धनुषा- आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ।
मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीलाई रु साढे तीन लाखको दरले चेक हस्तान्तरण गरेका छन्। सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुँयालसहितको उपस्थिति रहेको थियो।
छात्रवृत्तिमा नाम निकाली नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।
प्रदेश सरकारको आर्थिक सहयोग पाउनेमा छिन्नमस्ता गाउँपालिका–२ का दिनेश मरिक डोम, सर्लाही ईश्वरपुर नपा–१ का रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन्। दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढ्ने पहिलो व्यक्ति हुन् भने रुकेशकुमार राम र प्रमोदकुमार राम दाजुभाइ हुन्।
यसैबीच उपचार खर्चको आभावमा अपाङ्ग भएका महोत्तरी पिपराका शम्भु मिश्रलाई प्रदेश सरकारले उपचारका लागि रु ५० हजार उपलब्ध गराएको छ। रासस
Leave a Reply