काठमाडौं—कोरोनाका कारण लकडाउनमा परेका बागलुङको निसिखोला गाउँपालिका–३, धाराखर्कका पूर्णबहादुर सुनार, १७ असारमा काठमाडौं ओर्लिए । भारी मन, भारी जीवन, तैपनि बाँच्ने, खुसी हुने र बाँड्ने आशा मेटिएको छैन । दुईचार पैसा कमाएर ल्याउँला र परिवारलाई खुसी राखौंला भनेर परदेश पुगेका पूर्णबहादुर जस्तै धेरै नेपाली नागरिक अहिले समस्यामा छन् ।
कोरोनाका कारण काम र दाम दुवै गुमाएर अलपत्र परेका उनीहरु बाँचेर घर फर्किन पाउँदामात्रै पनि खुसी छन् । तर, घर फर्किनेहरुमध्ये धेरैको थाप्लोमा ऋणको भारी थुप्रिएको छ । सकुशल स्वदेश फर्किन पाउँदा अनुहारमा खुसी जति छचल्किएको देखिन्छ, त्योभन्दा बढी साहुको ऋण कसरी तिर्ने होला ? भन्ने पीर मनमा छ । त्यस्तै भय र पीरमा बाँचिरहेको छ, बाग्लुङको निसिखोला गाउँपालिका–३, धाराखर्कका ४४ वर्षे पुर्णबहादुरको मनमा पनि ।
धाराखर्कको पुशपति आधारभूत विद्यालयमा १४ दिन बिताए पनि उनी घर पुगेका छन् । क्वारेन्टाइनमा हुन्जेल उनले आफ्नै परिवारलाई पनि भेटेनन् । गाउँको क्वारेण्टाइनमा न प्रहरी बसेको थियो, न गाउँले साथीभाई नै आए । ‘खाने समय भएपछि घरबाट खानेकुराको पोको कोठाभित्रै आइपुग्थ्यो, त्यही खायो, घरबाटै ल्याएका कपडा विछ्यायो, सुत्न मन लागे सुत्यो । उठ्न मन लागे उठ्यो । मनमा पीर दौडायो । बसिरह्यो ।’ उनले सम्झिदै भने ।
पुर्णबहादुरले घरको ऋणपान तिरोभरो गर्न पार नलागेपछि गत पुषमा ऋण गरेर एक लाख २५ हजार रुपैयाँ मेनपावरलाई बुझाए । गाउँघरमा तिरोभरो गर्न ऋण दिदैनन्, तर विदेश जानभनेपछि तुरुन्तै पैसा जुटिहाल्छ । लगत्तै कतार उडेका उनी अहिले गाउँको जग्गा धितो राखेर घर फर्किन बाध्य भए । कमाएर ऋण तिराँैला भनेर चौंथो पटक परदेश पुगेका उनलाई कतार अनौठो थिएन, तर त्यहाँ पुगेपछि आफ्नै देश र नेपाली दाजुभाई चाँहि अनौठो लाग्न थालेको छ ।
‘राम्रो कम्पनी छ, कमाई राम्रो हुन्छ भनेर ‘लोडर अपरेटर’को भीषा लगाइदिन्छु भनेको मेनपावरले ठगेको त्यहाँ पुगेपछि थाहा पाएँ,’ उनी भन्छन्, ‘काममा नलाग्दै कम्पनी बन्द भयो, कोरोना संकटका बेला न त्यहाँ बस्ने ठाउँ छ, न खाने ठाउँ ।’ सवा लाख खर्चेर दोहा पुगेका उनी उल्टै थाप्लोमा ऋणको भारी थपेर फर्किएका छन् ।
पूर्णबहादुरले आफ्नो जीवनका दुई दशक परिवारको खुसी र भविष्यका लागि दुई पैसा जोहो गर्न सकिएला कि भनेर संघर्ष गर्नमै बिताए । दुर्गममा जन्मिएका उनले लेखपढ गर्न पाएनन् । १९ वर्षमै घरजम सुरु गरे । श्रीमती धनमाया सुनार कलिलैमा आमा बनिन् । छोरो जन्मिएपछि बल्ल जिम्मेवारी महसुस भयो उनलाई । त्यहीबाट सुरु भयो, उनको संघर्षको यात्रा पनि ।
‘पहिलेकै थुप्रो ऋण छ, नानीहरुको लागि जोहो गरौंला भन्ने थियो, उल्टै थपियो,’ उनी भन्छन्, ‘कमाउन जाँदा उल्टै ऋण थपेर फर्किएँ, अब घर जान चार दिन बाँकी छ, रित्तो हात फर्किएर ती कलिला छोरा–छोरीलाई मैले के भन्ने होला ?’
विहे भएको दुई वर्ष पछि नै उनी कतार उडे । तर, राम्रो कम्पनी परेन, कमाई पनि त्यस्तै । स्टील कम्पनीमा फलामको काम गर्नुपर्ने, तर कमाई तीन सय रियलमात्र । मेनपावरलाई ८० हजार बुझाएर गएका उनको हातमा न सीप थियो, न भाषा र रहनसहनको ज्ञान ।
देश बुझियो, फेरि आउँला, कमाउँला भन्ने सोचेर उनी साहुको तिरेर घर फर्किए । ६० हजार लिएर आएका उनीसँग घर पुग्दा ३० हजारमात्रै रह्योे । ‘तीन वर्ष विदेश बस्दा तीस हजार कमाई । ०५९ सालमा म फर्किदा देशमा शान्ति थिएनँ । गाउँमा लगत्तै केही गर्न पनि सकिनँ,’ उनी भन्छन्, ‘उमेर ढल्कँदै गरेका बुवाआमाको जिम्मेवारी सम्हालेर अरु केही वर्ष घरै बसेँ, फेरि श्रीमती, छोराछोराको पढाई र भविष्य सोचेर विदेसिन बाध्य भएँ ।’
०६७ सालमा उनी दोश्रो पटक कतार उडे । तर, काम भने लेवरको थियो । मेहिनेत धेरै, कमाई थोरै । यसपटक कतारको बसाई १८ महिना रह्यो । ऋण काढेर एक लाख दश हजार मेनपावरलाई बुझाएका उनले ऋण तिर्नेबाहेक केही गर्न सकेनन् । उनी निराशामात्रै बोकेर रित्तो हात फर्किए ।
घरमा बुवाआमाको उपचारमा उनलाई थप ऋण लाग्यो । बुवाको उपचार खर्च समेत तिर्न नसकेपछि उनले फेरि कतार नै जाने निर्णयमा पुगे । ०७० को फागुनमा तेश्रो पटक उही कतार पुगे । त्यसपटक कमाई ठिकै थियो । ३५ महिना बस्दा उनले बुवाको उपचारको झण्डै ५ लाख रुपैयाँ ऋण तिरे । घरको गर्जो टारे । तर, त्यसपटक भने उनले फर्किएर पुनः आफ्नो बुवालाई देख्न पाएनन् ।
बुवा बितेको लगत्तै आमा पनि बित्नुभयो । उनी भन्छन्, ‘कतारमा बेल्चा हान्दै सुरु गरेको मैले निर्माण कम्पनीको काम र कमाई ठिकै भयो, आउने बेला हातमा लोडर अपरेटरको सीप र लाइसेन्स लिएर आएँ ।’ धेरै निराशा र थोरै उत्साह बोकेर फर्किएका उनले राम्रो कम्पनीमा पाए लोडर अपरेटरको काममा फेरि आउँछु भन्ने सोचको थिए । बुवाआमाको काजकिरिया गरे ।
गतवर्ष जेठमा श्रीमती धनमायाले पनि साथ छाडिन् । पूर्णबहादुर भन्छन्, ‘दुई पैसा कमाउछु र परिवारलाई खुसी राख्छु भनेर संघर्ष गर्दा–गर्दा यति समय बितेछ कि बुवा, आमा र श्रीमतीले समेत साथ छाड्ने बेला भइसकेछ ।’ तर, आश गर्ने मान्छे अझै बाँकी थिए, कलिला दुई छोरा र सानी छोरी ।
‘अब नानीहरुको पढाईका लागि भएपनि एक पटक जान्छु भनेर ‘लोडर अपरेटर’ को काममा पुसमा फेरि गएको, तर पुग्नासाथ लकडाउन भयो, काममा नलाग्दै कम्पनी नै बन्द भयो,’ उनी दुःख सुनाउँछन् । उनलाई मेनपावरले पनि ठग्यो । जानेबेला राम्रो काम लगाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ खाइदियो ।
भीषा नलाग्दै काठमाडौं बोलाएर एक महिना झुलायो । अन्तिममा श्रमसमेत नगरी भिजिट भीषामा पठाइदियो । ‘कम्पनी नै बन्द भएपछि न गाँसको ठेगान, न बासको,’ उनी भन्छन्, ‘धन्न पहिले चिनेका साथीभाई थिए, र बाँचेर आएँ ।’
पुर्णबहादुरको आफ्नो सम्पत्तिका नाउँमा करिब सात रोपनी जग्गामात्रै छ । केही पाखोबारी छ, बाँकी बारीमा मकै, गहुँ र कोदो फल्छ । ‘आधा जीवन कतार धाउदैमा बित्यो, ऋण काढ्ने जाने, त्यही ऋण तिर्ने, बाटो खर्च बनाउने र घर फर्किने,’ उनी भन्छन्, ‘यसपटक त त्यति पनि गर्न पाइनँ, उल्टै आउने बेला भएको पाखोबारी धितो राखेर साथीसँग चार हजार रियल ऋण लिएर टिकट गर्न लगाएर आएको हुँ ।’
विदेशमा अलपत्र पर्दा उनले न सहयोग माग्न सरकार थियो, न स्वदेश फर्किएर आफ्नो दुःख सुनाउन नै । भन्छन्, ‘भएको पाखोबारी समेत बेचेर घर फर्किनुप¥यो, सरकारले कसरी आयौं भनेर सोध्न पनि सोधेनँ ।’ उनलाई अब मेनपावर कम्पनीसँग भेटेर जाँदाको पैसा असुल्नु छ । आफुलाई झुक्याएर मेनपावरले मोटो रकम असुलेको उनी गुनासो गर्छन् । यसपटक कतार जाँदा, उहाँ बस्दा खाँदा र गाउँ फर्किदासम्म मात्रै चार लाख रुपैयाँ बढी रकम सकिएको उनले बताए ।
‘पहिलेकै थुप्रो ऋण छ, नानीहरुको लागि जोहो गरौंला भन्ने थियो, उल्टै थपियो,’ उनी भन्छन्, ‘कमाउन जाँदा उल्टै ऋण थपेर फर्किएँ, अब घर जान चार दिन बाँकी छ, रित्तो हात फर्किएर ती कलिला छोरा–छोरीलाई मैले के भन्ने होला ?’ उनका ठूलो छोराले आमा बितेपछि घर स्याहार्छन् । एउटा छोरो अहिले एसईईको तयारीमा थिए, भने छोरी कक्षा–९ मा पढ्छिन् । पूर्णबहादुर भन्छन्, ‘गर्छु भनेर दुःख गरेर मात्रै नहुने रहेछ, भाग्यमा नभएपछि यस्तै त होला नि ।
Leave a Reply