गाउँ नै शोकमा : एउटै वडाका १४ जनाको मृत्यु

दलित अनलाईन ३० बैशाख २०७९, शुक्रबार १८:४०

स्याङ्जा— मतदाता बोकेर स्याङ्जाको सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग.२ प ३०२६ नम्बरको जीप वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासमा दुर्घटना भएको हो। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मतदाता बोकेको जीप अर्खलबासस्थित भित्री सडकखण्डबाट करीब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, स्याङ्याका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।

डीएसपी खनालका अनुसार, दुर्घटनामा मृत्यु हुनेहरू सबै वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबासका रहेका छन्। दुर्घटनापछि गाउँ नै शोकमा डुबेको डीएसपी खनालले बताए।

प्रहरीका अनुसार, दुर्घटनामा ५० वर्षीय कुलदीप कुँवर, नौ वर्षीय प्रवीण कुँवर, ६३ वर्षीया माया पुन, ५० वर्षीया टेककला कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ७० वर्षीया भीमकला कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञान दली कुँवर, ५० वर्षीया मीना कुँवर, २५ वर्षीया जमुना कुँवर र उमेर नखुलेकी फूलदेवी कुँवरको मृत्यु भएको छ।

दुर्घटनामा १२ जना घाइते भएका छन्। जीप चालक भुलबहादुर कुँवर, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, बेलमाया कुँवर, गौतमी थापा, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, सीता कुँवर, ज्यामकली कुँवर र कौशल कुँवर घाइते भएका हुन्। उनीहरूको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये जीप चालक भुलबहादुर गम्भीर घाइते भएका छन्। त्यस्तै, घाइतेमध्ये ५५ वर्षीय नेत्रबहादुर कुँवरको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको डीएसपी खनालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank