काभ्रे — काभ्रे जिल्लाको पाँचखाल नगरपालिका ७ सिराम पाटीका हर्क बहादुर परियारको परिवारलाई वडाअध्यक्षले विभेद गरेका छन् ।
वडाअध्यक्ष पुष्कल ढकालले सार्वजनिक रुपमा प्रयोग गर्न निर्माण गरिएको क्रियापुत्री भवन दलितहरुले प्रयोग गर्न नमिल्ने भनी जातीय रुपमा विभेद गरेका हुन् ।
साउन ४ गते बाबु हर्कबहादुर परियारको मृत्यु भएको खबर वडाअध्यक्ष ढकाललाई छोरा शुम्भ परियारले जानकारी गराउँदै सबैले प्रयोग गर्दै आएको क्रियापुत्री भवनमा आफुहरु बस्नका लागि अनुरोध गर्नुभएको थियो । तर वडाअध्यक्ष ढकालले हिजोको रितिरिवाज अनुसार अर्कै व्यवस्था भए पनि अझै सबैले दलित समुदायलाई स्वीकार गर्न नसक्ने भन्दै क्रियापुत्री भवन प्रयोग गर्न नमिल्ने बताएको बाबुको क्रिया बस्दै गर्नुभएका छोरा शम्भु परियारले बताउनुभयो । ‘वडाअध्यक्ष ज्यूलाई फोन गरेर क्रियापुत्री भवन प्रयोग आग्रह गराैं ,तर उहाँले दलित समुदायलाई अझै सबैले स्वीकार गर्न गाह्रो मान्ने भन्दै प्रयोग गर्न दिनुभएन । ’
वडाअध्यक्षले फोनमा भवन आफुहरुले प्रयोग गर्ने विषयमा अरुसँग छलफल गर्नुपर्ने भन्दै भवन प्रयोग नगर्न र पालको व्यवस्था गरिदिने कुरा गरेको शम्भु परियारले बताउनुभयो ।
आफुलाई शम्भु परियारबाट फोन आएको स्वीकार गर्दै वडाअध्यक्ष ढकालले दलित समुदायलाई हिजो सबैले गर्ने व्यवहारको कुरा गरेको र जातीय आधारमा भवन प्रयोग गर्न नमिल्ने भनेको कुरा गलत भएको बताउनुभयो । ‘मैले फोनमा त्यस्तो भनेको जस्तो लाग्दैन, मलाई जहाँ लगे पनि जान्छु । ’
आफुले जातीय आधारमा नभनेको दावी गर्दै सिडियो कार्यालय लगायत सबै ठाउँहरुमा उपस्थिति भएर प्रतिवाद गर्न सक्ने जिकिर गर्नुभयो ।
वडाअध्यक्ष पुष्कल ढकालले सार्वजनिक रुपमा प्रयोग गर्न निर्माण गरिएको क्रियापुत्री भवन दलितहरुले प्रयोग गर्न नमिल्ने भनेर अभिव्यक्ति दिनु नै गलत भएको दलित महिला संघ काभ्रेकी अध्यक्ष मैया रोकायले बताउनुभयो । उहाँले सिधा दलित समुदायमाथि विभेद गर्नुभएको छ , उहाँमाथि कारबाही हुनुपर्छ । ’
रोकायका अनुसार सोमबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा वडाअध्यक्ष पुष्कल ढकालविरुद्ध जातीय विभेद तथा छुवाछूत सम्बन्धी जाहेरी दर्ता भएको छ ।
डिएसपी यो भन्नुहुन्छ
आफुहरुलाई वडाअध्यक्षबाट जातीय विभेद भएको भनि जाहेरी दर्ता भएपछि आफुले मंगलबार वडाअध्यक्षलाई बोलाएर छलफल गर्ने जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी महेन्द्र मरासीनीले बताउनुभयो । ‘मलाई घटनाको पहिला जानकारी थिएन, आज जाहेरी दर्ता भएपछि घटनाको अनुसन्धान सुरु भएको छ ।’ वडाअध्यक्ष ढकालबाट जातीय आधारमा विभेद गरेको पाइएमा कानुनी दायरामा लिइ कारवाही गर्ने बताउनुभयो ।
Leave a Reply