राजदूत सिफारिसमा : दलितको प्रतिनिधित्व खै ?

दलित अनलाईन ११ भाद्र २०८१, मंगलवार १२:४८

काठमाडौँ  —सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति बैठकमा सांसदहरूले राजदूत सिफारिस समानुपातिक नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

समितिको मंगलबार बसेको बैठकमा सांसदहरूले प्रश्न उठाएका हुन् । सरकारले हालै १७ देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेपछि यस सम्बन्धमा समितिमा छलफल सुरु हुँदा सांसदहरूले समानुपातिक–समावेशिताको कुरा उठाएका हुन् ।

सांसद प्रकाश अघिकारीले राजदूत सिफारिस समावेशी नभएको गुनासो सर्वत्र रहेको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए । ‘संविधान पालना नगर्ने भए यो समितिको के औचित्य छ ?  उहाँहरूसँग अन्तरवार्ता लिएर हिमचिम गर्न मात्र यो समिति हैन होला नि’, उनले भने, ‘संविधान पालना गर्न नसक्ने सरकारले दिएको आदेश जनताले किन पालना गर्ने ?

उनले दलित मधेसी थारु जस्ता सिङ्गो समुदायलाई किन छुटाइयो भन्दै प्रश्न गरे ।

यस्तै सांसद जनार्दन शर्माले पहिला पनि समावेशी बनाउनु भनेर परराष्ट्रमन्त्रीलाई निर्देशन दिएको इतिहास रहेको भन्दै समितिको ध्यानाकर्षण गराए । संविधानमै लेखिएको विषय कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

‘समावेशीको प्रयोग सही ढङ्गले भएन । सबैले स्थान नदिए हाम्रो संविधानको के अर्थ ? जनताको आक्रोश यसैले बढेको हो’, उनले भने, ‘इतिहासले हामीलाई काम गरेन भन्ने ट्याग लाग्छ । कुनै समुदायले पाएको अधिकार खोसेर हामी पुग्छौँ कहाँ ? उत्पीडितले अधिकार नपाए संविधानको अर्थ के ? संवैधानिक अधिकारीलाई कार्यान्वयन गरेनौँ भने के हुन्छ ?’

यस्तै एमाले सांसद महेश बर्तौलाले समावेशीताको प्रश्न उठेपछि बैठकमा छलफल गर्दा राम्रो हुने बताए । उनले सरकारले कुनै समुदायलाई बाहिर राख्ने नियत भने नगरेको भन्दै सरकारको बचाउ गरे ।

यस्तै सांसद ज्ञानेन्द्र कार्कीले भने सार्वजनिक खपतका लागि मात्रै विषय नउठाउन आग्रह गरे । ‘

पब्लिक कन्जम्सनका लागि कुरा नगरौँ । राजदूत खाली छन् चाँडो गरौँ’, उनले भने, ‘भाषणमा होइन चाँडो काम गरौँ ।’

यसैगरी सांसद जीवन परियारले सिफारिस समावेशी नभएकोमा समितिमा छलफल हुनुपर्ने धारणा राखे । संविधानको धारा २८३ मा समावेशी सिद्धान्तमा राजदूत नियुक्त गर्ने लेखिएको उल्लेख गर्दै उनले यसरी असमावेशी गरिरहे  जनताले नमान्ने उनले बताए ।

यस्तै सांसद पशुपति शमशेर जबराले पञ्चायनमा समेत आफूले हिरालाल विश्वकर्मालाई आफ्नो सहायक बनाएको स्मरण गर्दै अहिले दलित समुदायको प्रतिनिधित्व नभएकोबारे प्रश्न गरे ।

‘पञ्चायतमा पनि मेरो सहायक मन्त्री हिरालाल विश्वकर्मा हुनुहुन्थ्यो । गणतन्त्रमा अहिलेको व्यवस्थामा दलितको प्रतिनिधित्व खै ? दलित समुदायको प्रतिनिधित्व खै ?’, उनले भने ।

यस्तै सांसद आनन्द ढुङ्गाना र ईश्वरी घर्तीले पनि सिफारिस समावेशी नभएको प्रश्न उठाउँदा अर्को सांसद लीलानाथ श्रेष्ठ सिफारिसमा फेरि गल्ती भएको बताए । ‘पहिला पनि परराष्ट्रमन्त्री बोलाएर हामीले भनेका थियौँ । अहिले पनि त्यहीँ भयो । राजदूत सिफारिस समावेशी हुनुपर्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank