दैलेख — आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ। बलात्कारको आरोपमा किशोरीका बाबुलाई नियन्त्रणमा लिइएको छ।
बालिका एक बर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिका आफ्नै बाबुबाट बलात्कृत भएको खुलेपछि ४९ बर्षिय किशोरीका बाबुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आरोपी किशोरीका बाबुविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए। पक्राउ परेका बाबुले आफ्नै छोरीलाई २०८२ साउनबाटै बलात्कार गरिरहेको प्रहरी अनुसन्धानमा खुलेको छ।
पीडित बालिकाकी आमाले दिएको बयान अनुसार छोरीमाथि बलात्कार भइरहेको जानकारी पाए पनि श्रीमानले मार्ने धम्की दिएपछि घटनाबारे भन्न सकेकी थिइनन्। आर्थिक विपन्नताका कारण किशोरीकी आमाले दैनिक कमाउन जानु पर्ने र घरमा बाबुले दैनिक जाँड रक्सी खाएर आफू र छोराछोरीलाई कुटपिट गर्दै आएको आमाको बयान छ। बालिकालाई दैलेखस्थित एक सामाजिक संस्थाको संरक्षणमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।
आफ्नै बाबुको बलात्कारको शिकार बनेकी किशोरीले बाबुको डरले घटनाबारे कतै भन्ने नसकेको बताएकी छिन्। गत साउन महिनादेखि नै छोरी बलात्कारमा परेको बालिकाकी आमाको बयान छ।
‘म महिनावारी भएको बेला छाउगोठमा सुतेको थिएँ। छोरीहरू बाबुसँग सुतेका थिए। त्यहीबाट बाबुको कुकृत्य सुरु भएछ,’ किशोरीकी आमाको बयानमा उल्लेख छ। १२ वर्षीया छोरीमाथि आफ्नै बाबुले त्यस्तो गर्लान भन्ने कल्पना पनि नगरेको उनले बताएकी छन्।


























Leave a Reply