गृहमन्त्रीसित वार्ता गर्ने भन्दै धर्नामा बसे पूर्व सांसद विश्वेन्द्र पासवान

दलित अनलाईन १३ भाद्र २०७७, शनिबार २३:४६

रौतहट—रौतहटमा गत साउन ३१ मा भएको निरन्जन हत्याकान्ड पछि पक्राउ परेका विजय रामको प्रहरी हिरासतमा मृत्यु भएको घटनाले राजनैतिक मोड लिन थालेको छ । पूर्व सांसद विश्वेन्द्र पासवानले दुई दलितको हत्यामा रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसमेत माथि कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडि धरनामा बसेपछि मुदाले राजनीतिक रुप लिन थालेको हो ।

शुक्रबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको सर्वपक्षीय निर्णय आफूलाई थाहा नभएको र आफूले नमान्ने बताउँदै प्रमुख जिल्ला अधिकारीसित वार्ताको कुनै औचित्य नभएको भन्दै गृहमन्त्रीसित वार्ता गर्नुपर्ने र प्रधानमन्त्रीले पनि सरोकार राख्नुपर्ने बताएका छन् ।

एक दलितको हत्या भएपछि बलजफ्ती अर्का निर्दोषलाई निर्ममतापूर्वक प्रहरी हिरासतमा कुटेर नै उपचारको क्रममा मृत्यु भएको देखिएकोले यसमा सुरक्षा प्रमुखसमेत दोषी भएको आरोप पासवानको रहेको छ । गृहमन्त्रीले वार्तामा बसेर दुई दलित हत्याको दोषीलाई सजाय नहुँदासम्म आफ्नो अनिश्चितकालीन धर्ना जारी रहने पासवानको भनाइ छ ।

धरनामा बस्नुअघि पासवानले जुलुस प्रदर्शन गरेका थिए । जुलुस प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिल्लाका सिडिओ र एसपि पनि दोषी रहेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोलाई बचाउने प्रयासमा भगाएको आरोप पनि लगाएका थिए ।

एक जना दलितको हत्या र अर्को दलित युवकको प्रहरी हिरासतमा मृत्यु हुँदासम्म महतो इप्रका गरुडाका इन्चार्ज थिए । डिएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ । घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने माग राख्दै दलितहरूले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

दुई हप्तापहिले निरन्जन रामको घाँटी रेटेर हत्या भएपछि नै दोषीलाई प्रहरीले बचाउन खोजेको र निर्दोषलाई फसाउन खोजेको भन्दै दलितहरुले प्रदर्शन गर्दै आएका छन् । झन् प्रहरी हिरासतमै विजय रामको हत्या भएपछि दलितहरु आक्रोशित भएका छन् ।

दलितका विभिन्न संघसंस्था तथा विभिन्न राजनैतिक दलका दलित नेताहरुले पनि हिरासतमा मृत्यु भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र निरन्जन रामको हत्या गराउने योजनाकारलाई प्रहरीले पक्राउ गर्नुपर्ने माग गर्दै आएका छन् ।

निरन्जन रामको हत्याको योजना बनाउनेहरुसमेतको नाम राखेर किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी लिन नमानेको र निर्दोषलाई कुटेर बलजफ्ती हत्याको आरोप स्वीकार गर्न लगाएको आरोप प्रहरीमाथि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank