भक्तबहादुर सुनारको जेलभित्रै नियोजित हत्या

दलित अनलाईन ११ श्रावण २०७५, शुक्रबार १५:१६

काठमाडौैँ– नख्खु कारागारका कैदी बर्दिया, ठाकुरद्वाराका ३२ वर्षीय भक्तबहादुर सुनारको नियोजित रुपमा हत्या गरिएको छ ।
सुनारलाई सुर्खेत, भक्तपुर, रुपन्देही र जनकपुरमा भएको श्रृङ्खलाबद्ध हत्या घटनाका योजनाकार अभिषेकराज सिंहले नियोजित हत्या गरिएको खुलेको हो ।
कैदी सुनारको वैशाख २२ गते उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो ।
सुनारको हत्यामा सोही कारागारमा सजाय भुक्तान गरिरहेका बाँके, बागेश्वरीका ४० वर्षीय अभिषेकराज सिंहको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का अनुसार, हत्यारा सिंहले नख्खु कारागार प्रशासन, आन्तरिक प्रशासन, कारागार ब्यवस्थापन र चौकीदारलाई बदनाम गराई कारागारमा आफ्नो वर्चस्व स्थापित गर्न सहयोगी कैदी सुनारको रहस्यमय ढङ्गले हत्या गरेको प्रहरीको दावी छ ।
प्रहरीले अस्पताल परिसरमा मृतक सुनारको खल्तीबाट उनका दाजुले गृहमन्त्रीलाई सम्बोधन गरी लेखिएको एकपत्र फेला पारेका थिए । सो पत्रमा कारागारभित्रको विकृति, कैदीमाथि हुने यातना र पीडाका घटना उल्लेख गरिएका प्रहरीले जानकारी दिएको छ ।
सीआईबी प्रवक्ता कृष्णहरि शर्माले आयुर्वेद औषषि उत्पादनसम्बन्धी जानकार सिंहले कारागार व्यवस्थापनको बदनाम गराउन सुनारलाई विष खुवाएर हत्या गरेको अनुसन्धानबाट देखिएको दावी गर्नुभयो ।
शारीरिक रूपमा तन्दुरुस्त सुनारलाई एकदिन अघिमात्र वाक–वाक आउने र रिङ्टा लाग्ने समस्या देखिएपछि उपचारका लागि वीर अस्पताल पु¥याइएको थियो । वीरमा आइसीयू खाली नभएपछि पाटन पु¥याइएको थियो । निरन्तर वान्ता चलेको २४ घण्टा नबित्दै सुनारको मृत्यु भएको थियो ।
सुनारको हत्यापछि कारागार ब्यवस्थापन लगायत नख्खु जेलर र कर्मचारी बदनाम भएसँंगै सरकारले सबैजनाको तत्काल सरुवा तथा जेलका चौकीदार अर्कै जेलमा सरुवा हुनेमा सिंह पूर्ण विश्वस्त थिए, प्रवक्ता शर्माले भन्नुभयो, ‘तर सत्य लुकाएर लुक्दैन ।’
सिंहले सुनारको हत्या गर्न डाँका मुद्दामा जेल सजाय भुक्तान गरी छुटेका दोलखा बैतेश्वरका ३० वर्षीय ध्रुवकृष्ण शर्मालाई परिचालन गरेका थिए । कारागारभित्र खानेकुरामा विष मिसाउने कार्यमा बैकिङ्ग कसुरमा जेल सजाय भुक्तान गरिरहेका सप्तरी बैरवाका मनोज चौरसियालाई प्रयोग गरेका थिए ।
ध्रुवकृष्णले नै सिंहले भने अनुसारको आयुर्वे्दिक औषधि बजारबाट खरिद गरी कारागारको गेटसम्म पु¥याएका थिए । गेटबाट मनोजले बुझेर सिंहलाई दिन्थे । प्रहरीले सिंहको साथबाट ठूलो मात्रामा आयुर्वेद तथा अन्य औषधिहरू बरामद गरेको छ ।
‘सिरियल किलर’का रूपमा परिचित सिंहले सुनारलाई विष सेवन गराउनु अघि ध्रुवकृष्ण मार्फत गृहमन्त्रीलाई सम्बोधन गरी चिठी लेख्न लगाइ ललितपुरको एक साइवरबाट स्क्यान गरी मेल गरेको तथ्य फेला परेको छ । जुन चिठीको सक्कल सुनारको साथबाट बरामद भएको थियो ।
नख्खु कारागारमा कैद सिंहका गतिविधिमाथि शंका लागेपछि उनलाई डिल्लीबजार, मकवानपुरको भीमफेदी, रुपन्देही लगायतका कारागारमा स्थानान्तरण गरिएको छ । तर सिंहे ‘सोर्सफोर्स’ लगायर नख्खुमा नै आउने गरेको जानकारी प्रहरीले दिएको छ ।
नख्खु कारागारबाट बारम्बार लखेटिएपछि पछिल्लो पटक सबैलाई बदनामी गराउने रणनीतिका साथ सिंहले सुनारको हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । उक्त घटनाको छानविन गर्न सरकारले कारागार ब्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।
समितिले दिएको प्रतिवेदन र नख्खु कारागारको अनुसन्धानमा जुटेको ब्यूरो प्रहरीले सुनारको हत्या सिंहबाट भएको तथ्य बाहिर ल्याएको हो । जवरजस्ती करणी र कर्तव्यज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका मृतक सुनार त्यसअघि जेलभित्र सिंहको सहयोगी भएर काम गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank