रुपेश रामलाई साधारण तारेखमा राखी थुनामुक्त गर्न सर्वोच्चको आदेश

दलित अनलाईन ९ श्रावण २०८०, मंगलवार १९:०५

काठमाडाैं— सर्वोच्च अदालतले सप्तरी राजविराज घर भएका रुपेशकुमार रामलाई थुनामुक्त गर्न सप्तरी कारागारलाई आदेश दिएको छ। व्यक्ति बेपत्ता पारेको अभियोगमा जिल्ला अदालत सप्तरीको आदेशले पुर्पक्षका लागि थुनामा रहेका रामलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको संयुक्त इजलासले मंगलबार आदेश दिएको हो।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले रुपेश रामका हकमा अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकर निवेदक रहेको रिट जारी गरेको हो। आफ्नै श्रीमती बबिता इसरलाई बेपत्ता बनाएको भनी इसरका पिता ललित इसरले दायर गरेको मुद्दामा इसरका पति तथा रुपेश रामका भाइ मनोजका साथै रुपेशको समेत संलग्नता देखाउँदै जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

‘रामलाई थुनामै राख्नुपर्ने अवस्थाको विद्यमानता रहेको’ नदेखिएको भन्दै साधारण तारेखमा रिहा गर्ने आदेश सर्वोच्चबाट भएको हो । हाल व्यक्ति बेपत्ता पारेको कसूर जिल्ला अदालत सप्तरीमा विचाराधीन रहेको हुँदा पछि ठहरेबमोजिम हुनेगरी रुपेशलाई थुनामै राख्नुपर्ने अवस्था नरहेको निष्कर्षमा इजलास पुगेको हो ।

यहि मुद्दामा थुनामा रहेका मनोजलाई ३१ असारमै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिइसकेको थियो । तर रुपेश भने २६ चैत २०७९ देखि नै थुनामा थिए । उनलाई गैरन्यायिक तवरले थुनामा राखिएको भन्दै रिहा गर्न आदेश मागी ४ साउनमा अधिवक्ता अम्बेडकरले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकोमा रिट जारी भएको हो ।

‘यी निवेदक उपर जुन व्यक्तिलाई अपहरण गरी बेपत्ता पारेको भन्ने अभियोग लगाइएको छ, निज बेपत्ता पारिएको भनिएको बबिता इसरसँग भाइ मनोज रामले दर्ता विवाह गरी कपिलवस्तु जिल्ला अदालतबाट मिति २०८०÷०२÷२१ मा विवाह दर्ताको प्रमाणपत्र प्राप्त गरेको देखिन्छ । हालसम्मको अवस्थामा उल्लिखित विवाहदर्ताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्र उपर उजुरी परी अन्यथा भएको अवस्था देखिँदैन । यसै सम्बन्धमा यिनै निवेदकका भाइ मनोजकुमार रामलाई थुनामा राख्ने गरी भएको आदेशउपर यसै अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा मिति २०८०÷०३÷३१ गते भाइ मनोज रामलाई थुनामुक्त गर्नेगरी आदेश भएको देखिन्छ,’ सर्वोच्चले जारी गरेको संक्षिप्त आदेशमा छ ।

अर्को जातसँग विवाह गरेको निहुँमा कीर्ते जन्मदर्ता बनाएर आफूलाई नाबालिक साबित गरी पिता ललित इसरले आफ्नो श्रीमानमाथि व्यक्ति बेपत्ताको अभियोग लगाएको बबिताको भनाइ छ । उनले राजविराजकै मनोजसँग गत वर्ष २२ मंसिरमा आफ्नो इच्छाले विवाह गरेकि थिइन् । तर आफूहरुलाई तनाव दिन आफ्नो पिताले प्रहरीमा हुँदै नभएको कसूरमा जाहेरी दिइ मुद्दा लगाएको बबिताको भनाइ छ । जसपछि सप्तरी जिल्ला अदालतले मनोजलाई २४ जेठमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank