छोरीले तीन स्वर्ण जितेपछि आमा मनकुमारी परियारमा फर्किएको खुसी

ध्रुवसागर शर्मा २२ असार २०७९, बुधबार २१:०९

म्याग्दी — मनकुमारी परियार-नाम जस्तै मनकारी। राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन दिईन भकिम्लीका टीका उर्फ पुर्णलाई । सोचिन् आफ्नो जीवन पुर्ण हुने भयो। तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ? जब पुर्णसँग मनकुमारी रंगीन सपना पूरा गर्न घर पुगिन् उनी त छांगाबाट खसेझै भइन।

कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए। दोधारमा थिइन् उनी। जाउ कहाँ जाउ ? गुहार मागु कस्लाई? भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो। मनकुमारीले अठोट गरिन् जस्तै दुःख सहेर भए पनि अब म यसैको निम्ति बाँच्नु पर्छ।

शुरु भयो उनको संघर्षको कथा। के गरिनन् उनले ? संयोगले बेनी नगरपालिकामा बजारमा ट्याक्टर चढेर फोहोर संकलन गर्ने काम पाइन उनले। घिन मानिनन्, अल्छी गरिनन् । मिठो बोलि र कामले सबैको मन जितिन। एकातिर काखमा बच्चा अर्कोतिर कामको चटारो हरेस खाइनन्। दु:खका  बीच उनले  छोरी जन्माइन्। नाम राखिन सुष्मा।

हो यिनै सुष्माले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक कास्य पदक जितेर सबैलाई चकित मात्र तुल्याएकी छैनन् आमालाई शिर गर्व उच्च बनाइदिएकी छिन्।

उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौड तर्फ  १०० मिटर, २०० मिटर र १००×४ रिलेमा तीन स्वर्ण र ४००×४ रिलेमा कास्य पदक जित्न सफल भएकी हुन्। अब उनले पोखरामा हुने प्रदेश स्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्नेछिन्।

सुष्मा त्यसै सफल भएकी होइनन्। उनको सफलतामा आमाको पसिनाको ठूलो मोल छ। एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था। ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ। कैयौंपटक कापीकलम किन्ने पैसा भएन। यसले कहिल्यै गुनासो गरिन्। अचानक अमिसाले फोन गरेर सुष्माले जितिन् भन्दा भुइमा खुट्टा रहेन। दौडेर मञ्चमा पुगे। भोलीपल्ट करिबकरिब काम नै हापेँ। छोरी र साथीहरूलाई बधाई दिएँ आज यसको सफलताले सबै दुःख बिर्सिएकोछु। सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मा.वि. पढाएको छु। आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ’, मनकुमारीले भनिन्।

गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन सुष्मा। राष्ट्रपति कप हुने भन्दा बित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो। नभन्दै साथीहरू माझ अव्वल सावित भएर छनौट भएको  प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले बताए।

‘सुष्माको प्रदर्शनले आफूहरूलाई हर्षित बनाएको विद्यालयका निमित्त प्रधानाध्यापक लेख बहादुर हमालले बताए।

‘विद्यालयको नाम राखेकी छन्। विद्यालयले गर्नु पर्ने सहयोगमा हामी कमी हुन दिने छैनौं’, हमालले भने।  सुष्माले पनि आफूलाई विद्यालय र साथीहरूले धेरै सहयोग गरेको बताइन्। ‘अहिले विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकुँ। यहि सपना बोकेर पोखरा जानेछु। आमाको सपना पूरा गर्नेछु। मेरा पदकहरू आमाबुबालाई समर्पण छ’, खुशी व्यक्त गर्दै सुष्माले भनिन्।

राष्ट्रपति कपले सुष्मा जस्ता लुकेका प्रतिभा प्रष्टफुटन  गर्न सहयोगी सिद्ध भएको छ। सुष्मा र सुष्मा जस्ता कैयन सुष्मा जसको हातमा तीन स्वर्ण सहित चार पदक घाटीमा झुण्डिदा खुशी साट्ने बुबा साथमा छैनन्। तर पनि सिंगो समाज सुष्माको अभिभावक बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank