काठमाडाैं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरुवाचरुवाको समस्याको दिगो समाधानका लागि मन्त्रालयले कार्ययोजना बनाएर अघि बढ्ने बताएकी छन् ।
उक्त समस्या समाधानका लागि मंगलबार सरोकारवाला निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमासमेत यस विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।
कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल सुरु गरिसकेको भन्दै उनले केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडि बढाइएको जानकारी दिइन् ।
हलिया र कमैया कमलरी मुक्त भइसकेको र कमैया श्रम (निषेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरुवाचरुवाको समस्या समाधान गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन् । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलगायत हरुवाचरुवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिको उपस्थिति थियो ।
Leave a Reply