नवलपरासी — नवलपरासी सुस्ता गाउँपालिका -४, गोकुलपुरका तीन दलित महिलामाथि निर्घात कुटपिट भएको छ। चमार समुदायका तीन महिलामाथि सोही गाउँका यादव समुदायका ९ जनाको समूहले निर्घात कुटपिट गरेकाे हो ।
आफ्नो खेतमा धान बत्ताइरहेकी स्थानीय पुनम हरिजन, शिला हरिजन र सविता हरिजनलाई घरमा कोही पुरुष नभएको मौका छोपेर धानको भुस मेराे घरतिर आयो भन्दै सोही ठाउँका जोगिन्द्र यादव, भगन यादव, राजन यादव, घनश्याम यादव, विमला यादव, गुड्डी यादव र गीता यादवलगायतका समूहले पानी नचल्ने तल्लो जात भएर हेप्ने भन्दै निर्घात कुटपिट गरेका थिए । घाइतेहरुको रूपन्देही जिल्लाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको पीडितका भाइ सन्दिप हरिजनले बताए ।
तर, इलाका प्रहरी कार्यालय बेलाटारी भने ठूलो मुद्दा चलाउनु पर्ने जाहेरी नआएकोले १ दिन मात्र हिरासत राखेको छ । ठूलो मुद्दाको जाहेरी आएन त्यसैले एक दिन मात्र थुनेको हौं। पीडितलाई उपचार गर्न लगेका छन् । आएपछि पीडित झिकाएर अझै अनुसन्धान गर्नेछौं, इलाका प्रहरी कार्यालय बेलाटारीका इन्चार्ज श्याम प्रकाश यादवले बताए।
स्रोतको अनुसार, इन्चार्ज यादवले आरोपितलाई बचाउन खोजेको बताइन्छ। “उनी पनि यादव थरका भएर यादवलाई बचाउन खोजेका हुन्”, स्रोत भन्छ।
यसरी एक गरिब र दलित समुदायमाथि अत्याचार गरिनु र घरमा कोही नभएको मौका छोपी हत्या गर्ने दुष्प्रयास गर्नु गैर मानवता मात्र नभएर क्रुर अपराधको काम भएको ‘चमार कल्याण समाज’को ठहर छ।
कुटपिटमा संलग्नहरूलाई प्रहरी प्रशासनले जातीय विभेद, ज्यान मार्ने उद्योगको मुद्दा चलाएर करवाही गर्नुपर्ने चमार समाजको माग छ। साथै समाजले जिल्लामा रहेका चमार समुदाय(दलित)हरुलाई राज्यले उचित सुरक्षा प्रदान गर्न समेत आग्रह गरेको छ।
जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन-२०६८ ले जातीय विभेद तथा छुवाछुतजन्य कार्य आफैं गर्ने तथा अरूमार्फत गराउने कुरालाई मात्रै निषेध गरेको छैन, भेदभाव तथा छुवाछुतजन्य निषेधित कार्यलाई समर्थन गर्ने, दुरुत्साहन गर्ने वा उकास्ने कार्यलाई समेत वर्जित गरी दण्डनीय बनाएको छ । तर कार्यान्वयन खै ? पीडितहरूकाे प्रश्न छ । यही दण्डहीनता हो जसले कानून उल्लंघन गर्नेहरूलाई हौस्याइरहेको छ ।
Leave a Reply