जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सद्वारा अर्थमन्त्रीबाट जनार्दन शर्मालाई बर्खास्त गर्न माग

दलित अनलाईन १४ श्रावण २०७८, बिहीबार २२:५५

काठमाडौं —अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले माग गरेको छ ।
नवराज विक हत्याकाण्डका दोषीहरुलाई मन्त्री शर्माले संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले मन्त्रीको बर्खास्त गर्न माग गरेको हो ।

अलायन्सले बिहीबार रिपोर्टर्स क्लब पत्रकार सम्मेलन गर्दै अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबासको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ ।
नवराज विकसहित ६ जना दलित युवाहरूको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरू सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए । उनले भने,‘नेताहरूको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराज लगायत ६ जना युवाका परिवारले न्याय पाउन सकेनन् ।’

डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताए । अन्तरजातीय विवाहको आरोपमा अण्डकोष घोटी–घोटी भेरी नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको समेत आरोप लगाए । उनले भने,‘जसलाई समाजले अपराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ उसैलाई अर्थजस्तो जिम्मेवार मन्त्रीमा नियुक्त गर्दा दलितको अपमान गरेको महसुस भएको छ ।’ अन्तर्राष्ट्रिय नजर पनि यस घट्नामा परेको उनको भनाई थियो । परियारले भने,‘बन्दुक बोक्न र विद्रोह गर्न आफूहरूलाई बाध्य बनाउन लागिएको छ ।’ उनले हतियार बोक्ने दिन नआओस् भन्दै देउवाजस्तो प्रजातन्त्रको लागि लडेका नेताले दलितको कुरा सुन्ने विश्वास गरे ।

कार्यक्रममा बोल्दै अर्का संयोजक दलमर्दन कामीले जातीय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनार्दन शर्माले हत्यारालाई संरक्षण गरेको बताए । उनले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गरे । उनले भने, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभूति गराउनुपर्छ ।’ उनले शर्माले हत्याराको पक्षमा बोलेको भन्दै आपत्ति जनाए । ‘जनार्दन शर्मा जस्ता अपराधीका कुख्यातले सत्ता र शक्तिकै दम्भ देखाएर हत्याराको संरक्षण गरिरहेका छन्,’ उनले भने । विवादित व्यक्तिलाई देउवा सरकारमा नियुक्त हुँदा दलित, शिल्पी समुदायले अपमान महसुस गरेको बताए । उनले नवराज बिक लगायतको जातीय हिंसाले अन्तर्राष्ट्रिय बेइज्जती भएको बताए । उनले सर्वोच्चमा विचाराधीन मुद्दामा पीडित पक्षले न्याय नपाउने खतरा बढेर गएको समेत उल्लेख गरे ।

पत्रकार सम्मेलनमा अलायन्सका अर्का संयोजक चन्देश्वर दासले दलित समुदाय तिरस्कृत मानिसको व्यक्तिगत दुस्मनीले नभएर धर्मको कारण भएको जिकिर गरे । उनले भने,‘जे जति सामाजिक घटना भएका छन्, ती सबै धार्मिक कारणले भएका छन् ।’ उनले माओवादीले आफ्ना सरकार आएपछि जातीय विभेद हट्ने भनेर जनतालाई झुक्याएको समेत आरोप लगाए । उनले भने,‘माओवादीले विभेद हटाउँछौ भनेर पछि आफैले दमन गर्दै आएको छ ।’ देशमा हत्यारालाई पुरस्कृत गरिएको आरोप लगाउँदै अहिले हत्याराको एउटा संरक्षक जनार्दन शर्मा अर्थमन्त्री भएको उल्लेख गरे । उनले थपे,‘अब अर्का संरक्षक मातृका यादवपनि मन्त्री बन्दैछन् रे ।’ अब दलित र उत्पीडन वर्गले खुकुरी र बन्दुक पड्काउने साहस गर्नुपर्ने बताए । उनले जनार्दन विरुद्धमात्र नभएर आफूहरूले जनार्दनजस्ता धेरै जनाको विरुद्धमा संघर्षमा उत्रिनुपर्ने टिप्पणी गरे । उनले धनुषाका शम्भु सदाको पनि प्रहरीले हत्या गरेको तर अहिलेसम्म उक्त घट्नामा पनि न्याय नपाएको स्मरण गराए ।

कार्यक्रममा अलायन्सकै संयोजक कमला हेमचुरीले जबसम्म शोषित वर्ग समूह एकजुट हुँदैनन् तबसम्म दलित आन्दोलन सफल नहुने बताइन् । माओवादीका नेताले गरेको हर्कतले आज सत्तामोह वा जनताको मुक्तिको लागि लडेको हो भन्ने अन्यौल सिर्जना गरेको बताइन् । उनले जात प्रथाले समाजमा ल्याएको विभाजन र त्यसको अन्त्य गर्न आफूहरूले अलायन्सको गठन गरेको पनि स्पष्ट पारिन् ।

दलित–दलितबीच भएको खाडल मेटेमात्र आन्दोलन सफल हुने उनको भनाई थियो । उनले सामाजिक विभेद समाजको उन्नति र समृद्धिको बाधक भएको जिकिर गरिन् । जनार्दन शर्मालाई अर्थमन्त्री बनाइएकोमा उनले आक्रोश पोखिन् । हत्या आरोपीहरूलाई राजनीतिक संरक्षण गरेको भन्दै उनले शर्मा अर्थमन्त्री बन्नु दुःखद भएको सुनाईनन् । शर्मा पटक–पटक मन्त्री भैसकेको, १० वर्ष जनयुद्ध गरेको व्यक्तिले पनि रुकुम–पश्चिममा भएको नवराज विकलगायत ६ जना युवाहरूको निर्मम हत्या भएको जस्तो जघन्य अपराधका दोषीहरूलाई उल्टै संरक्षण गरेको समेत आरोप लगाइन् । उनले वर्तमान अर्थमन्त्री शर्माले रुकुम नरसंहारको हत्याराहरूलाई कारबाही नगरेर संरक्षण गरेकोमा आपत्ति जनाइन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank