सम्माननीय प्रधानमन्त्री ज्यु
नमस्कार
विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सर्तकताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सराहनीय छन् । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजाेर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसंग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साँझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको जिम्मेवारी बोध प्रति हामी कृतज्ञ छौ । यद्यपि केहि दिन अगाडि स्वास्थ्य मन्त्री ज्युले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौ । अरु त सबै ठिकै छ । कोशिश राम्रो छ । किप ईंट अप ।
सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फÞ क्वारेनटाईनमा बसेका छौ । दशैमा समेत नजुटिने हाम्रो परिवार यसपालि घरभरी भएका छौ । एक अर्थमा मेरो बाबा, आमा र गाउँ सार्है खुसी देखिएका छन् तर त्यो खुसी धेरै बेर रहन सकेन जब साँझ खाना खाने बेला बाबाले चिन्ता व्यक्त गर्नु भयो – “ अब अनिश्चितकालीन बन्द भन्छन् । यसरी सबै परिवार भेला भएर बसी – बसी खान कहिले सम्म पुग्ने हो ? ” माहोल स्तब्ध भयो । खाना खल्लो ! (बाबा लामो वैदेशिक रोजÞगार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहाँलाई ढाडस दिएको थिएँ – बा ! तपाई बुढो हुनुभो अब बिदेश नजानुस । म गर्छु । “ आमा गृहिणी हुनुहुन्छ । माईलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिराछ । खास तरक्कि गर्न सकेको छैन । बुहारी र छोरा गाउँमै छन् । अर्को दुई जना भाई र मेरी श्रीमती बिन्दु अध्ययनरत छन् र आफ्नो करियरमा संघर्षरत छन् । मेरी एउटा छोरी छिन ३ वर्षको । पछिल्लो ५र ६ वर्ष देखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ भने पेशाले म गीत संगीतमा निर्भर छु । फुलटाईमर कलाकार भनम न । दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ । ) खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जि र मैले हाम्रो अकाउन्ट चेक गर्यौ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामी सँंग धेरै नगद मौज्दात रहेनछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जिले हिसाब निकाल्नु भयो – सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसि बसि खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामी सँग रहेछ । मैले आफुलाई भंयकर सम्पन्न भएको महशुस गरे । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिईन । आत्मसम्मान र सपनाको पछि लागे । यद्यपि दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फट्को मारेको हो हाम्रो पुर्खाको तुलनामा ( बिन्दु जीलाई यति गफ लाईदेको उनी ढुक्क भएर निदाईन । तर म निदाउन सकिन ।
के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नुपर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसँग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यै बाट शुरु भैसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छायाँ देखाईसकेको छ !
सम्माननीय प्रधानमन्त्री ज्यु ,
के हाम्रो बाले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्री परिषदको कोरोना भाईरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रह्यो भने हामी कति दिन सम्म पाल्न सक्छौ हाम्रो जनतालाई भनेर ? ! के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नुपर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसँग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यै बाट शुरु भैसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छायाँ देखाईसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केहि हप्ता देखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन ! काम ठप्पै भएपछि खल्तीमा डेढ दुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महगिँएको पसल अगाडि गएर घण्टौ सोच्छ होला । यति पैसाले स्यानीटाईजर किनम कि स्यानी छोरीको लागि एक गाँस चामल ? हात धुनें साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आँशु पुछ्ने रुमाल ? रोगको डर र भोकको डरमा कति फरक छ ? , रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मुल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साँझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यु । के भन्दो रछ हजुरको मनले !
ल मानम परिस्थिति यस्तै भयो। आफुसँग हुँदा सम्म खाने , नभए मर्ने स्थिति आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रकम बच्ने भयो करिब ( २ लाख रुपैँया । एउटा जिम्मेवार नागरिकका हैसियतले यो रकम यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु ।) कहाँ कसकों नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यालय बागलुङमा पठाएको छु । यो रकम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ । कोरोनाको आंशकामा बिना पुर्वाधार बिरामी जाँचिरहेका ती हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मीका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी ! सेल्फ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाजी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्दा र बालबालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी । काम धन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाई गोडा एक महिना दुई गाँस दालभात ख्वाउन पाए पनि म खुसी । रकÞम थोरै छ तर यस्तो परिस्थितिमा जहाँ जसरी काम लागे पनि म खुसी ।
ल मानम यो सबै परिस्थितिको सामना र जिम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटा गज्जबको गीत रेकर्ड गर्नेछु । र बाँकाी रकÞमले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु । उस्ले धेरै पढोस् र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रकÞम नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस् । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि । आफ्नो र हाम्रो ख्याल राख्नु होला ।
धन्यवाद
प्रकाश सपुत
एक नागरिक र एक कलाकार
Leave a Reply