अपमानजनक शब्द राखेर नागरिकता जारी राख्नु दमनको परकाष्टा हो :अधिकारकर्मीहरु

दलित अनलाईन २५ श्रावण २०७९, बुधबार २०:०८

काठमाडौं — नागरिकतामा अपमानजनक शब्द राखेर नागरिकता जारी राख्नु दमनको परकाष्टा भएको भन्दै दलित अधिकारकर्मीहरुले आपक्ति जनाएका छन् ।

बुधबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै नागरिकतामाअपमानजनक शब्द राखेर नागरिकता जारी राख्नु दमनको परकाष्टा भएको भन्दै दलित अधिकारकर्मीहरुले आपक्ति जनाएका  हुन् ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता लिने व्यक्तिलाई मात्र नभएर त्यसको असर तीनका पुस्तौपुस्तासम्म पर्ने बताएका हुन् । उनले जथाभावी नाम राखेर नागरिकता दिने प्रवृत्तिको विरुद्ध अब सबैले आवाज उठाउनु पर्नेमा जोड दिए ।

उनले भने,‘देशमा हामी सभ्य छौ भन्नेहरुले नागरिकतामा अपमानजनक शब्द राखेर नागरिकता जारी राख्नु दमनको परकाष्टा हो । यो अन्तहिन दमनको प्रतिक हो ।’ उनले यो प्रवृत्तिले नागरिकता लिनेलाई मात्र हैन् उसको पुस्तौपुस्तासम्म असर गर्ने बताए । जीवनका हरेक मोड, प्रशासनिक काममा नाागरिकता चाहिने भन्दै उनले नागरिकतामा उल्लेख गरिएका नाम उच्चारण गर्न पनि नसक्ने खालको भएको भन्दै खेद प्रकट गरे । उनले आयोगले २०५२ सालदेखि नै नागरिकतामा राखिएको थरको जात सच्चाउनको लागि संशोधनको व्यवस्था अनुसार कुरा उठाउँदै आएको सुनाए ।

गृहमन्त्रालय, राष्ट्रिय दलित आयोग, प्रतिनिधी सभाका संसद, राष्ट्रिय सभाका सांसद, सरकार सबै मिलेर यसको दिर्घकालिन रुपमा समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सभाका सांसद भुवन सुनारले एउटा मानिसलाई कुकुर सरह बनाइनु दलितहरुप्रति अपमान गरेको बताए । अपमानजनक कुरा कसैले सहन नसक्ने उनको भनाई थियो । उनले भने,राष्ट्रिय दलित आयोग आज सडकमा उत्रनुपर्ने थियो । दलितका भातृसंगठनहरु चुप बस्न हुन्नथ्यो, चाडो एक्सनमा जानुपर्थ्यो । किन सबै मौन छन्’ दलित नेताहरु चलखेलमा लागेकाले उनीहरुका मुद्दा अघि नबढेको उनले दाबी गरे । उनले नागरिकतामा उल्लेख भएका शब्दले मानवियता संवेदनामा चोट पुगेको बताए । त्यसको लागि दलित समुदायलाई सरकारले क्षतिपुर्ति दिनुपर्ने माग अघि सारे । एक स्थानका दलित समुदायका व्यक्तिहरुलाई समस्या परेपछि अन्य स्थानका दलितहरु मौन बस्न नहुने उनले तर्क गरे ।

प्रतिनिधी सभा सदस्य अन्जना बिसुन्खेले प्रहरी प्रशासन र राज्यको निकायबाटै दलितहरु मारिनुपर्ने अवस्था आएको बताइन् । उनले भनिन्,‘गाउँगाउँमा प्रहरी प्रशासन हुँदा पनि दलितहरु रेटिनुपर्ने अवस्था छ । यस घटनाले सबैको शिर निहुराएको छ ।’ दलितका मुद्दामा राज्य सत्ताको बागडोर चलाउने प्रहरी, न्यायालय, समाजसेवी लगायत राज्यभित्र रहेका विभिन्न निकायहरु आज नतमस्तक देखिएको उनले टिप्पणी गरिन् । सबैलाई समान पुहँच बनाउन हरेक स्थानमा आरक्षणको व्यवस्था गरिएको भएपनि आफुलाई सचेत भनिने व्यक्तिहरुले नै जातजातिलाई नभई गरिबलाई दिनुपर्ने आवाज उठेको भन्दै आपक्ति जनाइन् ।

प्राइम टेलिभिजनका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले दलितहरुको मुद्दामा जति बहस गरेपनि निश्कर्षमा पुग्न नसकेको स्वीकार गरे । उनले भने,‘संविधानमा लेख्छौ, ऐन कानुन सबै बनेको छ । तर त्यो कार्यान्वयन हुँदैन । हाम्रो देशमा अहिलेसम्म दलितहरुले नेतृत्व गर्न पाएका छैनन् ।’

सरकारदेखि संसदसम्म दलितहरु जसरी उपस्थित हुनुपर्ने भएपनि त्यसरी उपस्थित हुन नसकेको उनले

टिप्पणी गरे । उनले नेताहरुले चुनावका लागि दलितहरुलाई भर्याङ बनाएपनि सत्तामा पुगेपछि दलितका मुद्दामा बेखबर बन्ने गरेको भन्दै आपक्ति जनाए । नेपालमा भएका हरेक आन्दोलनमा दलितको भुमिका भएको भन्दै दलितहरुको सहयोग र समर्थन बिना नेपालको विकास असम्भव हुने उनको भनाई थियो ।
उनले आगामी चुनावमा दलितहरुलाई उम्मेदवार बनाउन समेत दलहरुलाई आग्रह गरे । नागरिकता प्रकरणबारे बोल्दै धमलाले नागरिकतामा प्रयोग भएका शब्दले आफ्नो मन रोएको सुनाए । उनले जथाभावी नाम लेखेर नागरिकता दिने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरे । दलितहरुको पक्षमा सहकार्य गर्ने भन्दै उनले जस्तोसुकै परिस्थितीमा पनि दलित समुदायलाई साथ दिन आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, पत्रकार बाबुराम बिश्वकर्माले मिडियामा आएका ‘कुकुर कामी, कुुकुर्नी कामी’ लेखेर राज्यले नै दलितलाई अपमान गरेको टिप्पणी गरे । लामो समयदेखि दलितलाई राज्यले नै हेप्दै आएको उनले धारणा राखे । नागरिकताको विभेदबारे गृहमन्त्रालयले निकालेको प्रेश विज्ञप्तीको कानुनी हैसियत माथि उनले प्रश्न उठाए । ‘नागरिकतामा भएको नाम सच्याउन सम्भव छ कि छैन् यो एउटा महत्वपुर्ण प्रश्न छ । अर्को पाटो विज्ञप्ती प्रकाशित गर्दैमा दलितका समस्या समाधान हुन्छन त ? यी नाम हुनेहरुको ३ पुस्ताको कुन हालत होला त्यतातिर ध्यान दिनुपर्छ । उनीहरुलाई परेको मानसिक क्षति, मानसिक हिंसाको हिसाब किताब के हो ? उनीहरुको के छ अवस्था कसरी बाचेका छन् ती समुदाय त्यसको बारेमा पनि राज्यले सोचनुपर्यो ।’ उनले भने,‘झिल्के कामी, दोबाटे कामी, जस्ता यी नामहरु दलित आफैले नराखेर गाउँका टाठाबाठाहरुले संगठित रुपमा यस्ता नाम राखेर अपराध गरेका हुन् । यो अपराधको छानबिन हुनुपर्छ ।’ यस्ता अपराधमा तलदेखि माथिसम्मका दोषीहरुलाई पुर्ण रुपमा दण्डित गर्नुपर्ने भन्दै पीडितहरुलाई क्षति दिनुपर्ने उनले माग गरे ।


त्यस्तै, सामाजिक अभियन्ता प्रदीप परियारले २१ औं शताब्दीमा मानिसको नाम कुुकुर राखेको सुन्दा आफुलाई निकै दुख लागेको सुनाए ।
उनले रुकुम पश्चिमको आठबिसकोटमा एक पुरुषको नागरिकतामा ‘गु खाने कामी’ लेखिएको भन्दै त्यसमा आपक्ति जनाए । दलित समुदायप्रति नागरिकतामा गरिएको अपमान नेपाली समाजको विडम्बना भएको उनको भनाई थियो ।

राज्यले नागरिकताको विषयमा दलित समुदायलाई क्षतिपुर्ति दिनुपर्नेमा उनले जोड दिए । ‘गृहमन्त्रालयले प्रेश विज्ञप्ती निकालेर समस्याको समाधान हुँदैन्, नागरिकतामा भएको नामकै कारण व्यक्ति र ती व्यक्तिका परिवारले ३० वर्षसम्म असर भोग्नुपर्छ । जसले भोगेको छ उसलाई मात्र त्यसको पीडा थाहा हुन्छ ।’ राज्य प्रहरी, सेना, पत्रकार, कर्मचारी तन्त्र यी सबै राज्यका हुन भन्दै उनले देशका विभिन्न निकाय अंगहरु दलित समुदायको लागि हुन नसकेका बताए ।

देश दलितको पक्षमा नभएको भन्दै उनले नेपाल सबैको लागि बनाउने हो भने नेपालका विविधता सबैमा झल्कनुपर्ने धारणा राखे । देशभर १३ प्रतिशत दलितको जनसंख्या रहेको उल्लेख गर्दै गत स्थानीय तहको निर्वाचनमा १ प्रतिशत मात्र दलित समुदायको उपस्थिति भएको उल्लेख गरे । उनले भने,‘१ प्रतिशत उपस्थिति विडम्बना पुर्ण हो, नेपाली समाज अघि बढ्छ भन्ने कल्पनाको विरुद्ध हो । जबसम्म दलितको राज्यमा प्रतिनिधित्व हुँदैन् तबसम्म यस्ता समस्या आइरहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank