गुल्मी, २०४८ सालको चुनाव अघि अर्थात पञ्चायती सरकारले गर्ने झाराटराई चुनावदेखि अहिले गणतान्त्रिक मुलुकको वर्तमान चुनावसम्म पनि आफुलाई मन पर्ने नेतालाई जिताउन मरी मेट्ने पात्रको नाम हो, चन्द्रबहादुर सुनार ।
गुल्मीको मुसिकोट नगरपालिका–३ चुँदरीगाउँ निवासी अहिले ८० वर्ष उमेर पुगेका सुनार पञ्चायत कालका खुँनकार पञ्चेका रुपमा चिनिनु हुन्थ्यो । साविक बडागाउँ गाउँपञ्चात वडा नम्वर ७ का वडा सदस्यबाट जनप्रतिनिधिको यात्रा सुरु गरेका सुनार २०४६ सालको परिवर्तन पछि पुर्व पञ्चहरुले केही समय विश्राम लिएसंगै सुनारले विश्राम लिनु भएको थियो ।
तर २०४८ को निर्वाचन पछि उहाँको मानसपटलमा परेको राजनीतिक नसाले निष्कृय बस्न दिएन । फलतः कांग्रेस हुँदै तत्कालिन नेकपा मालेमा लागेका सुनार हाल सम्म पनि सोही पार्टीमा हुनुहुन्छ् । ४८ उताको निर्वाचनमा उहाँको राजनैतिक गतिविधी त बाल्यपनको देखाई र सुनाई मात्र भयो तर २०४८ साल देखि गत स्थानीयतहको निर्वाचन र अब मङ्गसिर ४ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन सम्म उहाँको राजनैतिक सक्रियता नजिकबाट प्रत्यक्ष नियाल्ने पात्र हो यो पंक्तीकार ।
केहि दिन अघि त्यस गाउँमा पुग्दा उहाँको बुढौलीपन , चाउरी परेका चेहरा र कलेटी परेको ओंठहरु नियाल्दा कठैबरै बुढेशकालमा मेरो पनि त हालत यस्तै हुने होला भनेर भावुक भईयो केहि बेर ।
त्यसपछि उहाँको स्वास्थ्य र आर्थिक अवस्था लगायतका व्यवहारिक कुरा सकेपछि चुनावी गफ निकालेर उहाँमा राजनीति प्रतिको उत्साह बारे बुझ्ने कोशिस गरियो र उहाँले आस्था राख्ने दलका नेताहरुको जिस्कीएर चर्को आलोचना गरियो ।
ए बाफ्रे ,त्यस पछि त बुढोलाई जिस्काईफासो भयो । त्यस अघि बुढो भनेर बेकारमा टिठ गरिए छ जस्तो लाग्यो । कस्सो खाएथे बुढाले राजनैतिक जोस त विगतमा जस्तो थियो उस्तै पो देखियो ।
केहि वर्ष अघि सम्म उहाँ जस्तै एमालेमा सक्रिय उहाँका छोरा हुकुम सुनार अहिले कांग्रेस भई सक्नु भएको छ तर उहाँको जोस कांग्रेसी छोराको भन्दा बढि देखियो । भाईका नाताले हुकुम र म केहिबेर संगै बसेर बुढाहरुको अहिले पनि उस्तै राजनैतिक नसा र त्यस नसाबाट उनीहरु आफुले पाएको अवसर र गाउँलेले पाएको विकासबारे समिक्षा पनि गरियो र प्रतिफल शुन्य देखियो ।
सोही गाउँमा चद्रबहादुर सुनारका पञ्चायत काल देखिका राजनैतिक सहकर्मी हुनुहुन्छ उहाँका भतिजा गोमबहादुर सुनार । उहाँ पनि पञ्चायत कालका वडा सदस्य हुँदै बहुदलिय ब्यवस्था पछि केहि बर्ष सम्म एमाले र माओवादी जनयुद्ध देखि हाल सम्म माओवादीका पुराना नेता हुनुहुन्छ ।
उहाँहरु दुबै जना आ–आफ्ना पार्टीका कट्टर समर्थक हुनुहुन्छ र हरेक चुनावमा युवाहरु बरु जाँड भट्टी वा ठुला होटल–रेस्टुरेन्टहरुमा मासु भात रक्सीले परिचालित होलान तर उहाँहरु आ–आफ्नै घरको आटो पिठो खाएर परिचालित हुँदै आउनु भएको छ ।
किनकी उहाँहरु संग व्यक्तिगत लालच न पञ्चायतकालमा देखियो न अहिले । उहाँहरुमा हाल सम्म देखिएको राजनैतिक सक्रियता हेर्ने हो भने उहाँहरुले बनाएका कार्यकर्ता अहिले कोही पालिका अध्यक्ष , कोहि वडाध्यक्ष त कोही विभिन्न अवसर पाई सक्दा उहाँहरु दुई जनाले पनि कुनै न कुनै अवसर पाउनु पर्ने हो । तर अवसर शुन्य छ र गाउँको विकासमा पनि कुनै परिवर्तन आएको छैन ।
अरु टोलका घर घरमा मोटरबाटो पुग्दा त्यस गाउँमा वल्लो टोल चुदरीगाउँदेखि पल्लो टोल दाम्का सम्म पुग्ने गोरेटो बाटो सम्म छैन । कसैका बारीको खेती कुल्चिदै, पानी परेको बेला खरका गाँज समाउँदै र घर्सिदै आउजाउ गर्नुपर्छ ।
पञ्चायत कालमा बरु झारा लगाउने ( जनश्रमदान गर्ने ) चलन थियो र गोरेटाबाटाहरु हिँड्न कुनै असुविधा थिएन । तर बहुदल पछि त जनश्रमदान पनि हरायो र नेताहरुको ध्यान मोटरबाटो खन्न मै भए पछि चुँदरीगाउँ–दाम्का सम्मको गोरेटो बाटो मात्रै होईन अन्य तमाम हिजोका गाईभैसी हिडाउने फराकिला गोरेटाबाटाहरुको समेत नामोनिशान छैन ।
दाम्का देखि तल ठुलापोखरा , त्यहाँ देखि जलजले , तितिृरे चोर सम्मका गोरेटाबाटाहरुमा ठुला ठुला भारी बोकेर हिड्थे बुढापाकाहरु तर अहिले लेउ लागेर झाडी बढेर रित्तो ज्यान उकालो ओरालो गर्न पनि नसिकने अवस्था छ । तीनै गोरेटाबाटाहरुमा मोटरबाटो खनियो तर त्यहाँ गाडी चल्दैन बरु तलै पहिरो माथि पहिरो गएर गरिखाँदै आएको खेतीयोग्य जमिन गाउँवासीले क्षति ब्यहोरेका छन् ।
माथि नै भनि सकियो राजनैतिक सक्रियताको हिसावले अन्य समुदाय जस्तै पञ्चायत कालदेखि हाल सम्म अगाडी रहेको दलित बस्ती हो त्यो चुँदरीगाउँ । जहाँ अहिले कांग्रेस , एमाले , माओवादी र पछिल्लो चरण समाजवादीका पनि कार्यकर्ता भईसके तर त्यस चुँदरीगाउँमा दलित वस्तीको विकास शुन्य छ ।
अरु कुरा छाड्नुस, गाउँको सिंहदरवार भनिएको मुसिकोट नगरपालिकाले सञ्चालन गर्ने विभिन्न आय आर्जनमुलक र रोजगारमुलक कार्यक्रममा समेत त्यहाँका जनतालाई सुँईको नदिई बिमुखो पार्ने कोशिष गरिन्छ ‘।
अघिल्लो मुसिकोट नगरपालिका सरकारको पालामा कोभिड बिशेष कृषि कार्यक्रम सबै गाउँमा परेको थियो । त्यस बेला त्यो गाउँमा गएर बुझदा त्यहाँका कसैले थाहा छैन भनेर हामीलाई भने । त्यसपछि तत्कालिन मेयर सोमनाथ सापकोटालाई हामीले फोन गरेर त्यहाँका बासीन्दाको दुखेसो सुनाएपछि थोरै भए पनि एउटा कार्यक्रम प¥यो ।
स्थानीय सरकारको काम जनतालाई समृद्धि दिने भन्दा पनि आफ्ना राजनैतिक दलका कार्यकर्ता बढाउनमा केन्द्रित छ भन्ने कुरा हाल सम्मको भोगाईले देखाएको छ । वर्षऔं देखि टयाक्टरले एउटा खुट्टा गुमाएर दयनिय अवस्थामा रहेका त्यस चुँदरीगाउँका अशोक सुनारलाई अपङ्गा भत्ताबाट बञ्चित गरिएको थियो ।
यसै पक्तिकारले तत्कालिन मेयर सापकोटा , उपमेयर कमला शर्मा र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाललाई भनेर अपाङ्ग परिचय पत्र दिलाईयो । त्यसको केहि दिन नबित्दै उनै अशोकलाई एमाले बन्न बाध्य पारियो ।
त्यसो त जहाँ जुन पार्टीको सरकार छ त्यही प्रबृति देखाईदै आएको छ । दलितहरुको परम्परागत पेशा हराउँदै गएको छ र त्यो सगै बालीघरे प्रथा पनि हराएको छ तर दलितहरुमा राजनैतिक बालिघरे प्रथा हराएको छैन । आ–आफ्ना ‘बिष्ट’ ( गाउँका ठुलाबडा ) जता लागे उत्तै लाग्नु नै दलितहरुमा दास मानसिकताको उपज बालिघरे प्रथा हो ।
त्यो नै दलितहरुका लागि ठुलो दुर्भाग्य बन्दै आएको छ । यहि दुर्भाग्यका कारण आज भन्दा ५० वर्ष अघि भोक भोकै राजनीतिमा हिड्दा घरमा श्रीमतिको कुचाको डाँठ खाँदै र गरिवी र अभावै अभावले ओंठ जसरी कलेटी परेको देखिन्थ्यो अहिले पनि उनै चन्द्रबहादुर सुनार र गोमबहादुर सुनारका ओंठ उस्तै छन् ।
अझ त्यो भन्दा अलि माथि गोहडा , भर्तेबारी, सेनीपिप्ले गाउँका दालितहरुका लागि परिवर्तन कुन चरीको नाम हो ? भन्ने अवस्था छ तर उनीहरु गाउँका उनै बालिघरे बिष्टहरुलाई माथि पुराउन पाएकोमा यहि नै हो परिवर्तन भनेर मख्ख छन र दलगत ‘मेरा बिष्ट भन्दा तेरा बिष्ट साना र ठुला’ को विवाद निकालरे बेकारमा आपसमा दुश्मनी कमाई रहेका देखिन्छन् ।
त्यहाँका दलितहरुको अवस्था बुझदै उत्तर तर्फको अझ विकट थलो नेटा दर्लिङ्ग गाउँका दलितहरुको अवस्था बुझ्न पुगियो । नेटाको थामडाँडाको दलित र जनजाती वस्तीको अवस्थामा २०६४ सालको चुनावमा जाँदा जस्तो थियो उस्तै देखियो ।
परिवर्तनका नाममा यति बेला पिच भई सक्ने छ भनिएको रातडाँडा मुसिकोट पौदीअमराई नेटा दर्लिङ्गको मोटरबाटो फराकिलो पार्ने र ठाउँ ठाउँमा ग्रावेलिङ्ग गर्ने काम मात्र सुरु भएको रहेछ । स्थानीय जनताकै विकासका लागि आएको बजेट बाट खरका छानामा टिन ( जस्ता पाता ) लगाउने काम भएको रहेछ तर घरमा दाना नै छैन भने छानाको के काम ? भन्ने सवाल उनीहरुको गरिवीले आफै उठाउथ्यो ।
अहिले सम्म त्यो बाटो पिच भई सक्नुपर्ने थियो । जहाँ जिपको चर्को भाडाको साटो बसमा केहि सस्तो भाडाले राहत पाउँथे जनताले तर गएको चुनाव ताका केहिदिन बस त लगियो तर एक महिना नहुँदै बस जताबाट आयो उतै गयो फर्केर आउन सकेन ।
हाल मालिका गाउँपालिका–१ को लिलिङ्ग सल्लाखर्कका जनता अहिले पनि मोटरबाटाको अभावमा पालिकाको केन्द्र ठुलाचौरमा पाँच देखि ६ घण्टाको उकालो ओरालो गरेर जााने गर्दछन् । जसो तसो मोटरबाटाको ट्रयाक त खोलियो तर त्यहाँ सम्म गाडी पुग्ने अवस्था छैन ।
त्यस लिलिङ्गका ७० बर्षीय मदनबहादुर घर्ति भन्नु हुन्छ –‘ ४८ साल देखिका हरेक चुनावमा भोट हाल्दै आईयो र आश्वासन पनि थुप्रै पाईयो तर अहिले सम्म हाम्रो गाउँमा न मोटरबाटाको सुविधा छ न विद्युत न खानेपानीको सुविधा छ ।’
स्थानीय स्तरमा खानेपानीका मुहान प्रशस्तै हुँदा पनि ट्याङकी निर्माण गर्न नसक्दा र पाईपको जोह गर्न नसक्दा अहिले पनि त्यहाँ जनताले पुरानै पँधेरोबाट पानी बोकेर खाने गरेको गुनासो सुनाउँनु हुन्छ । त्यहाँका बासीन्दाले बाग्लुङ्गबासी संग मिलेर लघुजलविद्युतमा प्रति घर धुरी ७ हजारका दरले पैसा तिर्दै र सयौं दिन जनश्रमदान गरेर बत्ति बालेको घर्तिले बताउनु भयो । त्यस्तै मोटरबाटाको अभावमा बिरामी र सुत्केरी महिलाहरु स्टेचरकै भरमा रहेकोले चुनाव जितेर जानेहरु जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान शिद्ध भएको दुखेसो पनि घर्तिले गर्नु भयो ।
त्यस्तै विकट थलो हो मालिका–२ को पाटाखर्क , दुनाम, सिरुखर्क, तल्लो र माथील्ला च्याँनडाँडा गाउँ । जहाँ २०६४ सालको निर्वाचनमा माओवादीबाट विजयी भएका चन्द्रबहादुर थापा ( सागर ) को पहिलमा दर्लिङ्ग देखि त्यस गाउँ सम्म पुग्ने मोटरबाटाको ट्रयाक खोलियो तर अहिले सम्म पनि त्यहाँ नियमित गाडी चल्न सक्दैन ।
त्यस गाउँका दलित अगुवा केयरसिंह श्रीपाली भन्नु हुन्छ –‘ २०६२ सालमा खानेपानी योजना पारिएको थियो । ३ लाख बजेटले केहि हुन सकेन । त्यस पछि म आफै नेताहरुलाई लगेर प्रदेश सरकारको मन्त्रालयमा पुगेर १० लाख रुपैयाँ पारेर आईयो तर मालिका गाउँपालिकाले टेण्डर हालेर त्यो रकमको काम हामीले सोंचे जस्तो भएन र अहिले पनि त्यो योजना अलपत्र छ । ’
दलित अगुवा रसाईलीका अनुसार त्यस दुनाम लगायतका विभिन्न टोल बस्ती केही बर्ष यता बाढि पहिरोले उच्च जोखिमा छ । अहिले पनि अलि ठुलो बर्षा हुँदा डोकोमा भाँडाकुँडा कपडा लत्ता बोकेर सुरक्षित स्थानमा पुग्ने गर्दछन त्यहाँका दलितहरु । बालबालिकाहरु अहिले पसिन कु्पोषणको शिकार छन । धेरै जसो बालबालिकाहरु तीन चार कक्षामा पढ्दा पढ्दै गरिवीका कारण भारततिर नोकरी गर्न हिँडने गरेका छन् । केहि भौतिक विकास भए पनि मानव विकासको क्षेत्रमा केहि काम हुन सकेन ।
उहाँ माओवादी कार्यकर्ता हुनुहुन्छ । उहाँले आफुहरुको मुक्ति माओवादी पार्टीले नै दिलाउने दाबी गर्नुहुन्छ । श्रीपालीले झैं त्यस गाउँमा विकास हुन नसकेको गुनासो सुनाउने उहाँकै छिमेकी रविन्द्र विक नेपाली कांग्रेस त्यस वडाका सभापति हुनुहुन्छ । अर्का दलित अगुवा मानबहादुर विक नेकपा एमालेका कार्यकर्ता हुनुह्ुन्छ । उहाँले पनि त्यस गाउँको विकास हुन नसकेको गुनासो गर्नुहुन्छ तर सबैले आ–आफ्नै पार्टीले मात्रै विकास गर्ने भन्दै ढाँट कुरा गरेर अन्य सर्वसाधरण दलितहरु कहाँ भोट माग्न हिँड्ने गरेका छन् ।
ती सर्वसाधरण दलितहरुको सुध्रिएको अवस्थाको कुरै नगरौं स्वयम ति दलित अगुवाहरु कै अवस्था आज भन्दा १५ बर्ष अघिको चुनावमा जस्तो थियो उस्तै देखियो । त्यत्रो बर्ष उनीहरु संगै र कोही उनीहरु भन्दा पनि धेरै पछि राजनीति गरेकाहरु सुकिला मुकिला देखिए । कोही गाडी मालिक त कोही शहरका पक्की घर मालिक भेटिए तर ती दलित अगुवाहरुको भने खुट्टामा तुना छिनेको चप्पल देखियो । भर्खरकै उमेर भएका उनीहरुको मुहारमा बृद्ध बृद्धाहरु कै जस्तो चाउरी परेको , ओठ कटेली परेको उनीहरुको मुहारको त्यो दृश्यले त्यहाँका आम गरिव दलितहरु प्रतिनिधित्व गरिरहेको थियो ।
र पनि उनीहरु आ–आफ्ना दलका उमेदवारहरुलाई जिताउन कहिले भोकै त कहिले खाली खुट्टा उकालो ओरालो गरिरहेका छन् । उनीहरुको दयनीय घरको त्यो अवस्था बुझदा र राजनीतिमा त्यो सक्रिय देख्दा आखिर तिमीहरु आफुले पायौं के र अरुलाई दिऔं के ? भन्ने मनमनै प्रश्न उब्जियो । तर गाउँका ठुलाबडाहरुको ईसारामा चल्नुपर्ने बाध्यता भएर पनि होला भर्खरी सुत्केरी पनि त्यो चिसोमा काँखमा बच्चा च्याँपेर चुनावी सभामा आएकी थिईन ।
त्यसरी दलित लगायत आम शोषित पीडित जनताहरु आफ्नो मुत्तिका लागि भन्दै राजनैतिक दलका कार्यक्रममा सहभागी हुन्छन् । त्यस क्रममा धान खाने मुसो चोट पाउने भ्याुगुतो हुँदै राजनैतिक प्रतिशोधको शिकार भएर कुटाई पिटाई खाएर अंगभंग हुन्छन् । कसको न्याय नपाउने गरी ज्यान हाली दिन्छन । कोही झुटा मुद्धामा जेल कोच्चिन्छन् ।
त्यही राजनैतिक प्रतिशोधको शिकार हुँदै थिए त्यहाँका दलितहरु गाई काटेको मुद्धामा । सदियौं देखि त्यस गाउँ सहित छिमेकी जिल्लाका दलितहरुले गाई गोरुको मासु खाँदै आईरहनुलाई उनीहरुले सामान्य बिषय ठान्छन् । तर कानुनले त्यसलाई ठुलो अपराध मान्छ । जुन कुरा बुझेका विपक्षी दलका मानिसहरुले चुक्mली लगाई दिन्छन ।
त्यसैले प्राय हरेक चुनावमा त्यहाँका दलितहरु गाई काटेको काण्डमा पर्ने गरेका छन् । त्यो चुक्ली लगाउने अरु कोही होईन आफ्नै समुदायको मान्छे हो । नेता रुपी आफ्ना बिष्टहरुको चाकरीका लागि उसले आज चुक्ली अर्कोलाई लगायो भोली फेरी उ आफै पनि आफ्नैहरुको चुक्लीबाट जेल जाक्किने छ ।
यसर्थ अरुहरुलाई माथि पुराउन दलितहरु आफु आफुमा दुश्मनी नमोलौं । अहिले सम्मका चुनावमा नेताहरुले दिएको आश्वासनको हिसाव किताव खोजौं । राजनैतिक परिवर्तनबाट प्राप्त उपलब्धीको समिक्षा र रक्षा गरौं ।
उपलब्धी स्वरुप प्राप्त संविधानले दिएको अधिकार उपभोगका लागि दलितहरु एकजुट भई हस्तक्षेप गरौं । अहिले पनि संविधान बाट प्राप्त अधिकार दलित समुदायले उपभोग गर्न सकेको छैनन । गास बास कपास, स्वास्थ्य शिक्षा जस्ता आधारभुत स्ुविधा बाट कैयौं दलित बञ्चित हुनु परेको छ । अन्तरजातिय विवाह गर्ने दलितका तमाम युवाहरु बलात्कार मुद्धामा जेलमा जाक्किनु परेको छ ।
दलितहर माथी यी र यस्ता तमाम अन्याय , अत्यचार , शोषण दमन र उत्पीडिन विरुद्ध जुन कुनै पार्टीबाट विद्रोह गर्नुको साटो आफु आफुमै विभाजित हुनु भनेको आम दलित गरिवले उनै मुसिकोटका चन्द्रबहादुर र गोमबहादुर सुनारहरु कै नियति भोग्नु हो ।
जसले उर्जाशिल बैंश उमेर देखि त्यो बुढेयौली उमेर सम्म अरु कै लागि ज्यान फाल्यो तर आफु र आफ्ना समुदायका ओंठहरु कलेटी पारिरह्यो र अझ अरु थुप्रै चन्द्रबहादुर र गोमबहादुरहरुले पारि रहने छन । यस प्रति अब दलित समुदायका आम शिक्षित–सचेत युवा बर्ग जागरुक भई एकजुट हौं । न कि चुनाव ताका कसैको भ¥याङ्ग नबनौं । कसैको मासु रक्सी र पैसामा नबिकौं ।
Leave a Reply