल्तीको कुनै किसिमको क्षमायाचना नै नगरी छलफलको कुनै टुङ्गोमा नै नपुगी छलफलस्थलबाट हिँडेका थिए।
उक्त घटनापछि वडाध्यक्ष श्याम थापा आफैंले पनि जातीय विभेद गरेको पाइएको छ। घटना भएको एक महिना बढी भइसक्दा पनि वडाध्यक्षले विक परिवारमाथि झनै उत्पीडन गर्दै आएका छन्, कामकाजमा अवरोध गर्नेदेखि डर धम्की दिनेसम्म।
वडाध्यक्षले घटनापछि स्थानीय फुटबल मैदानमा दलित समुदायका बालबालिकालाई खेल्न बन्देज गरेको स्थानीयले बताए। ‘स्थानीय फुटबल ग्राउण्डमा हामी दलित समुदायका कलिला बालबालिकाहरु फुटबल खेल्न जाँदा बाल मनस्थितिमा मानसिक असर पर्ने गरी यी साले कामीको छाउराहरुलाई फुटबल खेल नदेऊ, यिनीहरुलाई यहाँबाट लखेटी हालु भन्दै गालीगलौज गर्नुभयो,’ स्थानीयले भने।
नेपालको संविधान २०७२ को धारा २४ ‘छुवाछूत तथा भेदभावविरुद्धको हक’ (१)मा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन’ भनिएको छ।
त्यस्तै जातीय भेदभाव तथा (कसूर र सजाय) ऐन, २०६८ मा ‘कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछूत गर्न वा गराउन हुँदैन’ भनिएको छ। ऐनमा उल्लेख गरिएअनुसार यस्तो कसूर गरेको ठहर भएमा अदालतले कसूरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था गरेको छ। कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था गरेको छ।
तर, इलाका प्रहरी केशरगञ्जले भने उक्त घटनाका पीडितहरुको जाहेरी दर्ता गर्न समेत अस्वीकार गरेको पीडितको गुनासो छ। घटना घटेको एक महिनापछि जनकबहादुर विक, सुमित्रा विक र रवि विक सोमबार जाहेरी लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पुगेका थिए। तर, सोमबार मध्यरातसम्म पनि जाहेरी दर्ता भएन्।
आइतबार दिउँसो इलाका प्रहरी कार्याललय केशरगञ्जका प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मण केसीले भने जाहेरी दर्ताको पूरा जारी रहेको र छिट्टै दर्ता गर्ने बताए। ‘होइन, होइन जोहरी नलिने भन्ने कुरा हुँदैन्, तपाईं उजुरी दर्ता भइसकेको भन्दै बुझ्दा हन्छ। बाँकी प्रक्रिया चल्दैछ’ इन्स्पेक्टर केसीले भने।
प्रहरीमा जाहेरी दिन जानुअघि विवाद छलफलबाट समाधान गर्न खोजिएको थियो। तर, विवाद समाधानको लागि भएका छलफलहरुमा समेत थाप परिवारले निरन्तर जातीय विभेद गरेका कारण घटना प्रहरीसम्म पुगेको छ।
वडाध्यक्ष थापाले भने आफूले कोहीमाथि जातीय विभेद नगरेको दाबी गरे। ‘कस्तो कुरा गर्नुहुन्छ यार भाइ, मैले त्यस्तो गर्छु ? उनीहरुले मेरो छोरोलाई कुटेका हुन्। अनि मैले उनीहरुलाई थुनाइदिएँ’, वडाध्यक्ष थापाले भने। वडाध्यक्ष थापाले घटनाबारे स्पष्ट जवाफ दिन सकेनन्।
(यो समाचार बिएल नेपाली सेवाबाट साभार गरिएको हो । )
Leave a Reply