पत्रकार एलबी विश्वकर्माको मृत्युमा सिभिल अस्पतालको लापरबाही : पत्रकार महासंघ

दलित अनलाईन १४ माघ २०७८, शुक्रबार २१:१३

काठमाडौं— टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युका विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले गठन गरेको तीन सदस्यीय अध्ययन समितिले पत्रकार विश्वकर्माको दुःखद निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्य कारण रहेको ठहर गरेको छ ।

समितिले तयार पारेको प्रतिवेदन अनुसार नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणाम नै पत्रकार विश्वकर्माको निधन भएको हो । समितिले पाटन अस्पतालको समेत लापरवाही औंल्याएको छ ।

यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हुने भन्दै प्रतिवेदनमा महामारीका बेला अस्पतालमा भएको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको देखिएकाले उनको परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

कोभिड–१९ महामारीका कारण सञ्चार क्षेत्र र पत्रकारहरु संक्रमणको जोखिमका बीच नागरिकलाई सूचना दिने कार्यमा सक्रिय रहे पनि पत्रकार विश्वकर्माको निधनले आमसञ्चार क्षेत्रमा भय सिर्जना गरेको महासंघले जनाएको छ । महासंघले अग्रपंक्तिमा रहेर खटिरहेका पत्रकारहरुको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सरकारले सरकारी अस्पतालमा पत्रकारहरुको निःशुल्क उपचार हुने भनी पटक पटक घोषणा गरे पनि त्यो घोषणा कागजी पुलिन्दा मात्रै बनेको अवस्था रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘घोषणा गर्ने मात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनका लागि महासंघ सरकारसँग आग्रह गर्दछ ।’

पत्रकार विश्वकर्माले आफ्नो स्वास्थ्य र आर्थिक अवस्थाबारे महासंघलाई जानकारी नै नगराएकाले महासंघले आफूलाई परीक्षण गर्ने मौका समेत नपाएको र उनको जीवन बचाउने सन्दर्भमा कुनै पनि भूमिका खेल्नबाट बञ्चित भएको भन्दै प्रतिवेदनमा दुःख व्यक्त गरिएको छ ।

महासंघले कुनै सञ्चारकर्मीलाई पेशागत सुरक्षा, भौतिक सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्मका विषयमा केही कुनै समस्या भएमा पत्रकार महासंघको सम्पर्कमा आउन पनि आग्रह गरेको छ । महासंघले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank