ककेश पर्वत हुदैं इसापूर्व १५०० मा भारतीय उप–महाद्धीपमा प्रवेश गरेका आर्यहरुले पहिले नश्लको आधारमा यो क्षेत्रमा बसोबास गर्ने मूलबासी समुदायहरु माथि विभेदको श्रृखंला लादे भने त्यसैलाई पछिल्लो चरणमा वर्णाश्रम व्यवस्थामा परिणत गरी धार्मिक र राजनैतिक कानुन नै बनाएर भेदभाव नीतिलाई संस्थागत गरिदिए । तिनको यो नीतिले यस क्षेत्रमा बसोबास गर्ने झण्डै ७० प्रतिशत मान्छेहरुले शोषण उत्पीडन भोग्नुपरिरहेकोछ । आर्यहरुद्धारा पक्षपोषण गरिएको जात व्यवस्थाबाट कोही पनि अछुतो छैन । तर यसको सबैभन्दा घातक मार भने अछूत बनाइएका शुद्र ( दलित ) समुदायले भोग्दै आएकोछ । भारत र नेपालजस्ता लोकतान्त्रिक मुलुकका तथाकथित महाशुद्र अथवा अछुतहरु बढी शोषित र पीडित छन् । ति आजको २१औ शताब्दीमा पनि जात ब्यवस्थाको कहर सहन बाध्य छन् ।
आर्यहरुले संसार भर नश्लको आधारमा विभेद गरे। तर हाम्रोमा भने नश्ललाई नैचर्तु वर्णव्यवस्थामा परिवर्तन गरी सिन्धुघाटीको सभ्यताका प्रतिपादक तथा आदिकालदेखि यसक्षेत्रमा बसोबास गर्दैआएका मूलबासीहरुलाई अझै कठोर तरिकाले दमन गर्ने हतियार बनाए। उनीहरुलाईअनार्य, असुर, राक्षसको नामबाट अपमानित गर्दै अछूत बनाएर दिनहिन पद दलित बनाइदिए। वर्णाश्रमव्यवस्थाको विरुद्धमा यहाँका मूलबासीहरुले संघर्ष गर्न नसकुन र ब्राह्मणलाई सर्वोपरी मान्ने वातावरण बनोस्भनि राज्यरधर्मको समन्वयमा कानूनबनाई जातप्रथालाई संस्थागतगरे। जातप्रथालाई ईश्वरको वचनको रुपमा स्थापित गरेर त्यसलाई सदाचारको रुपमा परिभाषित गर्दै जातप्रथा नमान्नेलाई राज्यको कानुनद्धारा सजाय गर्ने व्यवस्था कठोरतापूर्वक लागु गरे।हाम्रोमा जातप्रथाहिन्दु समाजकै उपज भएको र यसलाई धर्मको एउटा हिस्सा बनाई व्यवहारमा उतारिएकोले कसरी हिन्दु समाजमा जातप्रथालाई संस्थागत गरिएको छ भन्ने प्रश्नको जवाफ यस आलेखमा दिन खोजिएको छ।
ऋग्वेदमा चर्तुवर्णको उत्पत्ति
हिन्दु धर्ममा वर्ण(जात)लाई संस्थागत गर्ने काम उनीहरुको मूल ग्रन्थवेदबाट सुरु हुन्छ। ऋग्वेदको दसौमण्डलको पुरुष शुक्तमा कसरी चर्तुवर्ण (ब्राम्हण, क्षत्रीय, वैश्यर शुद्र) को उत्पत्ति भयो भन्ने उल्लेख गरिएको छ। यसले मानिसहरुलाई चार वर्णमा विभाजित ग¥यो र जन्मको आधारमा अलग कर्मको पनि निर्धारण गरियो जसलाई चर्तु वर्णव्यवस्था वाचार्तुवर्ण विधान भनेर भनिन्छ।पुरुष शुक्तमा भनिएकोछ – चार वर्ण ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको उत्पत्ति प्रजाप तिब्रम्हाको चार वटाअंगबाट भएका हुन्।
ब्राम्हणोस्य मुखमासित बाहू राजन्य कृतः ।
उरु तदस्य यद् वैश्य पद्भ्याम शुद्रो अजायत ।। ऋग्वेद १०।९०।१२
अर्थ – ब्राम्हण ब्रम्हाको मुख, क्षेत्री ब्रम्हाको पाखुरा, वैश्य जाँघ र शुद्र ब्रम्हाको पाइतलाबाट उत्पन्न भयो ।
मुखबाट ब्राम्हण, बाहु (पाखुरा) बाट क्षेत्री, जाँघ (साप्रो )बाट वैश्य र पाउ (पाइतला) बाट शुद्रको जन्म भएको धारणा स्थापित गरेपछि तिनको कार्यविभाजन पनि अंगको श्रेष्ठताको आधारमा गरियो । मुख शरीरको सवैभन्दा श्रेष्ठ अंग हो त्यसैले ब्राम्हणको कार्य पढ्ने, पढाउने, यज्ञ गर्ने, दान लिने र पुरेत्याई गर्ने हो भन्दै बैशिष्यता स्थापित गराउने काम भो । बलको प्रतिक पाखुराबाट जन्म भएको क्षेत्रीको कार्य राजपाठ चलाउने र युद्ध गर्ने भनि निर्दिष्ट गरियो । साप्रो श्रमको प्रतिक भएकोले वैश्यको काम व्यवसाय गर्ने, खेतिपाति गर्ने बताईयो भने पैताला शरीरको सबैभन्दा तलको अंग भएकोले शुद्रको कार्य सबैको सेवा गर्ने भनि कार्यविभाजन निर्धारण गरियो ।
ऋग्वेद मार्फत स्थापना गरिएको चर्तुवर्ण व्यवस्था नै आजको जातप्रथाको मूल आधार हो । किन यो व्यवस्था आजको जातप्रथाको आधारशीला बन्न गयो त्यो जान्नको लागि यसको विशेषता के थियो भनेर बुझ्न जरुरी छ । ति विशेषताहरु तल चर्चा गरिएकाछन् –
१.चार्तुवर्णलाई अपरिवर्तनीय बनाइयो ।
२. व्यक्ति जुन वर्णमा जन्मियो त्यही वर्णमा नै उसको मृत्युलाई सुनिश्चित गरियो । वर्ण परिवर्तन गर्न चाहनेलाई दण्डको व्यवस्था गरियो ।
३.वर्ण व्यवस्थालाई अनुलोम (माथिबाट तल झर्ने) बनाइयो ।
४.वर्ण व्यवस्थाले जात र उपजातलाई जन्म दियो ।
५.चार्तुवर्ण व्यवस्थालाई ईश्वरको आदेशकोरुपमा ब्याख्या गरियो ।
६.पुरुष शुक्तले चार्तुवर्ण व्यवस्थालाई कानुनी मान्यता प्रदान ग¥यो ।
७.यो व्यवस्थालाई तिरस्कार गर्नु भनेको इश्वरको तिरस्कार गर्नु भन्ने मान्यता स्थापित गरियो ।
८. यस्तो ब्यवस्थाले श्रेणीको आधारमा स्थापित ऊँचनीचको अवधारणालाई सधैंको लागि स्थायी बनाईदियो ।
योखतरनाकत्यतिबेलाबन्योजबयसलाईधार्मिकशासनरइश्वरकोआदेशकोरुपमा ब्याख्यागरियो।
मनुस्मृति : मान्छेको हैसियत पशुभन्दा निम्नस्तर
मनुस्मृतिको रचना मनुद्धारा ईसापूर्व १८५मा ब्राम्हण राजा पुष्यमित्रशुंगको शासनकालमा गरिएको थियो। पुष्यमित्र सम्राटअशोकको नाति बृहद्रथको सेनापति थियो। पुष्यमित्रले बृहद्रथको हत्या गरेर राजगद्दी हत्याएको थियो। ब्राम्हणको सत्ता स्थापनाका लागि पुष्यमित्रले गरेको यो प्रतिक्रान्ति थियो।यसलाई भारतको राजनैतिक इतिहासमा क्रुरतम कालो युगको रुपमा लिन सकिन्छ।
मनुस्मृति तत्कालिन समाजको विधान थियो । आर्यलाई श्रेष्ठ ठान्ने यो विधानले अनार्यहरुलाई मानवको दर्जा दिन समेत इन्कार ग¥यो । यही हिन्दु विधान संहिताको आधारमा चार्तुवर्ण व्यवस्थालाई पूर्णरुपमा कानुनी मान्यता प्रदान गरियो र ब्राम्हणको श्रेष्ठता अनन्तकालसम्म स्थापित गर्ने आधार तयार पारियो । एक प्रकारले मनुस्मृतिको माध्यमबाट दैवी शासनको स्थापना गरियो ।
यस सम्बन्धमा भारतको संविधान निर्माता तथा दलित संघर्षका सर्व स्विकार्य देखिने डा. भिमराव अम्बेडकरले भन्नुभएकोछ–“ दैवी आचारसंहिता मनुस्मृति हिन्दुहरुको शास्त्रयुक्त तथा सामाजिक जीवनलाई नियन्त्रण गर्ने नियमहरुको सुक्ष्म विवरण हो।यसलाई हिन्दुहरुको बाइबलको रुपमा लिइनु पर्दछ।किनभने यसमा हिन्दुधर्मको दर्शनलाई समाबेश गरिएकोछ।”
ब्राम्हणवादको विजय पश्चात मनुस्मृतिको माध्यमबाट जातको आधारमा उनीहरुलाई बलियो बनाउन निम्निलिखित व्यवस्थाको निर्माण गरियो–
१.ब्राम्हणहरुलाई शासन गर्ने तथा राजहत्या गर्ने अधिकार प्रदान गरियो ।
२.ब्राम्हणहरुलाई विशेष अधिकार प्राप्त व्यक्तिकोरुपमा स्थापित गरियो ।
३.यसले बर्णलाई जातिमा परिवर्तन गरिदियो ।
४.विभिन्न जातिहरुको बिचमा संघर्ष र समाज विरोधी भावना पैदा गरिदियो ।
५. शुद्र र स्त्रीलाई हेयको दृष्टिकोणले हेरियो ।
६. वर्ण असमानताको प्रणाली लागु गरियो ।
७. वर्णमा आधारित सामाजिक व्यवस्थालाई कानुनी मान्यता प्रदान गरियो र जातको आधारमा दण्ड सजायको व्यवस्था गरियो जुन यो भन्दा अगाडि पारम्पारिक र परिवर्तन शील थियो।
मनुस्मृतिमा हिन्दु जातप्रथाको उत्पत्तिको आधार ऋग्वेदको पुरुष शुक्तलाई बनाइएको छ । मनुले ऋग्वेदमा प्रतिपादित चार वर्णको आधारमा समाज व्यवस्था कायम गरे तथा तिनीहरुको कार्य निर्धारण गरे । मनुले ऋग्वेदको चार्तुवर्णको उत्पतिको आधारलाई समर्थन गर्दै वर्णको उत्पत्तिको सम्बन्धमा लेखे–
लोकानां तु विबृद्धर्थ मुख, बाहूरुपपादतः ।
ब्राम्हणं क्षतियं वैश्यं शुद्र च निरवर्तयात ।। (मनुस्मृति १/३१)
अर्थातः प्रजापतिले लोकको बृद्धिको लागि मुख, बाहु, जांघ र पाउबाट क्रमशः ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रलाई उत्पन्न गरे ।
मनुले के दावी गरेका छ भने ब्रम्हाको मुखबाट जन्म लिएको कारण ब्राम्हण जन्मले नै श्रेष्ठ हो र कम्मर भन्दा तल्लोअंगबाट जन्मेको कारण वैश्य र शुद्रनिच (निकृष्ट) हो।
उत्तमांगोद्भवज्जैठयाद्ब्रह्मा
सवैस्यावास्य सर्गस्य धमतो ब्राम्हणः प्रभुः ।।(मनुस्मृति १/९३)
अर्थात– उत्तम अंग मुखबाट उत्पन्न भएको कारणले र वेदको धारण गरेको कारणले ब्राम्हण सम्पूर्ण संसारको स्वामी हो ।
ऊध्र्व नामेर्यानि खानि तानि मेध्यानि सर्वशः ।
यान्यधस्तोन्यमेध्यानि देहाच्चैव मालाच्युता ।। (मनुस्मृति ५/१३२)
अर्थात– जो इन्द्रिय नाइटो भन्दा माथि छ त्यो सबै भन्दा पवित्र हो र जो तल छ त्यो र शरीरबाट निस्किएको मल अपवित्र हो ।
यहि शास्त्रीय विधान अन्र्तगत शुद्र र वैश्यलाई सबैभन्दा तल्लो स्तरको मानियो र उनीहरु माथि विभिन्न खाले शास्त्रीय अयोग्यता लादियो । मनुस्मृतिमा धेरै यस्ता विधानहरु समावेश गरिएको छ जसको आधारमा शुुद्रलाई आर्थिक सामाजिकरुपमा मात्र अपहेलना गरिएको छैन, ब्राम्हण र शुद्रले गर्ने एउटै अपराधमा समेत फरक किसिमको दण्ड विधान लागु गरी शुद्रलाई कठोर सजायको हकदार बनाइएकोछ ।
मनुले सबै श्रेष्ठ पद र अधिकार ब्राम्हणहरुको लागि आरक्षित गरिदिए । उनले ब्राम्हणहरुलाई सावधान गराउँदै भनेका छन् – ‘कथमकदाचित यदि शुद्र राजा भईहाल्यो भनेपनि ब्राम्हणहरु शुद्र शासित क्षेत्रमा बस्नु हुदैन ।’ शुद्रहरु प्रति ब्राम्हणहरुको चरम घृणाको भाव देखिन्छ । राज्यसत्ता ब्राम्हणको मात्र हुनुपर्छ भन्ने ब्यवस्था मिलाईदिने घोर जातिवादी मनु लेख्छन् –
सेनापत्यं च राज्य. च दण्डनेतृत्वमेव च ।
सवैलोकाधिपत्यं च वेदशास्त्रविर्हति ।। (मनुस्मृति १२/१००)
अर्थात – राज्यमा सेनापतिको पद, न्यायाधीश, शासनको अध्यक्ष पद, प्रत्येकमा शासन गर्ने अधिकार केवल ब्राम्हणको मात्र छ ।
त्रैविद्या हेतुकस्तर्की नैरुक्तो धर्मपाठकः ।
त्रयश्राश्रमिणः पूर्वे परिषत्स्याद्यशावरा ।। (मनुस्मृति १२/१११)
अर्थात–
केवल वेदज्ञाता दस ब्राम्हण मण्डली नै सभासद हुन सक्छ ।
जातिमात्रोवजीवी वा कामं स्याद्धाह्यणब्रुवः।
धर्मप्रवक्ता नृपेतेर्न तु शुद्रःकथंचन ।। (मनुस्मृति ८/२०)
अर्थात–
ब्राम्हण जात भएको कारणले मात्र पनि ब्राम्हण राजाको धर्म प्रवक्ता हुनसक्छ । तर शुद्र कहिल्यै हुन सक्दैन ।
आहरेत्त्रीणि वा द्धे वा कामं शुद्रस्य वेश्मनः।
न हि शूद्रस्य यज्ञेषु कश्चिदस्ति परिग्रह ।। (मनुस्मृति ७/७९)
अर्थात– यज्ञको निमित्त ब्राम्हणले शुद्रको धन खोसेर लिनसक्छ किनभने यज्ञसंग शुद्रको कुनै सम्बन्ध छैन ।
ब्राम्हणःसंभवेनैव देवानामपि दैवतम्र ।
प्रमाणं चैव लोकस्य ब्रह्मात्रैव हि कारण्म ।। (मनुस्मृति ११/८४)
अर्थात– ब्राम्हण उत्पत्ति देखि नै देवताको पनि देवता हो र संसारमा यसलाई प्रमाण मानिएको छ । वेद नै सबैभन्दा बलियो प्रमाण हो ।
मनु जातप्रथाको कट्टर समर्थक थिए । यही कारणले उनले आफ्नो विधान मनुस्मृतिमा दासप्रथालाई पनि संस्थागत गरिदिए । उनी लेख्छन्–
शुद्रं तु कारयेद्यास्यं क्रीतमक्रीतमेव वा ।
दास्यायैव हि सृष्टोस्सौ ब्राह्मणस्य स्वयंभुवा ।। (मनुस्मृति ८/४१३)
अर्थात– शुद्र चाहे खरिद गरिएको होस् या खरिद नगरिएको, उसले दास कर्म नै गर्नुपर्छ किनभने ब्राह्मणले दास कर्मकै लागि शुद्रलाई उत्पन्न गरेको हो ।
मनुले दास प्रथा भन्दा अगाडि बढेर अश्पृश्यता (छुवाछुत) लाई अनुमोदन गरे । दासलाई बरु हिंडडुल गर्न, खानपिनमा छुट दिए तर अश्पृश्यतामा मानिसलाई यो सारा सुविधाबाट बन्चित गरे । त्यसकारण दासप्रथा भन्दा पनि अपमानजनक अश्पृश्यता छ ।
न विप्रं स्वेषु तिष्ठत्सु मृतं शुद्रेण नाययेत् ।
अस्वग्र्या ह्याहुतिः सा स्याच्छूद्रसंस्पर्शदूषिता ।। (मनुस्मृति ५/१०४)
अर्थात–ब्राम्हणले आफ्नो शवलाई पनि शुद्रलाई स्पर्श गर्न दिनुहुदैन । किनभने शुद्रले छोयो भने शव पनि दुषित हुन्छ । मृतकलाई दिइने आहुतिले पनि स्वर्ग पुर्याउँदैन ।
अनार्यमार्यकर्माणमार्य चानार्यकर्मिणम् ।
संप्रधार्याब्रवीध्दाता न समौ नासमाविति ।। (मनुस्मृति १०/७३)
अर्थात– कुनैपनि ब्राम्हण कर्मले शुद्र र कुनै पनि शुद्र कर्मले ब्राम्हण हुन सक्दैन । अर्थात जन्मले नै ब्राम्हण र जन्मले नै शुद्र हुन्छ ।
शिक्षाबाट बन्चित पार्ने राजनीति
शिक्षाले चेतना दिने र त्यसले आफ्नो वर्चश्वमाथि प्रश्न उठाउने हुनाले हिन्दु धर्ममा शुद्रलाई ज्ञान आर्जनबाट पूर्णरुपमा बन्चित गरिएको छ । मनुस्मृतिमा भनिएको छः
न शूद्राष्मतिं दद्यान्नोच्छिष्टं न हविष्कृतम् ।
न चास्योपदिशेध्दर्मं न चास्य व्रतमादिशेत् ।। (मनुस्मृति ४/८०)
अर्थात– शुद्रलाई शिक्षा दिइनु हुदैन । शुद्रलाई कुनै व्रत या धर्मको उपदेश दिइनु हुदैन ।
यो ह्यस्य धर्ममाचष्टे यश्चैवादिशति व्रतम् ।
सोस्संर्वतं नाम तमः सह तेनैव मज्जति ।।(मनुस्मृति ४/९९)
अर्थात– शुद्रलाई शिक्षा दिने, शुद्रलाई व्रत बस्न अनुमति दिने ब्राम्हण नर्कमा जान्छ ।
नाविस्पष्टमधीयीत न शुद्रनसंनिधौ ।
न निशान्ते परिश्रान्तो ब्रह्माधीत्य पुनः स्वपेत् ।। (मनुस्मृति ४/९९)
अर्थात– ब्राह्मणले शुद्रको उपस्थितिमा वेद अध्ययन गर्नु हुदैन ।
गौतम धर्मस्मृति(१२/४) अनुसार यदि शुद्रले जानीबुझी वेद पढेको सुन्यो भने उक्त शुद्रको कानमा पग्लिएको शीशा हालिदिन, वेदको उच्चारण गरे जिब्रो काटी दिन र वेद कण्ठस्थ पारे घाँटी काटीदिन निर्देश दिएकाछन् । जसलाई वेद पढ्ने अधिकार थियो उसलाई नै शिक्षाको अधिकार थियो । त्यसैले के भन्न सकिन्छ भने शिक्षाको अधिकार हिन्दु धर्मका केही मुठ्ठीभर व्यक्तिलाई मात्र प्रदान गरियो ।
शुद्रलाई आर्थिक अधिकारबाट समेत बन्चित गरियो । उसलाई एउटा राम्रो घरमा बस्ने, मिठो खाने, राम्रो लगाउने अधिकारबाट समेत बन्चित गरियो । त्यस सम्बन्धमा मनुले गरेको ब्यवस्था र ब्याख्या यस्तो छ –
शक्तेनापि हिशूद्रेण न कार्यो धनसंचयः
शूद्रो हि धनमासद्य ब्राह्मणानेव बाधते ।।(मनुस्मृति १०/२९)
अर्थात–सक्षम भएर पनि शुद्रले धन संचय गर्नुहुदैन । शुद्रले धन पायो भने ब्राह्मणलाई सताउछ ।
विस्त्रब्धं ब्राह्मणः शूद्राहव्योपादानमाचरेत् ।
नहि तस्यास्ति किंचित्स्वं भर्तृहार्यधनो हि सः ।।(मनुस्मृति ८/४१७)
अर्थात– ब्राम्हणले निःसन्देह शुद्रको धन लिनसक्छ, किनभने शुद्रको आफ्नो केही पनि छैन, सबै धन उसको स्वामीको हो ।
शूद्रं तु कारयेद्यास्यं क्रीतमक्रीतमेव वा ।
दास्यायैव हि सृष्टोस्सौ ब्राह्मणस्य स्वयंभुवा ।। (मनुस्मृति ८/४१३)
अर्थ – ब्राह्मणले शुद्रलाई तलब दिएर अथवा नदिएर उसलाई दास कर्म गराउन सक्छ । किनभने ब्रह्माले ब्राह्मणको सेवाका लागि दासलाई जन्म दिएको हो ।
चण्डालश्र्वपचानां तु बहिग्र्रामात्प्रतिश्रयः ।
अपमात्राश्च कर्तव्या धनमेषां श्र्वगर्दभम् ।। (मनुस्मृति ८/४१३)
अर्थ – अछुत गाँउको बाहिर बसोस् । उसले कांस र पित्तलको भाँडाकुडा नराखोस् । माटोको भाँडोमा भोजन गरोस् । कुकुर गधा मात्र यिनीहरुको धन हो ।
उच्छिष्टमन्नं दातव्यं जीर्णानि वसनानि च ।
पुलाकाश्चैव धान्यानां जीर्णाश्चैव परिच्छदाः ।। (मनुस्मृति १०/१२५)
अर्थात– शुद्रलाई खानको लागि जुठो अन्न, लगाउनको लागि पुरानो वस्त्र तथा विछ्याउनको लागि धानको पराल अथवा फाटेको ओछ्यान दिइनुपर्दछ ।
वासांसि मृतचेलानि भिन्नभाण्डेषु भोजनम् ।
काष्र्णायसमलंकारः परिव्रज्या च नित्यशः ।।(मनुस्मृति १०/५२)
अर्थात– शुद्रले मुर्दाबाट निकालिएको कपडा लगाओस् । टुटेफुटेको भाडामा भोजन गरोस् । शुद्र महिलाले फलामको गहना लगाउन र उनीहरु एउटै स्थानमा स्थिर भएर नबसुन । सधैभरी एउटा स्थानबाट अर्को स्थानमा घुमफिर गरिरहुन । यही नै उनीहरुको वृति हो ।
यो लोभादधमो जात्या जीवेदुत्कृष्टकर्मभिः।
तं राजा निर्धनं कृत्वा क्षिप्रमेव प्रवासयेत् ।।(मनुस्मृति १०/९६)
अर्थात–जो अधम जाति(शुद्र) लोभवश उत्तम आजीविकाबाट जीवन निर्वाह गर्छ उसलाई राजाले निर्धन बनाएर शिघ्र देश निकाला गरिदिनुपर्छ ।
मनुस्मृतिले शुद्रलाई धार्मिक कार्य गर्नबाट समेत बन्चित गरेको छ ।
नाविस्पष्टमधीयीत न शूद्रजनसंनिधौ ।
न निशान्ते परिश्रान्तो ब्रह्माधीतय पुनः स्वपेत् ।। (मनुस्मृति ४/९९)
अर्थातः ब्राह्मणले शुद्रको उपस्थितिमा वेदको अध्ययन नगरोस् ।
ब्रह्म यस्त्वननुज्ञातमधीयानादवाप्नुया
स ब्रह्मस्तेयसंयुक्तो नरकं प्रतिद्यते ।। (मनुस्मृति २/११६)
अर्थात –गुरु अर्थात ब्राह्मणको आज्ञा बिना जसले वेद पढ्छ वा ज्ञान प्राप्त गर्छ ; उसले धर्मशास्त्रको चोरी गरेको अपराध मानिनेछ र त्यो व्यक्ति नरकको र यातनाको भागिदार हुनेछ ।
शरणागतं परित्यज्य वेदं विप्लाव्इ च द्धिजः।
सम्बत्सरं यवाहारस्तत्पापमपसेधति ।।
अर्थातः यदि कुनै ब्राह्मणले अनुचितरुपमा शुद्र र स्त्रीको अगाडि वेदको रहस्योद्घाटन गर्छ भने त्यसले त्यो पाप गर्दछ जसको प्रायश्चित उसले एक वर्षसम्म जौं को आहार गर्नुपर्नेछ ।
मनुको उद्धेश्य शुद्रलाई केवल अशिक्षित र निर्धन बनाउनु मात्र थिएन, बरु उनीहरुलाई जीवनभरको लागि तिरस्कारको पात्र समेत बनाइनु थियो । त्यसकारण मनुले शुद्रहरुको अनादरसूचक नाम समेत राख्ने प्रावधान बनाए ।
मङ्घल्यं ब्राह्मणस्य स्यात्क्षत्रियस्य बलान्वितम् ।
वैश्यस्य धनसंयुक्तं शूद्रस्य तु जुगुप्सितम् ।। (मनुस्मृति २÷३१)
अर्थात – ब्राह्मणको नामको पहिलो भाग मंगलसूचक, क्षेत्रीको वीरतासूचक,वैश्यको व्यापारसूचक तथा शूद्रको अमंगल र अनादरसूचक हुनुपर्दछ ।
शर्मवद्धाह्मणस्य स्याद्राज्ञो रक्षासमन्वितम् ।
वैश्यस्य पुष्टिसंयुक्तं शूद्रस्य प्रेष्यसंयुतम् ।। (मनुस्मृति २/३२)
अर्थातः ब्राह्मणको नामको दोस्रो भाग यस्तो होस् जसमा सुखको भाव निहित होस्, क्षेत्रीको नाममा रक्षा भाव, वैश्यको नाममा समृद्धिको भाव र शुद्रको नाममा दासत्व र सेवा भाव निहित होस् ।
जातपातले जकडिएको दण्डसंहिताः
मनुले शुद्रलाई शिक्षा, संपत्ति र शस्त्रको अधिकारबाट मात्र बन्चित गरेनन् उनले शुद्रकोलागि कठोर दण्ड सजायको समेत व्यवस्था गरे । मनुको दण्ड विधान वर्ण जाति आधारित थियो । यो क्रुर, विभत्स र जघन्य थियो । एउटै अपराधको लागि ब्राह्मण, क्षत्री, वैश्य र शुद्रलाई फरक दण्ड सजायको व्यवस्था थियो । ब्राह्मण मृत्युदण्डबाट मुक्त थियो ।
मौण्डयं प्राणानितको दण्डो ब्राह्मणस्य विधीयते ।
इतेरषां तु वर्णानां दण्डः प्राणान्तिको भवेत् ।। (मनुस्मृति ८/३७९)
अर्थात – ब्राह्मणको लागि मृत्युदण्ड बर्जित छ । यसको सट्टामा उसको कपाल खौरिदिने निश्चित गरिएको छ, तर अरु जातिहरुले मृत्युदण्ड भोग्नैपर्छ ।
मर्जारनकुलौ हत्वा चाषं मण्डूकमेव च ।
श्रगोधोलूककाकांश्च शूद्रहत्याव्रतं चरेत् ।। मनुस्मृति ८/४०)
अर्थातः बिरालो, नीलकंठ पक्षी, भ्यागुता, न्याउली, कुकुर, छेपारो, उल्लु र कौवाको हत्या समान शुद्रको हत्या हुन्छ । अतः यि जीवहरुको हत्या गर्दा जुन किसिमको प्रायश्चित हुन्छ त्यही शुद्र हत्यामा लागु हुनेछ ।
धर्मोपदेशं दर्पेण विप्राणमस्य कुर्वतः।
तप्तमासेचयेत्तैलं वक्रे श्रोत्रे च पार्थिवः।। (मनुस्मृति ८/२७२)
अर्थात – यदि कुनै शुद्रले अहंकारवश कुनै ब्राह्मणलाई उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा उम्लिएको तेल हालिदिनुपर्छ ।
एकजातिद्र्धिजातींस्तु वाचा दारुणया क्षिपन् ।
जिव्हायाःप्राप्नुयाच्छेदं जघन्यप्रभवो हि सः।। (मनुस्मृति ८/२७०)
अर्थात – शुद्रले यदि ब्राह्मणको निन्दा गर्छ, कठोर वचन बोल्छ भने उसको जिब्रो काटेर फालिदिनु पर्दछ किनभने उ जन्मले नै पाउबाट जन्मिएको निच हो ।
नामजातिग्रहं त्वेषामभिद्रोहेण कुर्वतः।
निक्षेप्योस्योमयः शंकज्र्वलन्नास्ये दशांगुल ।।(मनुस्मृति ८/२७६)
अर्थात – यदि शुद्रले तिरस्कारपूर्णरुपमा ब्राह्मणको नाम र वर्ण उच्चारण गर्छ भने त्यसको मुखमा दस अंगुल लम्बाइको फलामको छड हाली दिनुपर्दछ ।
अवनिष्ठीवतो दर्पाह्वावोष्ठौ छेदयेन्नृपः ।
अवमूत्रयतो मेढ्रमवशर्धयतो गुदम् ।। (मनुस्मृति ८/२८३)
अर्थात – यदि कुनै शुद्रले ब्राह्मणलाई थुक्छ भने राजाले उसको दुबै ओंठ, यदि पिशाब गर्छ भने लिङ्घ र पाद निकाल्छ भने मलद्धार काटिदिनुपर्छ ।
केशषु गृहण्तो हस्तौ छेदयेदविचारयन् ।
पादयोर्दाढिकायां च ग्रीवायां वृषणेषु च ।। (मनुस्मृति ८/२८३)
अर्थातः शुद्रले अभिमानतावस ब्राह्मणको टुप्पी, खुट्टा, दारी, गर्दन या अण्डकोश समात्छ भने राजाले कुनै बिचार नगरीकन त्यसको दुवै हात काटिदेउ ।
प्रेम र यौनः ब्राम्हाणलाई छाड, शुद्रलाई वध गर
शूद्रो गुप्तगुप्तं वा द्धैजातं वर्णमावसन् ।
अगुप्तमङ्घसर्वस्वैर्गुप्तं सर्वेण हीयते ।।(मनुस्मृति ८/३७४)
अर्थात – यदि शुद्र वर्णको कुनै व्यक्तिले ब्राह्मणको आरक्षित स्त्रीसंग व्यभिचार गर्छ भने राजाले त्यो व्यक्तिको लिङ्घ काटिदिएर सबै धनसंपत्ति खोस्नुपर्दछ । यदि शुद्रले रक्षित ब्राह्मणीसंग व्यभिचार गर्छ भने राजाले उसलाई प्राणदण्ड दिनुपर्दछ ।
कन्यां भजन्तीमुत्कृष्टं न किंचिदपि दापयेत् ।
जघन्यं सेवमानां तु संयतां वासयेद्धहे ।।(मनुस्मृति ८/३६५)
अर्थात – उत्तम जातिको पुरुषको साथमा सम्भोग गर्ने इच्छाले उसको सेवा गर्ने स्त्रीलाई दण्डित नगर ।
उत्तमां सेवमानस्तु जघन्यो वधमर्हति ।
शुल्कं दद्यात्सेवमानःसमामिच्छेत्पिता यदि ।।(मनुस्मृति ८/३६६)
अर्थातः उत्तम (ब्राह्मण)वर्णको कन्यासंग सम्भोग गर्ने नीच वर्णको पुरुष बध योग्य छ ।
मनु मात्र होइन उनका उत्तराधिकारीले समेत मनुको मिशनलाई अगाडि बढाउदै भेदभाव संस्थागत गर्ने थप विधि–विधान बनाए ।
अत्रिले अत्रिस्मृति/१९मा लेखे,
राजाले जप–होम आदि ब्रह्माणचोति कर्म गर्नेलाई मृत्युदण्ड दिनुपर्दछ ।
जसले आफ्नो धर्म त्यागेर अरुको धर्म ग्रहण गर्छ, त्यसलाई दण्ड दिने राजाले स्वर्गमा आदर पाउछ । यानी शुद्रले आफ्नो धर्म सेवालाई छोडेर पठन–पाठनको कार्य गर्न सक्दैन, यो अपराध हो । – अत्रिस्मृति १७/१८
अरु शास्त्र पनि उस्तै
शश्रृशैव द्धिजातीनां शूद्राणां धर्म साधनम् ।(कुर्म पुराण, अध्याय २, श्लोक ३८)
अर्थात,
शुद्रको लागि एकमात्र धर्मको साधन हो –द्धिजातिहरुको सेवा गर्नु ।
वर्णत्रयस्य शुश्रूषां कुर्याच्छूद्रः प्रयत्नतः
दास व ब्राह्मणानां च विशेषेण समा चरेत
आयाचितं प्रदातब्य कृषि वृत्त्र्थमाचरेत्
ग्रहाणां मासिक कार्य पूजनम न्यायधर्मतः
धार: जीर्ण वस्त्रस्य विप्रस्योंच्छिश्छतार्जनम् (श्रीनरसिंह पुराण, अध्याय ५८ श्लोक १०,११,१२)
अर्थातः शुद्रले यत्नपूर्वक यि तीन वर्णहरुको सेवा गरुन र ब्राम्हणहरुको त दासको रुपमा सेवा शुश्रूषा गरुन । कसैसंग मागेर होइन, आफ्नो कमाईबाट दान गरुन । आजिविकाको लागि कृषि कर्म गरुन । प्रत्येक महिनामा धर्म अनुसार ग्रहहरुको पूजा गरुन । पुरानो वस्त्र धारण गरुन । ब्राह्मणको जुठो खाऊन र ब्राह्मणको जुठो भाडा माझुन ।
द्धिजाति संश्रितं कर्म तादथ्र्य तेन पोणम
क्रय विक्रय जैर्वापि धनैः कारुभ्दवेन वा
शूद्रस्य सन्नतिश्शौचं सेवा स्वाभिन्य मायया । (विष्ण पुराण, तृतिय अध्याय, श्लोक ३२,३३)
अर्थात – द्धिजातिहरुको सेवा नै शुद्रको कर्तव्य हो । यसैबाट उनीहरुको प्रयोजन सिद्ध हुन्छ । यहि सेवाबाट आफ्नो पालन पोषण गरुन । आपतकालमा क्रय–विक्रय, कालिगढी कामबाट पनि आफ्नो आजिविका चलाउन सक्छन् ।
स्त्रीशूद्र द्धिजबन्धुनां त्रयी न श्रुति गोचरा ।
कर्म श्रेयसि मूठानां श्रेय एवं भवेदिह ।।( श्रीमद्भावत पुराण, अध्याय ४, प्रथमस्कन्ध,श्लोक २५)
अर्थात – स्त्री, शुद्र, पतित, यि तिनै जना वेद श्रवणका अधिकारी होइनन् । यसकारण कि यिनीहरुले कल्याणकारी शास्त्रोक्त कर्मको आचरण गर्न सक्दैनन् ।
विप्र ध्रुक्पतित व्रात्यश्वपाक यवनान्त्यजैः
उदक्यया वेद ब्राह्मौर्न वदेद्यः कथाव्रती ।। ( श्रीमद्देवीभागवत महापुराण्,अध्याय ५, श्लोक ४८)
अर्थातः विप्रद्रोही( ब्राह्मणको दुश्मन) पतित, संस्कारहीन, चाण्डाल, यवन, अन्त्यज, रजस्वता स्त्री र वेद विहिन मनुष्यहरुसंग कथाव्रतिहरुले कुरा गर्नु हुदैन ।
स्त्री शूद्र द्धिज बन्धुनां न वेदश्रवणं मतम् ।
तोषा मेव हितार्थाय पुराप्यानि कृतानि चं ।। (श्रीमद्देवीभागवत महापुराण, प्रथम स्कन्ध अध्याय ३,श्लोक २१)
अर्थातः स्त्री, शुद्र तथा भ्रष्ट द्धिजातिहरुलाई वेद सुन्ने अधिकार छैन । त्यसकारण उनीहरुको कल्याणको लागि वेदव्यासले पुराणको रचना गरेका हुन ।
यति मात्र होइन रामायण, महाभारत, गीता लगायतका जे जति हिन्दुहरुका धर्मशास्त्रहरु छन् ति सबैले धर्मका नाममा जातीय विभेदलाई संस्थागत गरेका छन् । त्यसैलाई श्रोत मानि राज्यले धर्मशास्त्रीय आधारमा कानुन बनाई त्यसलाई संरक्षण गर्ने काम गरेको छ ।
धर्मले शिानिर्देश गरेको नेपालको कानुन
नेपालमा मल्लकाल देखि नै मनुस्मृतिमा आधारित कानुन बनाएर राज्यले जात व्यवस्थालाई संरक्षण गर्यो । लिच्छवीकाल देखि धेरै थोरै जातव्यवस्थाको अभ्यास भएतापनि लिच्छवी शासकहरुले बौद्ध धर्मलाई समेत मान्यता दिएका र धेरै लिच्छवी राजाहरु बौद्धमार्गी भएकाले उनीहरुले जात व्यवस्थालाई राज्यको कानुन बनाएर लागु गरेनन् । तर मल्लकालदेखि भने यसलाई राज्यद्धारा नै पक्षपोषण गर्ने काम भयो । जयस्थिति मल्लले भारतबाट पाच जना ब्राह्मणहरु बोलाई मानव न्यायशास्त्रका नाममा अमानवीय कानुन बनाई काठमाडौं उपत्यकाको नेवार समुदायलाई चार वर्ण चौसठ्ठी जातमा विभाजन गरे ।
उता गोर्खाका राजा रामशाहले पनि जातमा आधारित शासन व्यवस्थालाई संस्थागत गरे । गोर्खाका राजा पृथ्वी नारायण शाहले विभिन्न राज्यमा बिभक्त भूगोललाई एकिकरण मात्र गरेनन् नेपाललाई असली हिन्दुस्तान बनाउने उद्धेश्यका साथ खसआर्य संस्कृतिलाई सबै जाति समुदायमा लाद्ने काम समेत गरे । कालान्तरमा उनका सन्तति राजा सुरेन्द्रले त्यो भन्दा एककदम माथि उठेर जात अनुसारको दण्ड सजायको व्यवस्था गर्दै वि.सं १९१० मा मुलुकी ऐन जारी गरे । लिच्छवी कालपछि मल्ल कालेखि पंचायत कालसम्मको अवधीलाई शुद्रहरुको दृष्टिकोणबाट हेर्दा कालो युग भन्दा अत्युक्ति नहोला । यस्तो बिभेदपूर्ण धर्मशास्त्रीय ब्यवस्थाले एउटा निश्चित जातिलाई माथि उठाउँदै लग्यो भने अन्यलाई तल झार्दे लग्ने काम गर्यो ।
राजा महेन्द्रले २०२० सालमा नया मुलुकी ऐन जारी गरेर जातमा आधारित दण्डसजायको प्रावधानलाई त हटाए तर जातप्रथा मान्नेलाई सजायको भागिदार नबनाएको हुंदा जातीय विभेद यथावत रहिरहयो । छुवाछुतको मनोविज्ञानबाट मान्छे मुक्त हुन सकेन । लोकतन्त्रको पुर्नबहालीसंगै जातमा आधारित विभेदलाई दण्डनीय बनाइएको छ तर परम्परागत संस्कारबाट ग्रसित नेपाली समाजले विभेदलाई अन्त्य गर्न सकेकोछैन ।
हिन्दु वर्णाश्रम धर्म विषमता (भेदभाव) मा आधारित धर्म हो जसमा समानता, स्वतन्त्रता र भातृत्वको कुनै गुन्जायस छैन ।
यो धर्ममा व्यक्तिको हैसियत सामाजिक प्रतिष्ठा र अधिकार जातको आधारमा तय हुन्छ । एउटा शुद्र जतिसुकै गुणवान होस्, नैतिकवान होस्, पढेलेखेको शिक्षित होस्, सम्पत्तिवाल होस् तर जब उसको जात अगाडि आउछ उसको हैसियत एउटा अपराधी ब्राम्हणको जतिको पनि हुदैन । हिन्दु धर्ममा एउटा अछुतको हैसियत घर पालुवा कुकुर जतिको पनि छैन । के यस्तो पनि धर्म हो र ? हिन्दुहरुले अछुतलाई हिन्दु धर्मको हिस्सा नै मान्दैनन् तर अछुतहरु भने जबरजस्ती यसभित्र समाहित हुन खोजी रहेका छन् । के यसले जातीय विभेदको अन्त्य गर्न सहयोग पुर्याउला ? छलफलको विषय बन्न अनिवार्य छ ।
(याे सामाग्री फ्री प्रेस नेपालबाट साभार गरिएको हो ।)
Leave a Reply