काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरणको समझदारी हस्ताक्षर भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्रमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन् ।
_BQQvOkuXtk.gif)
‘सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै,’ समझदारीपत्रमा भनिएको छ, ‘छोटो समयमै उल्लेखनीय संसदीय हैसियत बनाई सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपालमा वैकल्पिक राजनीतिका युवा प्रणेता स्व. उज्ज्वल थापाले प्रारम्भ गर्नुभएको ‘विवेकशील अभियान’लाई निरन्तरता दिइरहेको विवेकशील साझा पार्टीबीच उन्नत राष्ट्र सेवाको साझा उद्देश्यलाई अझ सशक्त बनाउन देहायका सहमतिसहित आज एकीकरण सुसम्पन्न भएको छ ।’
यी हुन् समझदारीका बुँदा
(क) राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्वीकार्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने ।
(ख) राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्मका लागि बनाइएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्च -Federal Leadership Forum_मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने; मञ्चका सदस्यहरुको वरीयता केन्द्रीय समितिको सदस्यसरह हुने; विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरूलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने ।
(ग) एकीकरणपश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै नीलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा नीलो रङको घण्टीको आकृति र दलको चिह्न ‘घण्टी’ रहने ।
(घ) एकीकरणसम्बन्धी निर्वाचन आयोगसम्बद्ध कानुनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरू तयार गर्दै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने ।
(ङ) राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।


























Leave a Reply