भुइँ तहका मान्छेहरुकै लागि बनेका हुन् स्थानीय तहहरु । हरेक दुःख, सुखमा साथ दिने भएकै कारण स्थानीय तह जनताको सबैभन्दा नजिकका साथी हुन् । तर बितेको पाँच वर्षमा स्थानीय तहका कतिपय जनप्रतिनिधिको हर्कतले जनतालाई हैरानी दियाे । जसकै बदलास्वरुप गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदाताले जनप्रतिनिधि छान्दा निकै सोच्नु पर्ने अवस्था देखियो । यस्तो अवस्थामा पनि केही यस्ता जनप्रतिनिधि छन्, जसलाई विगतको काम देखेर जनताले सहजै निर्वाचित गराइदिएका छन् । त्यसमध्येका एक हुन्, बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली । दोस्रो कार्यकालका लागि जनताको भारी साथ पाएका नेपालीले विगतमा जस्तै तलब/भत्ता र गाडी/घोडा नलिने घोषणा गरेका छन् । बरु आफ्नै लगानीमा जनताका पीरमर्का हल हुनेगरी काम गर्ने उनको योजना छ । उनै नगरप्रमुख नेपालीसँग लागि सन्तोष विके थापाले गरेको कुराकानी:
विगतको कार्यकालमा पनि तलब/भत्ता लिनु भएन । गाडी घोडा चढ्नु भएन । दोस्रो कार्यकाल निर्वाचित भएपछि पनि त्यही घोषणा गर्नुभएको छ । किन ?
२०७४ सालको निर्वाचनमा पहिलोपटक निर्वाचित भएपछि मैले घोषणा नै गरेको थिएँ कि, कुनै सुविधा नलिने भनेर । त्यही अनुसार विगतको कार्यकालमा मैल तलब/भत्ता र गाडी/घोडाको सुविधा लिइनँ । त्यहाँबाट पाउने सुेवा सुविधा जनताकै काममा खर्च भयो । मलाई के लाग्छ भने, जनताकै खुन, पसिनाबाट आएको पैसा चुस्त-दुरुस्त राख्नुपर्छ र उनीहरुकै लागि खर्च गर्नुपर्छ । म ग्रासरुटबाट संघर्ष गर्दै यहाँसम्म आएको मान्छे हो । ममा लोभ लालच छैन । निर्वाचनका बेला जनताका अघि हात जोड्दै जान सक्ने हामी निर्वाचनपछि पनि त्यसैगरी जान सक्नुपर्छ । कुनै ढाँट छल नगरी काम गर्नुपर्छ । मेयरले सामान्य सेवा सुविधा लिँदा पनि पाँच वर्षमा ६० लाख रूपैयाँ जति हुन्छ । त्यो पैसा विकास निर्माणमै खर्च गर्न सकियो भने त जनताका धेरै समस्या हल हुन्छन् ।
विगतको कार्यकालको ६० लाख कहाँ खर्च गर्नुभयो ?
होइन, मैले लिएकै छैन । त्यो पैसा नगरपालिकामा आएको बजेटमै रहेर विकास निर्माणमा खर्च भएको छ । मैले ल्याएर अरु ठाउँ लगाउने काम पनि गरिनँ । किन भने, जनताको लागि आएको पैसाले बाटो खनिन्छ । बरु म चढ्ने गाडीका लागि आएको पैसाले एउटा डोजर र ट्याक्टर किनेको छु । ट्याक्टरले अहिले फोहोर सफा गरिरहेको छ । डोजरले विकटका ठाउँमा बाटो खन्नेदेखि भत्किएका ठाउँमा मर्मत र सरसफाई गर्ने काम गरिरहेको छ । मैले आफू बस्ने कार्यकक्ष पनि निजी पैसाले सरसजावट गरेको छु । कार्पेट, पर्दादेखि टेबल, कुर्सी मेरो आफ्नै पैसाले किनेकाे छु ।
यो कार्यकालको पैसा पनि त्यसरी नै खर्च हुन्छ कि केही फरक सोच्नु भएको छ ?
त्यसरी नै खर्च हुन्छ । म कुनै पनि सेवा सुविधा र रकम लिन्नँ । जनताको पैसा जनताकै लागि खर्च होस् । बरु आफ्नै लगानीमा अरु थुप्रै काम गरेको छु ।
दोस्रोपटक पनि फेरि मेयरमा लोभ किन देखाउनु भयो ?
खासमा त मैले यो कार्यकाल दोहोरिने इच्छा नै गरेको थिइनँ । तर जनताकै प्रेसरले उम्मेदवार भएर गठबन्धनलाई पराजित गरेको हुँ । जनताले निर्वाचित गराउँछन् भन्ने पहिले नै थाहा थियो । देवकुमार नेपाली ढोरपाटनमा चाहिन्छ भन्ने जनताको चाहना हो । किनकि मैले विशुद्ध जनताकाे काम गरेको थिएँ । खोट लगाउन सक्ने कुनै काम गरेको छैन ।
त्यस्ताे के-के काम गर्नुभयो ?
मैले आफ्नो व्यक्तिगत पैसाले १३ सय घरका छाना फेरिदिएकाे छु । खरको छाना विस्थापित गरेर जस्तापाताको लगाइदिएको छु । त्यो सबै मेरो आफ्नै लगानी हो । एउटा घरको छाना फेर्न १५ देखि १८ हजार रूपैयाँ खर्च भएको छ । विगत १२/१५ वर्षदेखि नै गरिबका छाना फेर्ने काम गरिरहेको थिएँ । किन भने, म आफैँ एउटा दलितको छोरा हुँ । खाना-छानाकै पीडा भोगेर आएको हुँ । सबैभन्दा बढी आगलागीको जोखिम खरकै छानामा छ । त्यसबाट बच्नका लागि पनि छाना विस्थापित गर्न लागिपरेको हुँ । यहाँसम्म आउन निकै संघर्ष गरेको छु । कोरोना महामारीको बेला २५ सय घरपरिवारलाई आफ्नै लगानीमा राहत वितरण गरे । जनताको समस्या नै आफ्नोजस्तो लाग्छ । शिक्षाको क्षेत्रमा सुधार ल्याउन १५ वर्षयता ८० जनाभन्दा धेरै शिक्षक राखेँ, आफ्नै लगानीमा । एकसय जनाभन्दा धेरै सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेको छु । मेरा जनता अस्पताल नपुगी मर्ने अवस्था आयो भने अहिले पनि हेलिकप्टरमार्फत उद्धार गर्ने वाचा गरेको छु । गाउँकै लागि पनि एउटा निजी एम्बुलेन्स किनेर राखिदिएको छु ।
एकजना मेयरले व्यक्तिगत रुपमै यति धेरै काम गर्नु सकारात्मक विषय हो । तर यसको स्रोत के हो भन्ने प्रश्न आउँछ नि ? मेयरले यतिधेरै खर्च आफ्नै व्यक्तिगत रुपमा कसरी गर्न सक्छ भन्ने प्रश्न त पक्कै उठ्छ ।
स्रोत इच्छा शक्ति हो । जनताको काम गर्ने हुटहुटी भयो भने स्रोत यतिकै जुट्छ । कतै ऋण गरियो, कतै आफ्नै भएको सम्पत्ति बेचियो । त्यसरी नै खर्च गर्दै आएको छु । एकपेट खाएर भए पनि जनताको सेवा गर्नुपर्छ भन्ने उद्देश्य हो । मैले आफ्नै कुरा गर्दा १३ वर्षको उमेरसम्म जुत्ताचप्पल लगाउन पाइनँ । त्यसमा पनि दलित समुदायको परिवारमा जन्मिएकाले धेरै समस्या भोग्नुपर्यो । मूल कुरा अब जनताको चेतनाको स्तरमा वृद्धि गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईँले चुनावमा होमिदैँ गर्दा र निर्वाचित भइसकेपछि थुप्रै वाचा गर्नुभएको थियो । त्यसमध्ये बजार क्षेत्रका सबै बाटाे कालाेपत्रे गर्ने, ढोरपाटनसम्मकै बाटो कालाेपत्रे गर्ने र १९/२० करोड खर्चिएर १५ शय्याको अस्पताल निर्माण गर्छु भन्नुभएको थियो । काम सुरु भयो ?
बजार क्षेत्र ९० प्रतिशत कालाेपत्रे भइसक्यो । बाँकी पनि हुँदैछ । ढोरपाटनमा १५ शय्याको अस्पताल शिलान्यास गरिएको छ । टेन्डर भएर पास पनि भइसक्यो ।
अनि ढोरपाटनको बाटो कालाेपत्रे गर्ने कुरा ?
यो बाटोको विषयमा प्रष्ट भन्नुपर्दा, सालझण्डी-ढोरपाटन प्रोजेक्ट अन्तर्गतको बाटो हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा छिटोभन्दा छिटो निर्माण गर्न हामीले पहल पनि गरेका थियौं । आएको बजेट उतै सालझण्डी अर्घाखाँचीतिरै खर्च हुने र यता कामै नहुने भएको छ ।
भन्नुको मतलब, संघसँग जोडिएको प्रोजेक्ट भएकाले निर्माणमा ढिलाइ भएको भन्न खोज्नु भएको हो ?
यो जिम्मा संघकै हो । बरु हामीले बुर्तिबाङदेखि ढोरपाटनसम्म छुट्टै प्याकेज छुट्टाउन लगाएर ६० करोड बजेट विनियोजन गर्न लगाएका छौं । अहिले त्यहीअनुसार टेन्डर भएर पनि काम सुरु भइसकेको छ ।
तपाईँको अर्काे वाचा पनि थियो, केन्द्रीय प्रशारण लाइन गाउँ-गाउँमा पुर्याउँछु । फलामखानीको अध्ययन पनि गर्छु भन्नुभएको थियो । सुरु भयो ?
अब सुन्नुस्, केन्द्रीय लाइन बुर्तिबाङदेखि गोबाङसम्म पुर्याइसकिएको छ । हाम्रो लक्ष्य ढोरपाटनसम्म पुर्याउने हो । अब १५/१६ किलोमिटरमात्रै बाँकी होला ढोरपाटन पुर्याउन, त्यो चाँडै हुन्छ । अब फलामखानीको कुरा, हाम्रा पूर्खाहरुले त्यहाँबाट निकालेको फलामका भाँडाकुडा अहिले पनि छन् । यसलाई अध्ययन गर्नका लागि हामीले बजेट छुट्याएर विज्ञहरु बोलाउने योजना बनाएका छौं ।
घर-घरमा स्वास्थ्य क्लिनिक, टोल-टोलमा शिक्षा भन्ने पनि तपाईँको नारा थियो नि ? कस्तो छ अवस्थामा कहाँ कति स्वास्थ्य क्लिनिक छन् ?
अलिकति पायक नपर्ने टोलहरुमा स्वास्थ्य क्लिनिकको व्यवस्था गरिसकेका छौं । अब शिक्षाको कुरा गर्दा, बच्चा पढाउनकै लागि बजार झर्ने क्रम बढ्दो छ । त्यसलाई रोक्न पनि हामीले बालशिक्षाको योजना बनाएका छौं । धेरै ठाउँमा पढाई पनि सुरु भइसकेको छ ।
सबैभन्दा आकर्षक त, नौं वटै वडामा फ्रि वाईफाईको घोषणा गर्नुभएको थियो । बजार क्षेत्रमा मात्रै हो कि गाउँका जनताले पनि पाउँछन् यो सुविधा ?
हामी एक नम्बर वडाबाट सुरु गर्दैछौं । टेलिकमको फाइबर बिच्छ्याइँदै छ । टेलिकमसँग परामर्श गर्दा सम्भव भनिएके छ । अहिलेको जमाना के भयो भने, बच्चादेखि वृद्धसम्म वाईफाईको प्रयोग गर्छन् । बालबालिकाको पढाईमा पनि इन्टरनेट अपरिहार्य भएको छ । यसलाई जसरी हुन्छ बनाएरै छाड्छौं ।
सबै पालिकाहरुले धमाधम बजेट ल्याइरहेका छन् । तपाईँले कस्तो बजेट ल्याउँदै हुनुहुन्छ । कस्तो छ बजेटको आकार ?
यो महिनाको अन्तिममा बजेट पास गर्ने तयारी छ । लगभग ३७ करोडको बजेट आउँदैछ ।
के-के विषय समेटिएक छन् । कस्तो क्षेत्रलाई प्राथमिकता दिनु भएको छ ?
बजेटको प्राथमिकता सबैभन्दा धेरै कृषिमा छ । पूर्वाधारभन्दा कृषि र पशु व्यवसायलाई प्राथमिकतामा राखिएको छ । किनभने, धेरै साथीहरु विदेश गएर आएका हुनुहुन्छ । उहाँहरूले धेरै कुरा सिकेर आउनु भएको छ । त्यही भएर पनि कृषिलाई प्राथमिकता दिइएको छ ।
स्थानीयस्तरमै लगानी गर्न चाहने युवापंक्तिलाई बजेटले सम्बोधन गर्न सक्छ ?
उहाँहरुलाई पूर्ण साथ दिनेगरी बजेट आउँछ ।
गरेका वाचा पूरा हुन सक्नेगरी बजेट आउँछ त ?
जनताको अपेक्षाअनुसार हामी बजेट तयार गर्न सक्दैनौं । किनकि ढाेरपाटन आफैंमा सानो नगरपालिका हाे । बजेट पनि ठूलो आएको छैन । ३७ करोडमा कर्मचारीको तलब, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा लगायतका विषयमा बढी खर्च हुन्छ । हामीले काम गर्नसक्ने बजेट बढीमा १०/१२ करोडमात्रै हो ।
विगतमा पनि बाढी, पहिरोका कारण ठूलो धनजनको क्षति ब्यहोर्नु परेको छ । अहिले पनि अवस्था जोखिमपूर्ण छ । आफ्ना नागरिकलाई सुरक्षित गर्ने तयारी के छ ?
हाम्रो जस्तो पहाडी भू-भागमा निकै अप्ठ्याराे विषय रहेछ यो । गफ गर्न सजिलो हुन्छ, काम गर्न निकै गाह्रो रहेछ । हामीले जनतालाई सतर्कता रहनुस् भन्ने मात्रै हो । त्योभन्दा बढी केही गर्न नसक्ने अवस्था छ । सबै खोला-खोलामा बस्ती छ । खोलामा तटबन्ध लगाउन धेरै पैसा लाग्ने भयो । केन्द्रमा अनुरोध गरिएको छ । अहिलेको अवस्था मलमपट्टी लगाउनभन्दा अरु छैन ।
Leave a Reply