जब त्यो ठूलो घण्टको आवज
झङ्क्रित हुन्छ मन्दिरको मूल ढोकामा
मेरा जिज्यूबाजेदेखि मसम्मको
जीवन सुसाउँछ
मेरा अङ्ग अङ्गमा
नदीजस्तै बग्दै बग्दै
पुजारी बाजे
तिमीले सबेरै बजाउने घण्ट
मेरा जिज्यूबुबाले बनाएका हुन् नि
पुस्तौ पुस्तासम्म पनि
कति मधुर, कति प्रिय आवज !
त्यो घण्ट मन्दिरलाई सुम्पिएर
मेरा जिज्यूबुबा पर डिलमा
परालको मुठोमाथि बसेर
तिम्रा बाजे, जिज्यूबाजेहरूले
त्यसलाई पटकपटक ढोगेको,
अक्षता र फूलले पुजेकोे हेर्दै
मन्दिरको भएपछि आफ्नो घण्ट
घर फर्किएका थिए
पातमा पोको पारेर हु¥याइदिएको
अलिकति प्रसाद बोकेर
आफ्नै बाबुले कुँदेकी
मन्दिरभित्रकी महादेवीलाई सम्झदै सम्झदै ।
साँझमा तिमीले
मन्दिरका चारकुनामा बाल्ने दियोहरू
मेरा हजुरबाले जोडेका हुन् नि
तिनै दियोहरूले मन्दिर झलमल्ल देख्दा
उज्यालो ज्योति जगमगाएछ उनको मनभित्र पनि
खुसीले पागल झै भएछन्
बिर्सिएछन् आफ्नो औकात र पुगेछन्
दियोहरूलाई झण्डैझण्ढै सुमसुम्याउन
बाजे थाहा छ तिमीलाई
त्यसबेला भक्त र पुजारी गुरुहरूले
लामो लठ्ठीले धपाएका थिए मेरा हजुरबालाई
महादेवीको शीरको ताज र घाँटीको हार
मेरै बाले बनाएका हुन्
तिमी पनि थियौ नि बाजे
आफ्नै हातले कुँदेका गहनाले
धपक्कै बलेकी महादेवीको दर्शन गर्न
ढोकाभित्र मुन्टो निहुराएर घोप्टिदा
भित्रबाट घण्टीको झटारो
कसले पो हानेको थियो ?
तप् तप् झरिरहेका
रगतका थोपाहरु पुस्दै
माडेर पाती बाको घाउमा लगाउँदाको बास्ना
अझै मेरा हातहरूमा मगमगाइरहेको छ
टाउकाको चोटले बेसुरा भएका मेरा बालाई
देवीको श्रापले बौलायो पनि त भनियो !
मेरा बा निको नभइ मर्दा
पापले नै म¥यो पनि त भनियो
मेरी नातिनी आज रुँदै
मेरो आरन छेउमा आएर भन्छे
“हजुरबा मलाई कक्षामा सँगै नबस् भन्छन्
मलाई मन्दिरमा पनि नपस् भन्छन्”
बाजे π समय त धेरै अगाडि बढिसक्यो भनेको हैन र ?
तर किन समय मेरा पुर्खादेखि
मेरी नातिनीसम्मको छेकाबारलाई
हामीसँगै राखेर अगाडि बढ्यो
अब समयलाई रोकेर मिलाउनै पर्ला त्यो मुद्दा !
बोलन बाजे किन चूप लाग्यौ ?
इलाम ।
Leave a Reply