काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल हुनेगरी कुनैपनि सम्झौता कल्पना गर्न नसकिने बताएका छन्।
शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेको सम्झौता राष्ट्रिय हितमा रहेको बताएका हुन्।
‘हिजो भारतीय विदेशमन्त्रीसँग मेरो ‘वान टु वान’ र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको थियो। भेटमा मैंले नेपालको राष्ट्रिय हित र विद्युत व्यापार सम्झौताबारे नै कुरा गरेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘विद्युत व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ । नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ।’
भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताउँदै उनले त्यसको प्रक्रिया भएको बताए। उनले नगरपालिकाभित्र कुन प्रक्रियाबाट गर्न सक्ने, गाउँपालिकाबाट भित्र या अन्य, त्यो प्रक्रियाबाट गएरमात्रै खर्च गर्न पाउँछ।
‘२० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने होइन । यसमा नेपालको पनि निर्णय र साझेदारी रहन्छ । अरू कुनै भ्रम राख्न जरूरी छैन । सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुन्छ,’ उनले भने।
छलफलमा उनले विधेयकमाथिको छलफलमा सकेसम्म सर्वसम्मतिमा जोड दिइएको बताउँदै संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्याहरू निवारण गर्न संशोधन विधेयकले स्पष्ट पार्ने जानकारी गराएका थिए।
Leave a Reply