काठमाडौं —नेकपा (माओवादी केन्द्र)ले सहरी क्षेत्र र तराई–मधेशमा विशेष अभियान सञ्चालन गर्ने भएको छ। सांगठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो।
आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई–मधेशका जिल्लामा जनपरिचालन, संगठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिने बताइएको छ। माओवादी केन्द्रले मंगलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ। अधिवेशन सकिएपछि तराई–मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिनेछ।
यस्तै, माओवादी केन्द्रले उत्तर–दक्षिण र पूर्व–पश्चिम अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरूले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’ले पार्टीलाई थप सबल बनाउन मद्दत पुगेको बताएका थिए।
माओवादी केन्द्रले चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका साथै सहिद परिवार, बेपत्ता योद्धाका परिवार र घाइते अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो। सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो। गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो।
Leave a Reply