विराटनगरको सानदार जित

दलित अनलाइन मंसिर २, २०८२

काठमाडौँ —न्युजिल्यान्डका स्टार खेलाडी मार्टिन गप्टिल र लोकेश बमको अर्धशतक मद्दतमा नयाँ कीर्तिमान बनाउँदै विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा सानदार विजयी सुरुवात गरेको छ। दुई खेलाडीबीच शतकीय साझेदारी तथा एनपिएलकै कीर्तिमानी खेलमा विराटनगरले पोखरालाई ५३ रनले पराजित गरेको हो।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कीर्तिमानी २२१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा पोखराले १८.५ ओभरमा अल आउट हुँदा मात्र १६७ रन बनायो।

खेलभर तीन अर्धशतक बने। पहिलो इनिङ्समा गप्टिल र लोकेशले अर्धशतक बनाउँदा पोखराका मार्की तथा कप्तान कुशल भुर्तेलले पनि अर्धशतक बनाए। यही खेलमा विराटनगरले कीर्तिमान बनाएको हो। एनपिएलको इतिहासमा पहिलोपटक दुई सय रन पूरा भएको छ। त्यस्तै, एकै इनिङ्समा बनेको यो नै सबैभन्दा धेरै रन हो। विराटनगरले आफ्नै कीर्तिमान भंग गरेको छ। यसअघि पहिलो संस्करणमा पनि विराटनगरले लुम्बिनीविरुद्ध कीर्तिपुरमै १९३ रन बनाएको थियो।

यो जितसँगै विराटनगरले पहिलो खेलमै २ अंक जोडेको छ। पोखराको भने हारबाट प्रतियोगिता सुरु भएको छ। आज नै भएको पहिलो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले हराउँदै विजयी सुरुवात गरेको छ।

विशाल लक्ष्य पछ्याएको पोखराको लागि कप्तान कुशल भुर्तेलले अर्धसतक बनाए। उनले ३१ बलमा सर्वाधिक ५९ रन बनाएका हुन्। पाँच चौका र ४ छक्का हिर्काएका भुर्तेललाई मर्चन्ड डि लिग्नेले विकेटकिपर लोकेस बमबाट क्याच गराएका थिए। एडाम रोसिंघटनले २१ बलमा ३९ रन बनाए। पाँच चौका र दुई छक्का हिर्काएका उनलाई अमेरिकन अलराउन्डर शुभम रन्जनेले एलबिडब्लु धरापमा पारेका थिए।

विराटनगरका कप्तान तथा मार्की सन्दीप लामिछानेले सातौं ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि पोखरा दबाबमा आएको थियो। उनले आफ्नो पहिलो ओभरमै आक्रामक ब्याटर जेमी निसमलाई गोल्डेन डकआउट गराए। ७.२ ओभरमा आफ्नै बलमा सन्दीप आफैले क्याच आउट लिएपछि पोखरा दबाबमा आएको थियो। दुई बलपछि नै चौथो विकेटको रुपमा तृत राज दासलाई आउट गर्दा पोखराले मात्र ८९ रन जोडेको थियो।

डान डाउथवेटले २० बलमा २९ रनको योगदान गरेका थिए। किरण ढगुन्ना १३ बलमा ८, अभिषेक तिवारीले ११ रन बनाए। ओपनर दिनेश खरेल पनि मात्र ७ रन बनाएर आउट भएका थिए।

विराटनगरको लागि सन्दीपले, प्रतिश जिसी, रन्जने र मर्चन्ट डि लिग्नेले समान दुई विकेट लिए। बसिर अहमदले एक किेट लिएका हुन्।

यसअघि विराटनगरको लागि मार्टिन गप्टिल र लोकेश बम दुबैले अर्धसतक बनाएपछि ठूलो स्कोर बनेको थियो। १.२ ओभरमा जर्ज मुन्सेलाई गुमाएको विराटनगरको लागि गप्टिल र लोकेशले दोस्रो विकेटको लागि एक सय ३२ रनको साझेदारी गरेका थिए।

ओपनर लोकेशले सर्वाधिक ७२ रन बनाए। उनले ४८ बलमा १ चौका र ७ छक्का हिर्काएका थिए। लोकेशले ५ छक्कासहित ३७ बलमा अर्धसतक पूरा गरेका हुन्। उनी कुशल भुर्तेलको बलमा वैकल्पिक फिल्डिर अर्जुन कुमालबाट क्याच आउट भएका थिए।

तेस्रो नम्बर क्रिजमा आएका गप्टिलले आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए। ३५ बलमा ३ चौका र ५ छक्का हिर्काएका गप्टिल सागर ढकालको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुन पुगेका थिए। यसअघि गप्टिलले २८ बलमा तीन चौका र ४ छक्कासहित २८ बलमै अर्धसतक प्रहार गरेका थिए।

बसिर अहमदले १२ बलमा समान एक चौका र छक्कासहित २३ रनको योगदान गरेका थिए। अमेरिका शुभम रन्जनेले १६ बलमा तीन चौका र २ छक्कासहित ३८ रन बनाएका हुन्। नारायन जोशीले ३ बलमा अविजित ११ रन बनाएका थिए।

पोखराको लागि म्याट टेलरले सर्वाधिक दुई तथा सागर ढकाल, कुशल भुर्तेल र आकाश चन्दले समान एक विकेट लिएका हुन्।

विराटनगरमा अनुबन्ध भएका स्टार अर्का दक्षिण अफ्रिकाका खेलाडी फाफ डु प्लेसिस भने पहिलो खेलमा उपलब्ध भएनन्। उनी अन्तिम चरणमा खेल हेर्न नेपाल आइपुग्ने बताइएको छ।

प्रतियोगितामा बुधबार एक मात्रै खेल हुनेछ। साविक उपविजेता सुदूरपश्चिम र काठमाडौं प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम पहिलो खेल खेल्दा काठमाडौ लगातार दोस्रो जितको खोजीमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank