शिवराज भट्ट
कैलाली –दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा प्राण छोडेकी हुन्।
बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियो।
अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। अहिले उनको शवलाई अञ्चल अस्पतालमै राखिएको छ।
रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्।
नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ।
Leave a Reply