विराटनगर– मध्यरातमा मोरङको बुढींगंगा गाउँपालिका २ मुसहरी वस्तीमा आक्रमण गर्नेहरु ६ जनालाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ । घटनामा संलग्न १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा किटानी जाहेरी दर्ता भएसँगै ६ जना पक्राउ परेका हुन । अन्य ६ जना भने फरार छन ।
शुक्रवार पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका १४ का २६ वर्षीय सञ्जय यादव , ३६ वर्षीय उत्तिमलाल यादव , ४५ वर्षीय राजदेव यादव , २५ वर्षीय ब्रम्हदेव यादव १८वर्षीय दिपक साह, ३२ वर्षीय विन्दु यादव छन । पक्राउ परेका सबै आरोपीहरुलाई प्रहरीले विना कारबाही निमित्त वडा अध्यक्षको रोहवरमा घटनाको भोलिपल्टै छाडिदिएको थियो ।
बुढीगंगा गाउँपालिका २ का ३५ वर्षीय रंजित यादव , ४० वर्षीय विरेन्द्र गडेरी , २५ वर्षीय धिरेन गडेरी , २५ वर्षीय सुरेन गडेरी ३० वर्षीय चलमलिया यादव र अर्का एक जना आरोपी अझै फरार छन । उनीहरुको खोजी तीव्र रुपले भैरहेको प्रहरीले जनाएको छ ।
आत्महत्या दुरुत्साहन कसुरमा पनि अनुसन्धान गर्ने
मध्यराति जघन्य आक्रमणबाट आमा घाइते भएपछि डर त्रास चिन्ताले छोरीले आत्महत्या गरेको घटनाबारे पनि अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख सन्तोष खडकाले प्रतिबद्धता जनाएका छन ।
शुक्रबार दलित अगुवाहरुलाई एसपी खडकाले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने र आत्महत्याको घटना पनि अनुसन्धान गरेर दुरुत्साहन कसुर पाइएमा थप कानुनी कार्वाही चलाउने बताए । उनले भने , ‘म विरामी भएकोले नियन्त्रणमा लिएकाहरु रोहवरमा छाडिएछन ,तर अव म मुद्दा विग्रन दिन्न आक्रमण र आत्महत्या दुवै घटना सुक्ष्म अनुसन्धान गरेर अदालतमा मुद्दा बुझाउँछु र फरारहरुलाई पनि पक्राउ गर्छु ।’,
प्रहरीले जाहेरी दर्ता गरेपछि उर्मीलाको शव दलितहरुले बुझे
मुसहर वस्तीमा गुण्डा लगाएर मध्यराति आक्रमण गर्नेहरुलाई पक्राउ गरेर कानुनी कारबाही नचलाएसम्म आत्महत्या गर्न बाध्य भएकी २४ वर्षीया उर्मिला ऋषिदेवको शव नबुझने र प्रहरीविरुद्ध सघर्ष चर्काउने दलित अगुवाहरुले अडान लिएका थिए ।
प्रहरी प्रमुखले घटनाका सबै आरोपीहरुलाई पक्राउ गरेर अदालतमा म्याद थप गराएको र आत्महत्याको घटना पनि थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि शुक्रवार साँझ आत्महत्या गरेकी उर्मिलाको शव दलितहरुले जिम्मा लिएका छन ।
शुक्रवार विराटनगरमा भएको दलित अगुवाहरुको भेलाले १९ साउन मध्यराति दलित वस्तीमा आक्रमण गरेर एक महिला सहित पाँच जना ऋषिदेव समुदायका मानिसलाई गम्भिर घाइते बनाउनेहरुलाई पक्राउ गरेर मुद्दा दर्ता नगराएसम्म आत्महत्या गरेकी २४ वर्षीय उर्मिला ऋषिदेवको शव बुझन र कडा संघर्ष थाल्ने निर्णय गरेका थिए ।
नेपाल राष्ट्रिय मुसहर संघका मोरङ अध्यक्ष जितेन्द्र ऋषिदेवले भने ,‘ एसपी साहेबले सबैलाई कारबाही गर्ने र घटनाको सुक्ष्म अनुसन्धान गर्ने आश्वास दिएपछि हामीले उर्मिलाको शव बुझेका छौ, तर मुद्दा अदालतमा नपुगेसम्म आफनो संघर्ष जारी राख्छौ ।’
मध्यरातमा आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गरेर पनि छाडिदिएको र आमा सरस्वतीलाई पनि काटेर घाइते बनाएको घटनाकी प्रत्यक्षदर्शी २४ वर्षीया छोरी उर्मिला ऋषिदेवले आफुहरुमाथि फेरि आक्रमण गर्न आउने त्रासको चिन्ताले घरभित्रै पासो लगाएर २३ साउन विहिवार दिउँसो आत्महत्या गरेकी थिइन ।
स्थानीय बैजनाथ यादवको परिवारले राजमार्ग खनेर पानीको निकास निकालेको समान्य विषयमा भनाभन हुँदा १९ साउनराति हातहतियार सहित विराटनगर १४ जतुवाबाट आएका गुण्डाहरुको समुहले बुढीगंगा गाउँपालिका २ को मुसहर बस्तीमा अन्धाधुन्ध आक्रमण गरेर पाँच जनालाई गम्भिर घाइते बनाएका थिए । घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि विराटनगर १४ का निमित्त वडा अध्यक्ष महिचन्द्र यादवको रोहवरमा मोरङ प्रहरीले विना कानुनी कारबाही छाडिदिएको थियो । साथै घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गराउन र जाहेरी दर्ता गरेर घटना अनुसन्धान गर्न पनि वेवास्ता गरेको थियो । आक्रमणबाट रक्ताम्मे घाइते भएका मुसहरहरु आलो घाउ लिएर न्याय माग्दै पहिले जिप्रका मोरङ पुगेका थिए । मोरङ प्रहरीले इलाका प्रहरी निमुवाको इलाका भन्दै पठाएको थियो । ईप्रका निमुवाले घटना मिलापत्र गराउन प्रयास गरेपछि राजनैतिक पार्टीका स्थानीय प्रतिनिधि र सहयोगीहरुले विरोध गरेका थिए । त्यसपछि ईप्रका निमुवाले नियन्त्रणमा लिएका पाँच जनालाई जिप्रका मोरङ पठाइदिएको थियो । त्यसपछि मोरङ प्रहरीले नियन्त्रणमा लिएका सबैलाई निमित्त वडा अध्यक्षको रोहवरमा छाडिदिएका थिए । त्यसपछि निमित्त वडा अध्यक्ष महिचन्द्रले पिडितको उपचार गरिदिने र केही क्षतिपूर्ति समेत दिने भन्दै घटना मिलापत्र गराउने प्रयास गरेका थिए ।
घाइतेहरु अझै अस्पतालमा उपचारत
आक्रमणमा परेर ५० वर्षीय सरस्वती ऋषिदेव र उनका भाइहरु क्रमश ४० वर्षीय पन्नाालाल ३८ वर्षीय चुन्नीलाल ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम ऋषिदेव गम्भिर घाइते भएका छन । दीदी सरस्वतीको तरवारले छातीमा काटेको छ भने घाइते भाइहरु को टाउको , गर्धन , आँखा निधार र शरिरमा गहिरो चोट लागेको छ । स्थानीय जनप्रतिनिधि र पार्टी नेताहरुको सहयोगमा उनीहरुको बुढीगंगा २ टंकीमा रहेको विराट मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने उनिहरुको उपचारमा नेपाली काँग्रेस गाउँ सभापति जितनारायण थापा , नेकपा मोरङ सदस्य कपिल सुनार , स्थानियवासी केशव गिरी , ज्योती गिरी लगायतले सहयोग गरिरहेका छन ।
Leave a Reply