अजित हत्याको पाँच वर्ष : न्यायको पखाईमा शव

दलित अनलाईन ३० असार २०७८, बुधबार १९:०३

काठमाडौं — अन्तरजातीय प्रेम विवाह गरेकै कारण काभ्रेबाट धादिङमा लगेर अजित मिजारको ‘हत्या’ गरिएको पाँच वर्ष पुगेको छ । यो सँगै अजित मिजारको परिवारले पनि न्याय पर्खेको पाँच वर्ष पुगेको छ । दोषीलाई कारबाही नभएसम्म अजितको शव नउठाउने अडान बाबु(आमाले लिएपछि न्यायको पर्खाइमा उनको शव शिक्षण अस्पताल महाराजञ्जमा पाँच वर्षदेखि नै छ ।
काभ्रे पाँचखाल– ६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरू अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे ।


बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ । त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए । छोरा हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको थियो । दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका उनले राति ८ बजे घरमा फोन गरेका थिए । उनको स्वर अत्तालिएको थियो । त्यसपछि सम्पर्क हुन सकेन ।
भोलिपल्ट ३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लास गाड्यो, यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । उनीहरू घटनास्थल पुग्दा लास गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लास निकाले । लास अजितकै थियो ।


प्रहरीले पोस्टमार्टमसमेत गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँ–कतै चिरफार गरेको भेटिएन । आफन्तले गाडिएको लास पुनः उत्खनन गरी काठमाडौंस्थित शिक्षण अस्पताल ल्याए । अजितको शव अझै अस्पतालमा छ ।
अजितका परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले युवतीका माइतीपक्षका चार जनालाई पक्राउ ग¥यो । तर, जिल्ला अदालतले तारेखमा छाड्यो । पोस्टमार्टम रिर्पोट नै गलत बनाएर प्रहरीले दोषी उम्काउन खोजेको ठहर व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समिति अन्र्तगतको उपसमितिले गरेको थियो ।


अजित हत्याका आरोपितहरुलाई जिल्ला अदालत सफाइ दियो । सरकार फेरियो, प्रहरीका अधिकारीहरु फेरिए, मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन छ । छोरालाई न्याय नदिलाएसम्म अन्त्येष्टि नगर्ने भन्दै पर्खिरहेका आमाबुबा पाँच वर्षदेखि न्यायालय धाइरहेछन् । आफ्नो छोराको मूल्य १० लाख हुन नसक्ने अडान राख्दै न्याय नपाउन्जेल शव बुझ्न नसक्ने निर्णय सुनाएपछि अस्पतालबाट शव उठेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank