नवराज विककी आमाले भनिन्- छोराको आत्माले अब शान्ति पाउनेछ

दलित अनलाईन १९ मंसिर २०८०, मंगलवार १९:५३

काठमाडौँ — नवराज विकसहित ६ जनाको हत्या प्रकरणका २३ जना आरोपीलाई रुकुम पश्चिम जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि नवराज विकको आमा उर्मिला विकले आफुहरुले न्याय पाएको बताएकी छन्   ।
रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको लगत्तै नवराज विकको आमा उर्मिला विकले आफुहरुले न्याय पाएको बताएकी हुन् ।

आमा उर्मिला विकले भनिन, ‘हामीले छोरा त गुमायौं,  न्याय पाउँदैनौ कि भन्ने डर र शंका  थियो ।   जिल्ला अदालत रुकुम पश्चिमले हामीलाई न्याय दिएको छ । जिल्ला अदालतका न्यायाधीश ज्यूलाई धेरै धेरै धन्यवाद । अब हाम्रा छोराको आत्माले पनि शान्ति पाउनेछ ।’

आफ्नो छोरासँग प्रेम गर्ने केटी, उनकी आमा र भाइलाई भने थोरै सजाय भएकोमा दुख व्यक्त गरेकी छन् । उनले भनिन्, ‘हाम्रा छोरालाई मार्नका लागि आदेश दिने केटी, केटीको आमा र भाइलाई दुई वर्ष मात्रै सजाय भयो ।  त्यसले अलिकति मन दुखाएको छ । ति तीनैलाई पनि जन्मकैदको सजाय हुनुपर्ने थियो । त्यो भएन । यसमा अलिकति दुख लागेको छ ।’

आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो। जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ।

जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।

यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank