मन्त्री सुदन किरातीको राज्यमान्त्री सुशीला सिर्पालीमाथि हैकम

दलित अनलाईन २० भाद्र २०८०, बुधबार ११:४२

काठमाडौँ —  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राज्यमान्त्री सुशीला सिर्पालीमाथि पटक पटक अन्याय र वाईपास गरेका छन् ।
मन्त्री सुदन किरातीको व्यवहारबाट राज्यमन्त्री सिर्पाली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरी ‘कि राज्यमन्त्रीबाट हटाईदिनुस् कि जिम्मेवारी दिनुस्,’ भन्दै हारगुहार गरिन् ।
प्रचण्डले ‘किरातीलाई म सम्झाउँला,’ भनेर फर्काए । किरातीले राज्यमन्त्री सिर्पालीमाथि अधिकार प्रत्यायोजन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ दिएको पत्रमा राज्यमन्त्रीलाई १६ वटा जिम्मेवारी दिएको देखिन्छ ।
तर, व्यवहारमा ‘वाईपास’ गर्दै किरातीले एकलौटी निर्णय गरेको राज्यमन्त्री सिर्पालीले बताइन् । गत साता मात्रै पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह खरिद गर्ने प्रस्ताव अगाडि बढाएको थियो । कोषमा श्री गोरखनाथ कन्ट्रक्सन एन्ड मन्र्चेन्डिसर प्रालि र म्याप ईन्टरप्रेनर्स प्रालि गरी दुई कम्पनीले मात्र टेन्डर हालेका थिए । राज्यमन्त्री सिर्पालीले टेन्डरमै गोलमाल भएको सूचना पाएपछि तत्काललाई काम रोक्न कोषका पदाधिकारीलाई निर्देशन दिइन् । तर, मन्त्री किराती आफैंले मन्त्रीस्तरीय निर्णय गरेर काम अगाडि बढाउन निर्देशन दिए ।
मन्त्रीले नै अधिकार प्रत्यायोजन गरेको विषयमा काम गर्दा उल्टै हस्तक्षेप हुँदा आफू हेपिएको अन्यायमा परेको महसुस सिर्पालीले गरेकी छिन् । अर्को विषयअन्तर्गत सहसचिव चक्रबहादुर बुढालाई पर्यटन विभागको महानिर्देशक बनाएर पठाउने भन्दै सचिवलाई बोलाएर राय लेख्न सिर्पालीले निर्देशन दिएकी थिईन् । सचिवले हुन्छ भने । तर, यसबारे मन्त्री किरातीलाई जानकारी गराएपछि राज्यमन्त्री सिर्पालीको योजना तुहियो । मन्त्री किरातीले बुढालाई पर्यटन महाशाखाको मात्र जिम्मेवारी दिए ।
केही दिन अघिमात्रै पुरातत्व विभागका तीनजना प्रमुखहरुको सरुवामा समेत मन्त्रीले हस्तक्षेप गरेर सरुवा गरिदिएको सिर्पालीको सचिवालयले जनाएको छ । पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय र संस्कृति महाशाखाको सहसचिव सरुवा गर्दा सिर्पालीले चाल नै पाइनन् । मन्त्री किरातीले आफैं निर्णय गरेर सरुवा गरिदिए ।
मन्त्री किरातीले राज्यमन्त्री सिर्पालीलाई एउटा पनि नीतिगत निर्णयमा सहभागी गराएका छैनन् । हवाई प्लाईङका लागि दुईवटा कम्पनीलाई स्वीकृति दिएका किरातीले यस विषयमा पनि सिर्पालीलाई कुनै जानकारी दिएनन् ।

किरातीले योजनाका फाईलहरु सिधै आफै तानेर हेर्ने र निर्णय गर्ने गरेपछि मन्त्रालयका कर्मचारीहरुसमेत आश्चर्यचकित छन् । पर्यटन विभागको बजेट बनाउने कार्यमा समेत राज्यमन्त्री सिर्पालीलाई सहभागी गराइएन ।
‘तपाईले राज्यमन्त्री सिर्पालीलाई वाईपास गरेर निर्णय गर्नुहुन्छ रे हो ?’ भन्ने प्रश्नमा किराती भन्छन्,‘खै मैले त्यस्तो गरेजस्तो लाग्दैन । म काममा विश्वास गर्ने मान्छे, कुरा मिलाउन जान्दिन । कुरो यत्ति हो ।’

राज्यमन्त्री सिर्पालीले आफूलाई प्रत्यायोजित अधिकार मन्त्री आफैले प्रयोग गर्ने गरेको गुनासो पोखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank