मीनबहादुर सुनारले भने ‘छोराले सबैको ज्यान बचायो’

दलित अनलाईन ५ भाद्र २०७७, शुक्रबार १२:४५

अछाम –  मंगलबार राती निकै ठुलो पानी परिरहेको थियो। मीनबहादुर सुनारको परिवार खाना खाएर सुतिसकेका थिए। मीनबहादुर सैनीबजारमा विगत १० वर्षदेखि सुनचाँदी व्यवसाय गर्छन्। पसल र बस्नका लागि टिनको छानो बनाईएका थियो। मुसलधारे पानी परेकाले टिनमा असिना परेको जस्तै आवाज आईरहेको थियो। मीनबहादुरको माईलो छोरा रोशन बाहेक सबै सुतिसकेका थिए। मीनबहादुरको ६ जनाको परिवार त्यही थियो। रोशन नसुतेर मोबाइल चलाएर बसेका थिए। रोशन नसुतेका कारणले मीनबहादुरको ६ जानको परिवारको ज्यान जोगिएको छ।

छिमेकी धनादेवी साउदको होटलमा पानी पसेको हल्ला रोशनले सुनेपछि सुतिरहेका सबैलाई हतार हतार उठाए। उनले भने ‘हामी सबै सुतिसकेका थियौँ, छिमेकीको पसलमा पानी पसेपछि भएको हल्ला सुनेर छोरो करायो ‘हत्तपत्त ब्यूझिँदा त आफ्नो पसलमा पनि दुई फिट जति पानी पुगिसकेको थियो, शरिरमा लगाएका लुगा समेत ल्याउन पाएनौं।’ मीनबहादुर छिमेकीले दिएको एकसरो लुगासहित ६ जनाको परिवार बोकेर बुधबार राती १ बजे रित्तो हात बान्नीगढी जयगढ गाउँपालिका-२ जनालीकोट फर्किएका छन।

मीनबहादुरले भने ‘हल्लाखल्ला सुन्नासाथै सबै भागेर ज्यान जोगायौ, पसलमा रहेको नगद, गरगहना र अरु सामान सबै बगे पनि भाग्यले सपरिवारको ज्यान जोगियो।’ मुसलधारे पानी परिरहेका बेला पसलभन्दा केहीमाथि पुगेर ज्यान जोगाएको उनले बताए। मंगलबार राति कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजार बगाएको छ। अहिले कैलाश सैनीबजार रहेको ठाउँमा कैलाश खोला बगेको छ। बाढीले स्थानीय नन्दसिंह साउदको सात जनाको परिवार पुरै बगेको छ। नन्दबहादुर सहित पत्नी गंगा,बुहारी कविता साउद, छोरा नविन, रुपेश, नातिनी प्राप्ति, र उनकी सासुआमा (नाम नखुलेको)लाई बाढीले बगाएको छ। यसैगरी अम्मर शाह,शाहकी पत्नी पबित्रा,छोरा समिरलाई पनी बाढीले बगाएको हो। चन्द्र साउद,साउदकी पत्नी बसु साउद, अन्य स्थानीयहरुमा गौरी शाह,सम्झना शाह,जोगा साउद,लालसरा शाही र उनका छोरा बसन्त रहेका छन्।

बाढीले बगाएका मध्ये ६ जनाको शव बुधबार दिउँसो फेला परेको छ। ६ जना मध्ये ३ सैनीबजारका १५ वर्षीया नवीन साउद, ३२ वर्षीया गौरी शाह र ४८ वर्षीया चन्द्र साउद छन। अन्य तीन जनाको सनाखत हुन बाँकी छ। ११ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको हो। अहिले पनी खोजी कार्य जारी रहेको उनले बताए।

बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank