
काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।
शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्नु हुँदै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिए ।
उनले भने, ‘तपाईंहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलवमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागिसमेत सहयोग पुग्नेछ । शासन व्यवस्था भनेकै आखिरमा दण्ड र पुरस्कारको असल अभ्यास नै हो । हाम्रो कर्मचारी प्रशासनमा समेत त्यो कुरा लागू गर्नुपर्दछ ।’
‘कर्मचारीहरूको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउँछ, अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहन्छ,’ उनले भने, ‘ तलवले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा कि त विदेसिनुपर्ने कि त वित्तीय अराजकता वा लामो हात गर्ने ठाउँमा पुगेका उदाहरण पनि हामीकहाँ छन् । त्यसैले आजको परिस्थिति र आवश्यकताअनुसार कर्मचारीहरूको तलवमान र सेवा सुविधामा पुनर्विचार गर्न आवश्यक छ ।’
Leave a Reply