जसपा नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक

दलित अनलाइन फाल्गुन १, २०८२

काठमाडौँ —    जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ।

‘सङ्घर्षसँगै समृद्धितर्फ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको घोषणा–पत्रमा पार्टीले संघीयता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ।

पार्टीले विगतका राजनीतिक आन्दोलन, दशवर्षे सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश जनविद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

Nic asia bank

संविधानमा रहेका त्रुटि सच्याउँदै राज्यको संघीय पुनर्संरचना, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ।

घोषणा–पत्रमा वर्तमान राजनीतिक अवस्थाप्रति असन्तोष व्यक्त गर्दै अस्थिर गठबन्धन, सिद्धान्तहीन राजनीति र बढ्दो भ्रष्टाचारले नागरिकको विश्वास कमजोर बनाएको आरोप लगाइएको छ। आर्थिक क्षेत्रमा सार्वजनिक ऋण वृद्धि, रेमिट्यान्समा निर्भरता, घरेलु उत्पादनमा गिरावट र बढ्दो युवा बेरोजगारीलाई गम्भीर चुनौतीका रूपमा औंल्याइएको छ।

जसपा, नेपालले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने, न्याय प्रणालीलाई सुलभ र प्रभावकारी बनाउने तथा युवालाई देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ। सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य स्थापना, सहभागितामूलक समावेशी लोकतन्त्र सुदृढीकरण र सुशासनमार्फत आर्थिक सामाजिक न्यायसहितको समतामूलक समृद्धि हासिल गर्ने लक्ष्य अघि सारिएको छ।

पार्टीले राष्ट्रिय÷जातीय पहिचानसहितको संघीयता संस्थागत गर्दै समाजवादी अर्थ राजनीतिक कार्यदिशा लागू गर्ने बताएको छ। समानुपातिक निर्वाचन प्रणालीलाई बलियो बनाउँदै सीमान्तकृत समुदाय आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, पिछडावर्गलगायतको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवद्धता पनि जनाएको छ।

जसपा, नेपालले ‘छाता’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्दै घोषणा पत्रमार्फत देशलाई समावेशी विकास र दिगो समृद्धिको दिशामा अघि बढाउने दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank