देशभर बाढीपहिराेले क्षति, मुख्य राजमार्ग अवरुद्ध

दलित अनलाईन २८ असार २०८१, बिहीबार १८:४६

काठमाडौँ  —  निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्। लमजुङ, दाङ, चितवन, बागलुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् ।

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका– २९ स्थित झोलुंगे पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ।

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका– ३ मौवाखोलानजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ।  सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्नेछ । यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक यो सडकबाट यात्रा अनुरोध गरेको छ ।

 मालढुंगा–बेनी सडक अवरुद्ध 

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको  मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । मालढुंगादेखि बेनीसम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका– १ मालढुंगानजिकै भिरवाट ढिस्कोसहितको पहरो खसेको छ । त्यसैगरी जलजला गाउँपलिका– ८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको हो ।

पर्वतमा पहिराेले ६ घर पुरिए

पर्वतको मोदी गाउँपालिकामा ६ वटा घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवाका ६ घर पुरिएका छन् भने जोखिममा रहेका अन्य नाै परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधबार दिउँसोदेखि नै पहिरो खसेको हो । कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ ।

गाईघाट– दिक्तेल सडक अवरुद्ध

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको छ । बुधबार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो । एम्बुलेन्सलागयत अत्यावश्यक सवारीका साधन सञ्चालन गराउने प्रयास जारी छ । जिल्ला प्रशासन कार्यलय, त्रियुगा नगरपालिका र गाईघाट–दिक्तेल सडक कार्यालयले एकीकृत प्रयास गरिरहेका छन्

मध्यपहाडी राजमार्ग बन्द

पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङखण्ड अवरुद्ध भएको छ । बागलुङको काठेखोला गाउँपालिका– ६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

बेँसीसहर–चामे सडक पनि खुलेन 

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १० दिनदेखि बन्द छ । बाढीले मनाङको चामे गाउँपालिका– १ तिमाङखोलाको पक्की  पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन् ।

०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । दुई वर्षअघि त्यहाँ मोटरेबल पक्की पुल निर्माण गरिएको थियो ।

पथान्तरणमा क्षति

बाढीका कारण घोराही–तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ । पुल निर्माण जारी रहेको घोराही–तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank