दलित आन्दोलनको दृष्टिले जेठ महिना

भिम विश्वकर्मा क्षितिज २१ जेष्ठ २०८०, आईतवार १८:४०

नेपाली दलित आन्दोलनको दृष्टिकोणले जेठ महिना असाध्यै महत्वपूर्ण महिनाको रुपमा रहेको छ । चाहे त्यो संघर्षको दृष्टिकोणले किन नहोस् चाहे त्यो प्राप्तिको दृष्टिकोणले हिसाबले किन नहोस् यस महिना महत्वपूर्ण महिनाको रुपमा अंकित छ । दलित आन्दोलनमा चासो राख्ने पाठकहरुको लागि यस महिनाको बिभिन्न संघर्ष, प्राप्ति, बिभत्स घटनाहरुको बारेमा संक्षिप्त जानकारीको लागि यो आलेख तयार पारिएको छ ।
जेठ २९
२००३ देखि २०२४ सम्म आइपुग्दा सम्म पनि नेपालमा राष्ट्रियस्तरको दलित संगठन बनेको थिएन । बिभिन्न जिल्लाहरुमा आ–आफ्नै पहलमा छुट्टा छुट्टै संगठनहरु थिए । एकैचोटी ०२४ मा चितवन र काठमाडौंमा नेपाल राष्ट्रिय दलित जनविकास परिषद गठन भयो । सहर्षनाथ कपाली र मोहनलाल कपालीले काठमाडौंमा र रुपलाल बि.क. र टि.आर. बि.क.ले चितवनमा नेपाल राष्ट्रिय दलित जनबिकास परिषदलाई व्यापक बनाउदै लानुभयो । दुई संगठनले ०२९ ज्येष्ठ २९ गते एकताको राष्ट्रिय सम्मेलन गरेर मोहनलाल कपाली र टि.आर. बि.क. लाई क्रमशः अध्यक्ष र महासचिब बनायो । नेपाली दलित आन्दोलनमा यस भन्दा पूर्व कहि कतै राष्ट्रियस्तरको सम्मेलन भएको पाइदैन । यसरी यो नै नेपाली दलित आन्दोलनको प्रथम सम्मेलन हो । यस सम्मेलनले नै सर्बप्रथम दलितहरुको लागि आरक्षणको व्यवस्था हुनुपर्ने कार्यक्रम अघि सा¥यो । यो सम्मेलन पछि देशैभरी एकप्रकारको उभार पैदा भएको थियो । यसै क्रममा भएको हुमिन संघर्षलाई हामीले कहिल्यै भुल्नुहुदैन । रीपलाल बि.क. को नेतृत्वमा पाल्पाको हुमिनमा आन्दोलन भएको थियो । दलित बिद्यार्थीहरु माथि भएको जातीय छुवाछुत र भेदभावको बिरुद्धमा त्यहाँ आन्दोलन भएको थियो । जसले आसपासको क्षेत्रमा सनसनी पैदा भएको थियो । चितवनमा होटेलमा खाएपछि भाँडा नमाझ्ने र स्कूलमा बिभेद गर्न नपाइने आन्दोलनहरु भएका थिए । यसको प्रभाव देशभरी नै फैलिएको थियो ।
यसरी जेठ २९ दलित आन्दोलनलाई राष्ट्रव्यापीरुपमा स्थापित गर्ने दिनको रुपमा अंकित भएको छ । छुवाछुतको बिरुद्धमा मात्र चलेको दलित आन्दोलनलाई छुवाछुत बिरुद्धका साथसाथै आरक्षणको दिशातर्फ उन्मुख गरायो । जसले गर्दा पञ्चायत कालमा समेत तत्कालीन राजा र पञ्चहरु एक जना राज्यमन्त्री बनाउन बाध्य भए ।
जेठ २१
२०६३ जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन हो । नेपाली समाजको सामाजिक सांस्कृतिक जागरण र रुपान्तरणमा महान् जनयुद्धको भुमिकाबारे संसारभरि नै चर्चा छ । महान् जनयुद्धले दलित आन्दोलनलाई तिव्रतर गतिमा अगाडि बढाइरहेको थियो । जनयुद्ध र जनआन्दोलनको राप तापको बीचमा उक्त ऐतिहासिक घोषणा पुर्नस्थापित संसदले गरेको थियो । यद्यपी छुवाछुत हटाउन कानुनी व्यवस्था भएतापनि आज पर्यन्त छुवाछुत मुक्त राष्ट्र घोषणाको व्यवहारिक कार्यान्वयन पक्ष कमजोर छ । कुनै समयमा राज्यले नै छुवाछुत गर्ने कानुन बनाएको थियो त्यस हिसाबले हेर्दा ०६३ मा छुवाछुत मुक्त घोषणा हुनु आफैमा ऐतिहासिक परिघटना हो । यस दिनलाई सरकारले स्मरणको लागि दलित अधिकार दिवस मनाउने घोषणा गरेको छ ।
जेठ १८
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लार्ई राष्ट्रपतिले प्रमाणित गरेको दिन जेठ १८ गते हो । जातीय छुवाछुत र भेदभाव गर्नेलाई कानुनी रुपमा कारबाही गरिने व्यवस्था सहित छुट्टै र बिशेष ऐन बन्नु दलित आन्दोलनको दृष्टिकोणले असाध्यै ठूलो उपलब्धी हो । यस ऐन आएपछि छुवाछुतको घटनाहरु कानुनी प्रक्रियामा गएका छन् । छुवाछुतको अपराध घटाउने नेपाली समाजका सामाजिक अपराधीहरुले कम नै किन नहोस् दण्ड सजाय व्योर्हन बाध्य भएका छन् । जसले दलित समुदायमा अब हाम्रो लागि कानुन छ भन्ने बुझाइको विकास भइ बिभेद बिरुद्ध प्रतिरोध गर्न क्षमता अभिबृद्धि भएको छ । बिभेद गर्नेलाई पनि सजाय र दण्डले गर्दा विभेद गर्न हुदो रहेनछ भन्ने मनोविज्ञान एकहदसम्म पैदा भएको छ ।
जेठ १०
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लाई व्यवस्थापिका संसदले पारित गरेको दिन जेठ १० गते हो । तर हामीले यस दिनलाई यसरी कम बुझ्छौं । किनभने जातीय बिभेद पराकाष्ठाको रुपमा नवराज बि.क. लगायत ६ जना युवाहरुलाई हत्या गरिएको दिन पनि जेठ १० नै हो । अंगिरा पासीको हत्या गरेको दिन जेठ १० नै हो ।

कुनै समयमा राज्यले नै छुवाछुत गर्ने कानुन बनाएको थियो त्यस हिसाबले हेर्दा ०६३ मा छुवाछुत मुक्त घोषणा हुनु आफैमा ऐतिहासिक परिघटना हो ।

अन्तरजातीय प्रेम गरेको कारण नवराज बिकहरुलाई बिभत्स ढंगले मारियो । आजको आधुनिक समाजमा पनि नेपाली समाजको यो वर्वरतापूर्ण घटना बिश्वले सम्झने अपराधको रुपमा अंकित भएको छ । मनमस्तिष्कमा रहेको बिभेदपूर्ण मानसिकताले यो हदको घटना घटाउदो रहेछ भन्ने निकृष्ट दृष्टान्त भएको छ । अन्तरजातीय प्रेमका कारण भएको नवराजहरुको त्यो बिभत्स हत्याले हामीलाई युगौयुग झस्काइरहने छ । मानव मूल्य र मर्यादाको पक्षमा उभिने हरकोहीको लागि यो घटनाले आङ नै सिरिङ्ग बनाउदछ ।
जेठ महिना दलित आन्दोलनको दृष्टिले एकता, संघर्ष, प्राप्तिका साथै असाध्यै अप्रिय घटनाहरुको संयोग भएको महिना हो । एकताले हामीलाई थप एकताबद्ध हुने प्रेरणा दिनेछ । प्राप्त भएको उपलब्धीहरुको प्रयोगका लागि जागरण सिर्जना गर्नेछ । अप्रिय घटनाहरुले हामीलाई थप संघर्षको आवश्यकताको बोध गराउदछ । जात व्यवस्थाको पूर्ण अन्त्य नभइजेलसम्म बिभेद बिरुद्धको लडाइ दृढतापूर्वक अबिरल लड्नुछ भन्ने प्रेरणा दिनेछ ।
( लेखक नेपाल दलित मुक्ति मोर्चाको उपमहासचिव हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank