काठमाडौं — नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको आर्थिक वर्ष २०७८/०७९ को सँस्कृति प्रवर्द्धन कार्यक्रममा समावेश भएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार छनौट गरेको छ ।
प्रतिभा पुरस्कार, २०७८ का लागि विभिन्न विधा र स्रष्टाहरूलाई पुरस्कृत गर्न (माननीय मन्त्रीस्तर) को मिति २०७९/०३/१० को निर्णयणानुसार समर्पण गर्ने निर्णय गरिएको मन्त्रालयले सम्प्रेषण गरेकोे प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भाषा एवम् साहित्य विधातर्फको राष्ट्रिय तथा प्रादेशिक पुरस्कारमा समेत एकल जातीय नश्लवाद झल्किएको देखिन्छ । जाति, क्षेत्र र प्रदेश सन्तुलनको नौटंकी गरिए तापनि त्यो केवल कर्मकाण्डी मात्रै देखिन्छ । यस विधाका राष्ट्रिय प्रतिभा पुरस्कारमा छनौट गरिएका सोमराज अभय कट्टेल सहित ८ जना छनौट गरिएका छन् ।
८ जनामा एकजना चौधरी बाहेक ७ जना खस-बाहुन मात्रै छन् । गणतान्त्रिक समावेशी लोकतन्त्रमा पञ्चायतलाई समेत माथ गरेको छ । जनताको शासन गणतन्त्रमा यस्तो हुन्छ ? यस पुरस्कारको नामै खस-बाहुन प्रतिभा पुरस्कार नामकरण गरिदिए फरक नपर्ला । शासकहरूले विभिन्न नाममा राज्य संरचनामा तर मारिरहेका छन् । प्रतिभा र पुरस्कारको नाममा यो अर्को जातिवाद र लुट नभएर के हो ?
सँस्कृति विधा तर्फको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार पनि राष्ट्रिय सहित ८ जना छनौट गरिएको छ । यसमा पनि बहुमत ५ जना खस-बाहुनबाटै छनौट गरिएको छ । ३ जना मात्रै जनजातिबाट छनौट भएका छन् । सँस्कृतिविधामा राष्ट्रिय प्रतिभा भनेर छनौट गरिएका डा. रमेश ढुङ्गेल अन्तर्राष्ट्रिय प्रतिभा हुन् । उनले मन्त्रालयले जारी गरेको सुचना अनुसार आवेदन दिएका पनि होइनन् उनलाई विना आवेदन, प्रक्रिया भन्दा बाहिरबाट छनौट गरिएको छ । यहाँ स्मरणीय के छ भने ढुङ्गेल यसअघि यस्तै प्रतिभा छनौट समितिका सदस्य भइसकेका पात्र हुन् । उनी अन्तर्राष्ट्रिय प्रतिभा भएर सानो राष्ट्रिय प्रतिभा पुरस्कारमा दाबी गर्नु नीतिगत र विधिगत रूपमा मिल्ने विषय होइन । आफै छनौट समितिमा पहिला बसेको व्यक्तिले पुरस्कार लिनु र दिनु दुवै पक्षले अख्तियारको दुरुपयोग गरेको ठहर्छ ।
नेपाल सरकारले दिने यस्तो महत्वपूर्ण पुरस्कार छनौटमा यस्तो गलत संस्कारको अभ्यास र थालनी गर्ने व्यक्ति, पात्र र संस्थालाई अख्तियार दुरुपयोग गरेकोे अपराधमा हदैसम्मको कारवाही सही संस्कारको थालनी हुनुपर्दछ । अन्यथा यस्तो गलत अभ्यासले आगामी दिनमा पुरस्कार र पात्रको महत्त्व र गरिमा बच्न सक्दैन ।
त्यसैगरी ललितकला विधा तर्फको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार र सङ्गीत तथा नाट्य विधा तर्फको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारमा केही जातीय सन्तुलन मिलाउन खोजेको देखिन्छ । तर करिब ३० प्रतिशत जनसंख्या रहेको खस-बाहुनकै बहुमत छनौट गरिएको पाइन्छ । नेपालको कलासँस्कृतिको मुल खम्बा दलित, जनजाति र तराई–मधेसीलाई उही साक्षी किनारा मात्रै बनाइएको देखिन्छ । बहिष्करण, किनाराकृत,अलगीकरण, अदृष्यकरण गरिएका समुदाय र विगतमा सबैका भाग एक्लै ओगटेका प्रभुत्ववादी र वर्चस्वशाली समुदायका प्रतिभा छनौटको विधि, प्रक्रिया र मापदण्ड एउटै बनाइनु न्यायसंगत हुनैसक्दैन । आगामी दिनमा प्रतिभा छनौट मापदण्डमा व्यापक परिमार्जन, छनौट समिति पूर्णरूपमा समानुपातिक बनाइनुपर्छ । अख्तियारको दुरुपयोग गरेर मनोमानी गर्ने प्रवृत्तिले निरन्तरता पाउनु हुँदैन । सम्बन्धित निकायले बेलैमा ख्याल गरोस । पुरस्कारको नाममा जातिवादी अभ्यासको सनातनी मान्यतालाई स्थापित गर्ने रकमी अभ्यास बन्द गरिनुपर्छ ।
Leave a Reply