स्वर्गीय मनबहादुर विश्वकर्मालाई सम्झिदा

हिरा विश्वकर्मा २० माघ २०७८, बिहीबार १२:५३

मैले स्वर्गीय मनवहादुर विश्वकर्मालाई २०४६ सालको राजनैतिक परिवर्तनपछि विभिन्न ठाउँमा भेटेको थिए । तर उनीप्रति मेरो ठूलो कुनै धारणा थिएन । उनलाई एउटा दलित नेताको रुपमा मात्रै मैले चिनेको र बुझेको थिए । अहिले यो सम्झना लेख्ने क्रममा उनको मूल्यांकन गर्दा अहिलेको परिवर्तनकारी शक्तिले उनलाई राजावादी मान्छ । त्यो भनेको एक प्रकारको पश्चगामी व्यक्ति मानेको हो । तर मेरो विचारमा उनी अहिले १७ हजार मान्छे मारेर स्थापित भएको आफुलाई क्रान्तिकारी मान्ने शक्ति भन्दा दलितका लागि एउटा अग्रगामी क्रान्तिकारी थिए । तर दुर्भाग्य मान्नुपर्छ त्यस्तो अग्रगामी जुझारु व्यक्तित्वलाई हाम्रो कथित दलित आन्दोलनले उनको मृत्यु भएको करिव १० वर्ष पनि नपुग्दै विर्सिईसकेको छ ।  यसरी विर्सिदा नेपालका दलितको लागि आफ्नो शक्ति, धन, समय र विचार खर्चिने अरु व्यक्तिहरुको नियति पनि यस्तै त हुने होला भन्ने लाग्दछ । किनभने समग्र नेपाली समाज कृतघ्न छ त्यसमाथि त्यसैबाट शोषित, पीडित र चेतना नभएको समाज कृतज्ञ हुने कुरा भएन । त्यसकै उदाहरणको रुपमा मनवहादुरलाई विर्सिनुलाई लिन सकिन्छ । जे भए पनि कसै न कसैले समाज र आन्दोलनलाई घच्घचाई रहनु पर्छ भन्ने अर्थमा यो आलेख तयार पारिएको हो ।

२०५८ साल जेष्ठ १९ गतेको रातलाई नेपाली समाजले राजा विरेन्द्रको वंश नाश भएको दिनको रुपमा सम्झिन्छ तर त्यसको ठीक एक दिन अगाडि नेपाली कम्युष्टि आन्दोलनका शीर्ष पुरुष तथा हालका क्रान्तिकारी नेता प्रचण्डका समेत गुरु रुपलाल विश्वकर्माको लामो समयको उपचारको क्रममा  टिचिङ अस्पतालमा निधन भएको थियो । जीवनभर वामपन्थी राजनीति गरेर आदर्श जीवन वाँचेका रुपलालको अन्तिम संस्कार गर्नको लागि पनि पर्याप्त श्रोत नभएको देखियो । त्यति बेला अहिलेको जस्तो सरकारको श्रोत परिचालन गर्न सक्ने स्थिति पनि थिएन । थियो त केवल उनीप्रति सद्भाव राख्ने व्यक्तिहरुको साथ र सहयोग परिचालन गर्ने । रुपलालको राजनैतिक जीवनको अन्तिम समयतिर खासगरि दलितहरुको मुक्ति वामपन्थी आन्दोलनले मात्र गर्न सक्दैन त्यसका लागि दलितहरुको छुट्टै राजनैतिक शक्ति चाहिन्छ भन्ने निचोढमा पुगेका थिए । त्यसैको फलस्वरुप उनले दलित श्रमिक मोर्चा भन्ने राजनैतिक पार्टि पनि खोलेका थिए । अहिले त आम दलितमा छुट्टै राजनैतिक शक्ति चाहिन्छ भन्ने चेतको विकास नभई सकेको अवस्थामा उनले सोचे जस्तो सो पार्टीले व्यापकता लिने कुरा थिएन । अतः उनको अन्तिम यात्रामा उनका पार्टीका कार्यकर्ताहरु पनि खासै देखिएका थिएनन । यस्तोमा तीनै मनवहादुर थिए जसले एउटा रजिष्टर लिएर अस्पतालमा भेट्न आउने सवैसँग हात फैलाई रहेका थिए ।

मैले थाहा पाए अनुसार उनका लामो समयका गैर दलित कम्युनिष्ट सहयात्रीहरु कोइ पनि श्रद्धान्जली समेत व्यक्त गर्न आएका थिएनन, आएका थिए त केवल उनलाई चिन्ने वा सद्भाव राख्ने दलितहरु । कम्युनिष्ट राजनीतिमा एउटा अचम्म लाग्दो रोग छ, त्यो भनेको राजनैतिक रुपमा उनीहरुको नजरमा कुनै विचलन आएको छ वा देखियो भने उसलाई गद्धारकै रुपमा हेर्ने र व्यवहार गर्ने । मलाई लाग्छ त्यति बेला पनि त्यहि मनोग्रन्थीले कम्युनिष्ट नेताहरुमा काम गरेको थियो । तर मनवहादुरकै पहलमा उनको अन्तिम यात्रा भव्य र सम्मान जनक भयो ।

पशुपतिनाथको व्रम्हनालमा रहेका लाश जलाउने ठाउँमा सर्वसाधारणले समेत जलाउन नपाउने व्यवस्था थियो । त्यहाँ त केवल राज परिवार तथा विशिष्ट व्यक्तिहरुको शव मात्र दहन हुन्थे तर रुपलाल विश्वकर्माको मलामी गएकाहरुले मनवहादुरकै अगुवाईमा त्यहाँ अन्तेष्टीको प्रवन्ध मिलाएका थिए । त्यहाँ खास गरि दलितहरुको अन्तेष्टी गरेमा प्रलय आउँछ भन्ने मान्यता धार्मिक कट्टरपन्थीहरुमा रहेको थियो । उनको अन्तेष्टी गरेको दिनको रातमा राजपरिवारको विभत्स हत्या हुँदा कतै त्यो भनाई साचो हो की क्याहो भन्ने जस्तो पनि देखियो । तर त्यस पछि त्यहाँ अनगिन्ती दलितहहरुको अन्तेष्टी गरिएको र त्यस पछि केही पनि नभएको हुँदा त्यो केवल दलितलाई विभेद गर्न फैलाईएको भ्रम रहेछ भन्ने सिद्द भईसकेको छ । तर पनि त्यहाँ सर्वसाधारण व्यक्तिको अन्तेष्टी गर्दा दुबोको चपरी राख्ने चलन छ र राजपरिवार वा विशिष्ट व्यक्तिहरुको अन्तेष्टी गर्दा त्यस्तो चपरी राख्ने गरिदैन भन्ने सुनिएको छ । यसले विभेदलाई कुनै न कुनै रुपमा निरन्तरता दिईएको देखाउँछ । यसरी मनवहादुरले आफुलाई वामपन्थी र कम्युनिष्ट मान्ने नेता तथा कार्यकर्ताहरुले रुपलाललाई घृणा र बहिस्कार गर्दा एउटा राजावादी दलित नेताले त्यत्रा ठूला वामपन्थी नेतालाई जीवनको अन्तिम यात्रामा सम्मानित गरे । दलित आन्दोलनमा उनले खेलेको भूमिका अविष्मरणीय तथा थुप्रै छुन् त्यसको फेहरिस्तपछि प्रस्तुत गरिने छ ।

मनवहादुरले आफुँलाईलाई वामपन्थी र कम्युनिष्ट मान्ने नेता तथा कार्यकर्ताहरुले रुपलाललाई घृणा र बहिस्कार गर्दा एउटा राजावादी दलित नेताले त्यत्रा ठूला वामपन्थी नेतालाई जीवनको अन्तिम यात्रामा सम्मानित गरे । दलित आन्दोलनमा उनले खेलेको भूमिका अविष्मरणीय तथा थुप्रै छुन् त्यसको फेहरिस्तपछि प्रस्तुत गरिने छ ।

 

अहिलेलाई ललितपुर वुङमतिकी नानीमैया परियारलाई दिलाएको न्यायको चर्चा गरेर यो आलेख टुंग्याईने छ, किनभने सो घटनाको साक्षी यो पक्तिकार पनि थियो । वुङमतिकी रैथाने नानीमैया परियारलाई आफ्नै घर नजीक भएको इनारको पानी लिन जाँदा छिमेकीले विभेद मात्रै गरेनन, घटना हातापाईमा उत्रियो । उनी सामान्य घाईते मात्र भईनन, उनको सुनको सिक्री समेत हरायो । छिमेकीले अन्याय गरेपछि उनको जाने ठाउँ प्रहरी र न्यायालय हो । तर त्यहाँ सजिलै न्याय पाउने अवस्था थिएन र छैन । पहिले उनी त्यति बेला राजाले नियुक्त गरेका सहायक मन्त्री हरिशंकर परियार कहाँ गईछन्, उनले एउटा दलित एनजिओकर्मी कहाँ पठाई दिएछन् । ती एनजीओकर्मी जो आफै कानुनवक्ता पनि थिए उनले प्रहरी कहाँ पहिले उजुरी दिनु पर्ने सल्लाह दिएछन् । त्यसपछि उनले जावलाखेलको प्रहरी चौकीमा उजुरी दिन गईन तर त्यहाँ सजिलै सुनुवाई भएन । घटना एक कान दुईकान मैदान भयो र यो पक्तिकार सहित दलितको क्षेत्रमा काम गर्ने ठूलो जमात त्यहाँ जम्मा भयो । धेरै जसो व्यक्तिहरु घटनाका रमिते मात्र भए । केही कर्तव्य निभाए जस्तो गर्न र लाज पचाउन प्रहरी चौकीमा आउने जाने मात्र गर्न थाले । सो घटनामा पीडितलाई न्याय दिलाउन खास गरि तीन जना दलित आन्दोलनका अग्रज व्यक्तिहरु निरन्तर लागि परे, ती व्यक्तिहरु थि ओमप्रकाश विके, पद्यमलाल विश्वकर्मा तथा स्वर्गीय मनवहादुर विश्वकर्मा ।

राजाको प्रत्यक्ष शासन भएको सो समयमा दलित आयोगमा अध्यक्ष भागवत विश्वासी तथा सदस्यसचिव हरि गान्धारी थिए । मेरो तीन दिनको वसाईमा अध्यक्षलाई एक दिन पनि देखिएन तर सदस्यसचिव गान्धारी भने पटक पटक आएका थिए । तर दलितको अधिकार स्थापना तथा प्रवद्र्धन गर्न बनेको आयोगका पदाधिकारीको खासै कुनै भूमिका त्यहाँ देखिएन । तर तीन जना व्यक्तिरु जो कुनै सार्वजनिक पदमा थिएनन, उनीहरुले त्यहाँको प्रहरी अधिकृतसँग निरन्तर बहस गरे ।

हामीलाई थाहै छ प्रहरीका हाकीमहरु सबै गैरदलितबाट हुन्छन उनीहरु दलितलाई न्याय दिन अग्रसर त हुँदैहुँदैनन । भई हाले भने पनि झारा टार्ने खालको काम गर्छन, उनले पनि सकेसम्म त्यस्तै गर्ने प्रयास गरेका थिए । राजाको प्रत्यक्ष शासन भएको हुँदा सुरक्षा निकायसँग अलि जोरजुलम पनि गर्न नहुने अवस्था हुँदाँहुँदै पनि यी तीन व्यक्तिहरु निरन्तर प्रहरीलाई न्यायको पक्षमा काम गर्न दबाब दिईरहे ।  स्मरण रहोस छुवाछुत र कसुर सजाय ऐन आईसकेको थिएन । मुलुकी ऐनकै अदलको १० अन्तर्गत कारबाही अगाडि वढाउनु पर्ने थियो तर त्यसमा टेकेर पनि प्रहरीले न्याय दिलाउने कामलाई अगाडि बढाउन चाहेको थिएन । तीन दिनको लगातारको बसाई र त्यसमा प्रहरी तथा खास गरि वुड०मति गाविसका तत्कालिन अध्यक्ष जो नेवार समुदायका थिए र विभेद गर्ने पनि उनकै समुदायहरु थिए । उनले घटना मिलाउन पहल गरे । अन्त्यमा नानीमैयासँग माफी माग्ने र उनको हराएको सुनको सिक्री समेत क्षतिपूर्तिको रुपमा दिने  सहमती भयो ।

यो घटनालाई अदालतमा पनि लैजान सकिन्थ्यो, तर त्यति बेलाको मुलुकी ऐनको प्रावधान अनुसार रु ३००० सम्म जरिवाना तथा तीन महिना सम्मको कैदको व्यवस्था थियो । जबकी उनको सुनको सिक्रीको मूल्यनै ४०-५० हजारको थियो । फेरि गाउँमा मिलेर नै बस्नु पर्ने भएकोले पनि होला नानीमैयाले पनि यसमा चित्त बुझाईन । जे भए पनि दोषीले माफी माग्ने तथा क्षतिपूर्ति समेत दिने खालको अवस्थामा कुरा टुंगिएको हुँदा यसलाई न्याय निरुपणकै हिसाबले हेर्नुपर्छ भन्ने मलाई लाग्छ । यस्ता अनगिन्ति घटनाहरु स्वर्गीय मनवहादुर विश्वकमासँग जोडिएका छन् जसको चर्चा उनको विषयमा लेखिन लागेको पुस्तकमा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank