बोहरा र विश्वकर्माकी छोरीबीच यसरी भयाे बझाङमा मागी विवाह

दलित अनलाईन २६ मंसिर २०७६, बिहीबार २०:२५

बझाङ-गाडी/घोडासहितको जन्तीको लावालस्कर खलापाटा गाउँबाट रैकोसीतिर जाँदै थियो ।

वडाध्यक्ष जयबहादुर मल्ल, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसहित करिब ३ सय गैरदलित जन्तीको लस्कर एकाएक दलित बस्तीतिर मोडियो । बेहुलीघर ध्वजा–पताकाले सिँगारिएको थियो । दुलहीका बुबा रमेश विकले जन्तीलाई टीका लगाइदिए । गाउँका अरू दलितले चिराग बालेर दुलाहा पक्ष र जन्तीको स्वागत गरे ।

दुलाहा थिए स्थानीय गैरदलित समुदायका दीपक बोहरा । दुलहीको माइती घरभित्र वैवाहिक कार्यक्रम हुँदै थियो । आँगनमा जन्ती र दुलही पक्षको रातभर नाचगान र रमाइलो चल्यो । सबै जन्तीले त्यहीँ खाना खाए । त्यो रात दलित बस्तीमै बिताए । जन्तीमध्ये ९५ प्रतिशतभन्दा बढी मानिस दलितको घरमा खाना खाएर त्यहीँ पहिलोपटक सुतेका थिए ।

अन्तरजातीय विवाह गरेका कारण आफ्नो जन्मथलो छाडेर भाग्नुपरेको, हिंसाको सिकार हुनुपरेको घटना थुप्रै छन् । झन् बझाङमा त छुवाछूत यतिसम्म व्याप्त छ कि कानुनले दण्डनीय भन्दाभन्दै पनि दलितहरूमाथि सार्वजनिकस्थलमै विभेद हुने गरेका छन् जसलाई यहाँको समाजले सामान्य रूपमा लिने गरेको छ ।

दलितसँग प्रेमसम्बन्ध भएका कारण समाज मात्रै होइन परिवारबाटै बहिष्कारमा पर्ने पनि जिल्लामा धेरै छन् । परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ सम्पन्न भएको यो विवाह भने छुवाछूतविरुद्ध नमुना भएको छ । बित्थडचिर गाउँपालिका–९ सुनकुडा, खलापाटाका दीपक बोहराले त्यही वडामा पर्ने रैकोसी गाउँकी रूपाकुमारी विकसँग मागीविवाह गरेको कुराले जिल्लाभरि चर्चा पाएको छ ।

‘सुरुमा त दलितको घरमा जन्ती कसरी जाने होला भनेर अप्ठ्यारो लागेको थियो,’ दीपकका एक छिमेकी केश विष्टले भने, ‘पछि उनीहरू बिहे नै गर्छन् भने हामीलाई जन्ती जान के अप्ठ्यारो भन्ने लाग्यो । गाउँका सबै जन्ती गयौं । घुमधामसँग विवाह भयो ।’ बेहुलाका बुबा कलकले भने मान्छे मान्छेबीचको विभेद तोड्न आफूले धुमधामसँग दलितकी छोरीलाई बुहारीका रूपमा भित्र्याएको बताए । ‘जमाना कहाँ पुगिसक्यो । हामी यो जात र त्यो जात भन्दै बसेका छौं,’ उनले भने, ‘हाम्रै पालामा यो अन्धविश्वास हटाउन सकेनौं भने अझै पछि पर्छौं ।’

उनले अन्तरजातीय विवाह भए पनि जन्तीमा गाउँलेको भव्य उपस्थितिले अन्धविश्वासको जरा कमजोर हुँदै गएको आफूले अनुभव गरेको बताए । दुलाहा दीपकले पनि आफूले चाहेको कन्यालाई जीवनसाथीका रूपमा पाउँदा निकै खुसी लागेको बताए । ‘गाउँलेले कुरा काट्छन् कि भन्ने लागेको थियो । तर सबै जन्ती गइदिए । मलाई त निकै खुसी लागेको छ,’ उनले भने ।

सामाजिक विभेद अन्त्यका लागि महत्त्वपूर्ण भुमिका खेलेको भन्दै बित्थडचिर गाउँपालिकाले यस जोडीलाई सम्मान गर्ने भएको छ । ‘जिल्लामै पहिलोपटक सामाजिक रूपमै स्वीकार गरेर अन्तरजातीय विवाह भएको यो पहिलोपटक हो,’ गाउँपालिकाका प्रवक्ता हर्क बोहराले भने, ‘यसले हाम्रो गाउँपालिकाको इज्जत बढाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank