विगत सम्मानित वर्तमान अपमानित

डीबी नेपाली ‘दमु ’ २९ बैशाख २०७९, बिहीबार १३:०३

नलेखिएको प्राचीन इतिहासलाई केलाउँदा नेपालका शिल्पी (कथित दलित) समुदाय कहिल्यै माग्ने, कमजोर, निरिह र विचरा थिएनन् । उनीहरु यो देशको शीक्तशाली शासक, भूमिपति, सँस्कृति, सम्पदा र सभ्यताको गौरवशाली वैभवले पूर्ण थिए । आज भन्दा लगभग चारहजार वर्ष अघिबाट शुरु भएको विभेदको जाँतोले थिचिएर, किचिएर र मिचिएर नष्टीकरण पारिए । प्रभाव, प्रभुत्व र वर्चस्श्वशाली शासकीय ग्याँस च्याम्बरको भट्टीमा धुलीकरण बनाइए । त्यसकै असरले आज आम शिल्पी समुदाय भुइँमा मात्रै छैनन् खाल्डामा हालिएका छन् । अर्थात् कहिल्यै उठ्न नसक्ने हालतमा पुरपार, छोपछाप पारिएका छन ।

तथ्यगत इतिहास

नेपालको मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्र यो समुदायको आदिम थलोको रुपमा रहेको छ । यहाँका हरेक जिल्लाका पहाडी टाकुराहरुमा सामुदायिक कोट, किल्ला र गढी नभएको कुनै जिल्लै बाँकी छैन । यस प्रमाणले उनीहरु यहाँका प्राचीन शासक, राजकाज गरेका भूमिपति रहेको प्रष्ट बुझिन्छ । यहाँका शक्तिशाली देवीदेवता समेत यिनै समुदायले पाएको देखिन्छ । तर सामन्त, ठालु शासकहरुले विभिन्न वाहनामा कब्जा गरेको इतिहास पाइन्छ । आजसम्म तनहुँको खड्गमाई मन्दिरमा कामी पूजारी छन् ।
खप्तड क्षेत्रको प्रसिद्ध सार्की (खापरदह) माडौंैमा सार्की पूजारी छन् । डोटीको सेती नदी किनारमा सालमूनि देवताको पूजारी बादी छन् । सालमूनि बादी जातिका कुलदेवता हुन् तर अहिले मन्दिर व्यवस्थापन समितिको नाममा बादी पूजारी हटाउने षड्यन्त्र भइरहेको छ । त्यसैगरी बैतडीको पुर्चौडीहाट त्रिवेणीधामका शक्तिशाली राताशिलाका पूजारी कथित तल्लो मानिएका रैकाल छन् ।

यी देवता र मन्दिरका पूजारीले सबै जातका मानिसहरुलाई समान रुपमा सेवा दिँदै आएका छन् । यहाँ भेदभाव र विभेद छैन । यस्ता सामुदायिक देवीदेवता र पूजारीहरु अरु थुप्रै छन् त्यस्तो सूची निकै लामो हुन्छ । नेपालमा शिल्पी समुदायको उपस्थिति हजारौं वर्ष पुरानो देखिन्छ । सामन्ती शासकहरुले शूद्र पूर्खालाई पढ्यो भने मृत्यदण्डको सजाय दिएर भ्रमपूर्ण इतिहास लेखिदिएकोले ऐतिहासिक प्रमाण कम छन् । तर केही तथ्यहरु आजसम्म इतिहासको गर्भमा लुकेको पाइन्छ । उदाहरणको लागि कामी झाँक्रीले बक्ने सृष्टि वर्णनअनुसार उख्खा फलाकमा महादेवले तिखु (कतै तिख्खन भनिएको) कामीलाई किराँती शिवले सत्बिउ (विभिन्न अन्नहरु) छर्न लगाएर खेतीपाती सभ्यताको थालनी गरिएको गाथा पाइन्छ ।

किराँतकालीन समयमा हिमवतखण्ड सभ्यताको वर्णन हो । त्यसैगरी बोधिसत्व तथागत बुद्धलाई भाषा अध्ययन गर्न लाने क्रममा कपिलवस्तु महानगरमा ६४ वटा भाषाको सूचीमा दरद लिपि (दमाई) र गन्धर्व लिपिको उल्लेख गरेको पाइन्छ । यस तथ्यप्रमाणले बुद्धकालीन समयभन्दा अघिबाटै आजभन्दा पाँचहजारवर्षदेखि यो समुदायको उपस्थिति रहेको प्रमाणित हुन्छ । विभिन्न धार्मिक ग्रन्धहरुमा किराँत, यक्ष, किन्नर र गन्धर्व उल्लेख भएबाट गन्धर्व जाति निकै पुरानो मान्न करै लाग्ला । यी त भए हिमाल–पहाडका उत्पीडित समुदायको प्राचीनता र आदिमताको आँखीझ्याल । तराईका शिल्पी समुदायको प्राचीनता उस्तै गौरवशाली र वैभवपूर्ण रहेको पाइन्छ । सातौ शताब्दीतिर तराईमा सहलेश सम्राटले प्रभावशाली राजकाज गरिएको पाइन्छ । उहाँको बारेमा अपेक्षाकृत मूलधारको इतिहास लेखनमा अन्देखा गरिएको छ ।

स्मरणरहोस सहलेश सम्राट किराँतीहरुका समेत पूजनीय थिए । गौरवशाली राजकाज, दरबारको भग्नावशेष आजसम्म खोजी र संरक्षणको पहल भएको छैन । पहलमान दीना र भद्रीरामको वीरगाथा र वैभवलाई छाँयामा पारिएको छ । प्राचीन र मध्यकालमा मिथिला प्रदेशमा राजा जनक (शिरध्वज) को शासनकाल र डोमराजाको शासनकालमा चमत्कारपूर्ण तरिकाले विविध क्षेत्रमा उन्नति भएको देखिन्छ । विशेषत राजनीतिक क्षेत्रमा किल्लाको निर्माण गरी पहरेदार तैनाथ गरिएका हुन्थे ।

सिमरौणगढी राजा हरिसिंहदेवले काठमाडौ उपत्यकामा ने.सं. ४३१, ४३२ र ४३३ मा आक्रमण गर्दा डोमराजाहरुले ठाँउ–ठाँउमा आक्रमण र किल्ला जमाएका थिए । शासन गरी बस्न नसकेपछि पशुपतिको कोष झिकेर लगेका थिए । कारिक महाराज (चमार), सोसिया महाराज (खत्वे) तराईका चर्चित र प्रमुख राजाको रुपमा रहेका छन् । डोम राजाको इतिहासको पानामा कतै उल्लेख छैन ।

वर्तमान सिमरौनगढ प्राचीन समयमा चमारहरुले विकास गरेको गौरवशाली सभ्यता थियो । प्राचीन समयमा चर्मनगढ, चिमनगढ अपभ्रंश हुँदै सिमरौनगढ नामकरण भएको हो । सो कुरा सिमरौनगढका चारै दिशामा रहेको चक्रव्यूहाकार पर्खालबारे बृहत विवरण १७३९–१७५४ ई. भित्र अनेक पटक त्यस नगरको भ्रमण गर्दै काठमाडौं आउने इटलीका कापुचिन पादरी कास्सिआनोका रिर्पोटमा पाइन्छन् । उनका अनुसार चिमनगढ (सिमरौनगढ) का चक्रव्यूहाकार चित्र भक्तपुर दरबार क्षेत्रमा थियो । जसको प्रकाशन उनले इटलीका पत्रिकामा गरेका थिए । यसरी विगतमा शक्तिशाली राजकाज गरेको समुदाय आज यति कमजोर कसरी बनाइए ? इतिहासको कति महत्व हुन्छ ? भन्ने कुरा मनन् गर्न यी दुई भनाइलाई हेरौ–“आफ्नो इतिहासको सूचनाहरु नभएको समाज र कालखण्ड मुर्कट्टा समान हो–सौरभ ।” “समाज वही बदल सक्ता है जिसने अपना इतिहास पढा हो और जिसने अपना इतिहास हि नहीं पढा…वो समाज तो क्या….खुद को भी….नहीं बदल सक्ता”…–डा भीम राव अम्बेडकर । यी भनाईबाट आफ्नो विगत इतिहासको महत्वबारेमा प्रष्ट हुन्छ । वास्तवमा शिल्पी समुदायको आफ्नो प्राचीन इतिहासको सही खोजबिन गरेर त्यसको ऊर्जाबाट अघि नबढ्दा गन्तब्यविहिन भएको देखिन्छ ।

धार्मिक र कानुनी अस्त्रको ज्यादती

ऋग्वेदको पुरुषसुक्त (१०-९०) बाट शुरु भएको विभेदले आजसम्म आउँदा विकराल रुप लिइएको छ । ऋग्वेदको यसै पुरुषसुक्तमा विराट पुरुषको परिकल्पनामा चारवटा योनीको सिर्जना गरियो । त्यही पुरुषमा जोडिएको चार योनीको मुखबाट ब्राम्ह्ण, छातीबाट क्षेत्रिय, तिघ्राबाट वैश्य र खुट्टाबाट शूद्रको जन्मेको काल्पनिक कथा बुनियो । त्यसकै आधारमा आजसम्म समाज विभक्त र विभाजित पारिँदै आएको देखिन्छ । मनुले शुरुमा शुद्र–अछुतलाई अपवित्र मात्रै मानेका थिए । विस्तारै कडा रुपमा छुवाछुत र दण्डविधान बनाएर लागू गरे ।

यसैलाई आधार मानेर ६४९ वर्षअघि जयस्थिति मल्लले मानव न्यायशास्त्रको नाममा कथित दलितहरुको अस्तित्व नै समाप्त पार्ने काम गरे । रामशाहले यसलाई झनै कडा रुपमा लागू गरे । विं.सं. १९१० को जङ्गबहादुर राणाको मुलुकी ऐनले जात व्यवस्थालाई अनुउलंघनीय बनायो । तहगत जात अनुसारकै दण्डसजाय तोकियो । समान कसुरमा ब्राम्हण, क्षत्री, वैश्यलाई सामान्य दण्ड दिइन्थ्यो भने शुद्रलाई सिधै मृत्युदण्डको सजाय थियो ।
यसले समाजमा शुद्रको अस्तित्व स्वीकार्य थिएन । राजा महेन्द्रले विं.सं.२०२० सालमा पुरानो ऐनलाई केही परिमार्जन गरी नयाँ मुलुकी ऐन ल्याएपनि ठूलो भिन्नता थिएन । ऋग्वेद, मनुस्मृति, जयस्थितिमल्ल, रामशाह, जङ्गबहादुर र राजा महेन्द्रदेखि आजसम्म आउँदा शूद्रका दैनिकीमा असमानता र विभेदको जाँतोले थिचिरहेकै छ । उनीहरुको सामुदायिक अस्तित्व जसरी पनि मेटाउने उदेश्य रहेको देखिन्छ ।

विगत राज्यप्रशासनको सिंहावलोकन

नेपालको राज्यप्रशासनको विगतलाई नियाल्दा शिल्पी समुदायको उपस्थिति निकै राम्रो देखिन्छ । यद्यपि उनीहरुको जनसंख्या अनुसार संख्यात्मक रुपमा नहोला तर सम्मानित रहेको प्रमाणले बताउँछ । त्यसबेला प्रशासनिक योग्यताको रुपमा सदाचार, इमानदारीता र विश्वासयोग्यतालाई मानिन्थ्यो । मिझार वा मुखिया, तालुकदार नियुक्तीको यकिन मिति जानकारी छैन । तर माझी, मिझार तथा दमाई, गाइने र भाँड जातिमा मिझार नियुक्त गरिएको पाइन्छ । वि.सं. १८६२ मा धराम्य लाटा लोहारलाई महाकाली नदी पश्चिमका लागि लोहार, सुनार, टमौटा, बादी जातिको मिझार नियुक्त गरिएको थियो ।

जङ्गबहादुर राणा प्रधानमन्त्री बन्नसाथ गाइने मिझारलाई परम्परागत रुपमा राज्यले दिँदै आएको न्यायिक अधिकारलाई निरन्तरता दिइएको कुरा १९६० सालमा भिमसिन्या स्यामसुन्दरे गाइनेका नाममा भएको रुक्काबाट स्पष्ट हुन्छ । भाँड (बादी) हरुलाई तालुकदार दिइएको थियो भन्ने कुरा डोटी दिपायल निवासी इन्द्रे भाँडको तालुकदारी पत्रबाट जानकारी हुन्छ । उनलाई भाँड, बादी, हुड्के, पुडके, गायन र मुसलमानको तालुकदारीको नियुक्ति दिइएको थियो । भेरीनदी पश्चिम र महाकाली पूर्वको तालुकदारीको रुपमा इन्द्रे भाँडलाई जिम्मेवारी तोकिएको देखिन्छ ।

वर्तमान गणतान्त्रिक व्यवस्थामा हिजो धार्मिक रुपमा विभाजन गरेको वर्गीकरणलाई राजनीतिले समेत शूद्रपना कायमै राख्नु अक्षम्य अपराध हो । हामीले खोजेको कसैको पिछलग्गु होइन समकक्षी हो । निर्धारित तोकिएको कोटामा मात्रै सीमित गरी दयाको पात्र र साक्षी किनारा नबनी निर्णायक बन्ने हो ।

वि.संं.१९६३ माघ १९ गते प्रधामन्त्री चन्द्रशम्शेर तथा कमान्डर इनचिफ भीमशम्शेरको नामबाट नगारची बाठो दमाईलाई मिझारी दिइएको रुक्का जारीबाट थाहा पाइन्छ । उनलाई मुलुकभरका दमाई, गाइने, र भाँड तीन जातिको मिझारी दिइएको थियो । यसका साथै दमाईलाई काठमाडौं उपत्यकाको तीनै सहरका चौरासी नगरा मिझारको तैनाथीमा दिइएको थियो । उनले साँझ–बिहान दैनिक दुई समय जाँचबुझ गरी चलाउनु पथ्र्यो । यसका साथै देशभरको मिझारीको जिम्मेवारी समेत दिइएको थियो । महाकालीदेखि पूर्व मेचीदेखि पश्चिम, राजधानी काठमाडौं, पहाड एवं तराईका लागि मिझारीको जिम्मा पाएका थिए । वि.सं. १९९१ सालको मोठका अनुसार कास्की जिल्ला सराङकोट मैजेका जिम्मुवाल लाले दमैलाई नियुक्त गरिएको पाइन्छ । बागलुङ जिल्लामा पनि कामी जिम्मुवाल रहेको सुचना पाइएको छ तर खोजी भएको छैन । विपि कोइरालासँग विद्रोह गरेकोले धनमानसिंह परियारलाई महामन्त्री बनाउन बाध्य भएका थिए । उदयपुरको रिस्कु भन्ने स्थानमा प्रभावशाली सार्की प्रधानपञ्च रहेका थिए । तराई–मधेश र मध्यपश्चिम–सुदूरपश्चिमका धेरै ठाउँमा शिल्पी समुदायका मिझार, मुखिया, तालुकदार र प्रधानपञ्चहरुको रहेको देखिन्छ । उनीहरुको मौलिक परम्परा र सँस्कृति कायम राख्न र समाजमा जतिसुकै तल्लो र अपहेलित ठानिए तापनि राज्यप्रशासनमा सहभागीता गराइन्थ्यो ।

२०४८ सालमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद कृष्णसिंह परियार जनआन्दोलन पछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित भएपछि तत्कालिन राज्यव्यवस्था समितिका सभापति समेत भएका थिए । त्यसबेलाको स्थानीय वा क्षत्रिय प्रशासकको रुपमा माझी, मिझार, कामी, दमाई, गाइने र भाँड जातिलाई उच्च प्राथमिकता दिइनुले राज्यप्रशासनमा सबै जातिको सहभागीता र समावेशीतालाई महत्व दिइएको देखिन्छ । हिजोको एकतन्त्रीय राणा, पञ्चायत वा प्रजातन्त्र कालको राज्यप्रशासनमा सामुदायिक सहभागिता राम्रो रहेको देखिन्छ । व्यक्तिलाई टिपेर पद दिने, दरबारका नजिकलाई थपना राख्ने आरोप लगाइन्छ । तर विगतको तुलनामा वर्तमान गणतान्त्रिक राज्यप्रशासनका सहभागितामा खासै ठूलो भिन्नता रहेको छैन । यति ठूलो परिवर्तनमा पहिलाको भन्दा व्यापक सहभागिता हुनुपर्ने थियो । राजा महेन्द्रकै पालामा जस्तो एउटा मन्त्री दिने दलहरुको आन्तरिक सहमति जस्तै देखिन्छ । प्रदेशमा भागबन्डाका नाममा मनलाग्दी मन्त्रालय फुटालेर मन्त्री बनाउँदा एउटा कथित दलितलाई सहभागी गराइँदैन । राज्यका अरु विभिन्न नियुक्तिहरुमा नामसम्म लिइएको पाइएन । राजदूत नियुक्तिमा समावेशी नीतिलाई पुरै वेवास्ता गरियो ।

ad

पुछारमा
यही वैशाख ३० गते हुनगइरहेको स्थानीय निकायको निर्वाचनमा कथित दलित वडा सदस्य संख्यामा ६ हजार पार गरेको देखाइयो । तर यो राजनीतिक सहभागीता वर्णाश्रमको शूद्र वर्ण भन्दा फरक छैन । दलित वडा सदस्य राजनीतिक रुपमा शूद्र जस्तै हुन् । उनीहरुलाई जुनसुकै पदमा उम्मेदवारी दिने व्यवस्था हुनुपर्ने थियो । यसो भएमा वडा सदस्यमा खुम्चिएर साक्षी किनारा मात्रै बन्नुपर्ने थिएन ।

करिब १७३ स्थानमा त उम्मेदवारी नै दिइएन । कतिले उम्मेदवारी दिएर समेत कथित दलित गनाएर फिर्ता लिए । आफूले आफैलाई दलित भनेर अपमानित र वडा सदस्यको रुपमा भूमिकाविहिन बन्नुपर्ने अवस्थाले खाली भएको बुझिन्छ । यसको गम्भीर समीक्षा गरेर कथित दलित महिला वडा सदस्य अनिवार्य गरेको नीतिलाई संशोधन गरिनुपर्छ । सबै पदहरुमा अल्पसंख्यक, पछाडि पारिएका महिलाहरुले सबै पदहरुमा उम्मेदवारी दिनसक्ने नीतिगत व्यवस्था गरिनुपर्दछ । यसरी मात्रै कथित दलित महिलाहरुले सम्मानित महशुस गर्नसक्छन् ।

धेरैजसो योग्य, सक्षम, इमानदार र दक्ष हुदाहुँदै शिल्पी महिलाहरुलाई वडासदस्यमा मात्रै खुम्च्याउनु राजनीतिक रुपमा वर्णाश्रम अर्थात् शूद्र वर्गीकरण हो । यसले कथित दलितको गौरवशाली विगतको राजकाज, इतिहास, पहिचान, सँस्कृति, सम्पदा र सभ्यताको वैभवलाई अमानित गरेको छ । वर्तमान गणतान्त्रिक व्यवस्थामा हिजो धार्मिक रुपमा विभाजन गरेको वर्गीकरणलाई राजनीतिले समेत शूद्रपना कायमै राख्नु अक्षम्य अपराध हो । हामीले खोजेको कसैको पिछलग्गु होइन समकक्षी हो । निर्धारित तोकिएको कोटामा मात्रै सीमित गरी दयाको पात्र र साक्षी किनारा नबनी निर्णायक बन्ने हो । पञ्चायती टाउको गन्ने सहभागिता मात्रै होइन राज्यप्रशासनमा बराबरी हिस्सेदारीको हक खोजेको हो ।
सँधै कथित दलित र दलितपना भजाएर, भिख मागेर, रोइकराई गरेर बसिरहे आत्मसम्मान र निर्णायक बन्न संभव छ ? विशेष गरेर दास, गुलाम र बालीघरे राजनीतिबाट बाहिर नआइकन साक्षीकिनारा बन्नु बाहेक अर्को बिकल्प देखिँदैन । समय अझै बाँकी छ ।
सोचौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank