मुसहर समुदायमाथि अत्याचार गर्ने शिवजी यादवविरुद्ध उजुरी दर्ता

दलित अनलाईन ९ भाद्र २०७७, मंगलवार ११:०६

काठमाडौं –  दलित सुमदायका  युवालाई भारतको पञ्जाबमा रोजगारी लगाइदिने भन्दै ऋण दिएर पठाउने र चक्रीय ब्याज जोडेर वर्षौँसम्म उनीहरुको शोषण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहामा शिवजी यादवविरुद्ध उजुरी दर्ता गरेका छन् ।

सिरहाको औरही गाउँपालिका–५ निवासी शिवजी यादवले विभिन्न गाउँका मुसहर समुदायलाई चक्रीय ब्याजमा रकम दिने र रकम तिर्न नसक्नेलाई भारतको पञ्जाबमा लगेर काममा लगाउने तथा उनीहरुको पारिश्रमिक आफैले लिने गरेको खुलासा भएपछि उनीहरुले उजुरी दर्ता गरेका हुन् ।

उनले ५र१० हजार रुपैयाँ ऋण लिएका मुसहर समुदायलाई लाखौँ रुपैयाँ ऋण बोकेको देखाएर वर्षौँसम्म काममा लगाउने र तै पनि ऋण चुक्ता नभएको भन्दै रित्तै हात घर फर्काउने गरेको पीडितहरुको भनाइ छ । त्यतिले पनि नपुगे उनले ऋणीको घरमा गएर गाईवस्तु खोलेर ल्याउने, घरखेत कब्जा गर्नेजस्ता ज्यादति गर्दै आएको पीडितहरु बताउँछन् ।

जनता समाजवादी पार्टीका औरही गाउँपालिका अध्यक्ष समेत रहेका यादवले भारतको पञ्जाबमा नेपाली विपन्न समुदायका युवालाई श्रमका लागि लैजाने काम गर्दछन् । पीडितका अनुसार दैनिक ज्यालादारी काम गरेर परिवारको जीविकोपार्जन गर्दै आएका युवालाई पञ्जाब लैजानु अघि त्यस्ता युवाको परिवारका लागि घरखर्चको जोहो गरिदिने क्रममा उनले ऋण लगानी गर्दछन् ।

उजुरीमा मुसहरमाथि भएको आर्थिक र शारीरिक उत्पीडनको छानबिन गरी कारबाही र क्षतिपूर्तिको माग गरिएको छ । यसबाहेक उजुरीमा औरही– ५ का ४५ वर्षीय शिवजी, ४० वर्षीय रामबाबु यादव र ३५ वर्षीय भागवत यादवको विषयमा छानबिन तथा कारबाहीको माग छ । उजुरीमा दलित समुदायप्रति योजनाबद्ध रूपले शोषण गरेकाले उनीहरूको सम्पत्तिको स्रोत छानबिन गर्न पनि माग गरिएको छ ।

शिवजी यादवका अत्याचारका कारण महेश सदाका बुवाको मृत्यु पनि भएको छ । पञ्जावमा शिवजी यादवको ज्यादति सहन नसकेपछि महेश सदा भागेर घर फर्केका थिए । नेपाल फर्केको थाहा पाएपछि शिवजी यादव उनको घरमै पुगेर कुटपिट गर्नुका साथै बन्धक बनाएका थिए । त्यसैको शोकमा उनका बुवाको निधन भएको कवुली पासवानले बताए ।

सिडियो कार्यालयमा उजुरी गर्न पुगेका फुलोदेवी सदा र रामचन्द्र सदा

शिवजी यादवको ज्यादतिको विरोधमा महेश दास, फुलोदेवी सदा, रामचन्द्र सदाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । रामचन्द्र सदाले भने, ‘शिवजी यादवको ज्यादति सहन नसकेर उजुरी गरेका हौं, हामीलाई विश्वास छ कि उहाँमाथि राज्यले कारवाही गर्नेछ ।’

गाउँ गाउँबाट सयौँ निमुखा मुसहर युवाहरुलाई पञ्जाबमा लगेर काममा लगाउने ठेकेदारका रुपमा उनले पञ्जाबका रोजगारदाताबाट कमिशन लिन्छन् । श्रमका लागि पञ्जाब लगिएका युवाका परिवारलाई दुई-चार हजार रुपैयाँ घर खर्चका लागि लगानी गर्ने र उनीहरुको गरिबीको फाइदा उठाउँदै तमसुकमा रकम थपेर ब्याज असुल्ने धन्दामा उनी वर्षौँदेखि सक्रिय रहँदै आएको स्थानीयवासी बताउँछन् ।

यसरी नै उनी सयौँलाई शोषण गरेर करोडपति भएका छन् । आफ्नो करतुतलाई ढाकछोप गर्न उनी राजनीतिक रुपमा पनि सक्रिय छन् । पैसाकै बलमा उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा टिकट हात पारेका थिए । यद्यपि उनी ६ मतले पराजित भए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank