सात चलचित्र : जसले नेपाली भूमिप्रति माया दर्शाए

सुधीर खाती ३ जेष्ठ २०७७, शनिबार १३:२१

संयुक्त राज्य अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगनले भनेका थिए ‘‘यदि हामी हाम्रो देशलाई माया गछौँ भने, हामीले हाम्रा देशवासीहरूलाई पनि माया गर्नुपर्छ ।’’ नेपाली चलचित्र इतिहासमा पनि थुप्रै त्यस्ता गीतहरू समावेश गरिएका छन् जसले आफ्नो देश, जनता र माटोलाई माया गर्न प्रेरित गर्दछ । आज नेपाली भू– भाग लिम्पियाधुरा, लिपु लेक लगायत कालापानी क्षेत्रमा भारतीय विस्तारवादी र साम्राज्यवादी सरकारद्धारा अनधिकृत रुपले अतिक्रमण भएको छ । भारतीय अतिक्रमणले नेपाली राष्ट्रियता र सार्वभौमसत्तालाई नजरअन्दाज गरेको छ । भारतीय विस्तारवादी रवैयाकै कारण देशका पूर्वप्रधानमन्त्री, मन्त्री, विशिष्ट व्यत्तित्व तथा आम नागरिकद्धारा नेपाल भारत सिमानामा सके पर्खाल नभए काँडेतार राख्नु पर्छ भन्ने जनमत उर्लीरहेको अवस्था छ । साथ साथै देश विदेशमा रहेका नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी तथा शुभचिन्तकहरु भारतीय विस्तारवादको विरोधमा उत्रिएका छन् । ‘‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’’ जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ भन्ने मर्म र भाव नेपाली जनमनमा पाइन्छ । नेपाली चलचित्रका गीतहरूमा पनि देश भक्ति र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ भन्ने मर्म र भाव बोकेका गीतहरू प्रशस्त मात्रामा सुन्न पाइन्छ । नेपाली चलचित्रका सात देश भक्तिपूर्ण गीतहरू यस प्रकार रहेको छ ।
१. चलचित्र – माइतीघर गीत – ‘‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’’
माइतीघर वि.स. २०२३ पौष १ गते प्रदर्शित नेपाली कथानक चलचित्र हो । बि.एस. थापाको निर्देशनमा बनेको चलचित्रमा बलिउडका चर्चित नायिका माला सिन्हा र सि.पी लोहनीको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा समावेश गीत ‘‘वसन्त नै बस्न खोज्छ यँहा (नेपालमा) लोलाएर’’ लाई नेपाली चलचित्रको प्रथम देशप्रेमले प्रेरित गीत मान्न सकिन्छ किनकी चलचित्र माइतीघर भन्दा पहिला नेपाली भाषामा २ वटा सिनेमा मात्र निर्माण भएको थियो । जुन चलचित्रहरूमा माइतीघरमा जस्तै देश पे्रमले भरिएका गीतहरू समावेश छैनन् ।
किरण खरेलको रचना जयदेवको संगीत र बलिउड गायिका आशा भोषलेको स्वरले सजिएको गीतमा नायिका माला सिन्हा र सि.पी. लोहनीले अभिनय गरेका छन् । यस गीतको समयावधि ५ मिनेट ३१ सेकेण्ड रहेको छ । नारी पात्रद्वारा आफ्नो माइतीघर (नेपाल) प्राणभन्दा प्यारो र स्वर्ग भन्दा सुन्दर भनेर मुक्तकण्ठले प्रशंसा गरेकी छिन् । यो गीतमा परम्परागत नेपाली बाजाहरू मादल र बासुरीका साथै ग्रामीण परिवेश झल्काउने हँसिया, डोको र नाङ्गलो जस्ता सामाग्रीहरू देख्न सकिन्छ । छायाङ्कनको क्रममा हिमाल, पहाड र ताल तलैयाका सुन्दर दृश्यहरूलाई कैद गरिएको पाइन्छ । अधिकांश समयमा वाइड, फुल र मिडियम सटहरूको प्रयोग गरिएता पनि धरहरा लगायत पुरानो काठमाण्डौं सहरको चित्र लिन हाइ एङ्गल सटको प्रयोग गरिएको छ । नायिका माला सिन्हाको बेजोड नृत्यले गीतमा थप उर्जा थपेको छ ।
२. चलचित्र – नेपाली बाबु गीत – “म हुँ नेपाली बाबु”
“नेपाली बाबु” बि.स.२०५६ जेष्ठ १७ गते प्रदर्शित चलचित्र हो । यो चलचित्रको निर्देशक उगेन छोपेल हुन् । यस चलचित्रमा मूख्य कलाकारहरू भुवन के.सी., सुस्मिता के.सी. र दिलीप रायमाझी हुन् । भुवन के.सी.ले यस चलचित्रबाट दर्शकहरूको अपार माया पाएका थिए । उनी अभिनित उत्कृष्ट चलचित्रहरू मध्ये “नेपाली बाबु” पनि एक हो । नेपाली बाबु चलचित्रमा समावेश “म हँु नेपाली बाबु मेड इन नेपाल” बोलको गीत दर्शकहरूमाझ अति नै लोकप्रिय हुन पुग्यो । जसको मूख्यकारण यस गीतले राष्ट्रिय भावानालाई उजागर गर्नु हो । यस गीतमा समावेश लालीगुराँस, डाँफे, सगरमाथा, भादगाँउले टोपी, खुकुरी, सारङ्गी, मेचीकाली, पशुपति, सीता, बुद्ध जस्ता शब्दहरूले गीतको ओझ बढाउनुका अतिरिक्त नेपालीपन झल्काउँछ । यस गीतमा नायक भुवन के.सी. लाई राष्ट्रिय पोशाक दौरा सुरुवाल र तराई मधेशको पहिरनमा सजिएको देख्न सकिन्छ । साथै नेपाली राष्ट्रिय झण्डाहरूको समेत भरपुर प्रयोग भएको छ । गीतको अन्ततिर “हाम्रो नेपाल देखि सबै दङ्ग पर्ने ” जस्ता हरफले देशको सुन्दरतालाई दर्साउँछ । यस गीतमा शब्द, पहिरन, प्रस्तुति र दृश्यावलोकनलाई उचित ढङ्गले समायोजन गरेको पाइन्छ । अन्तमा नेपाली बाबुको यस गीतलाई राष्ट्रिय भावनाले प्रेरित भएको गीत हो भन्दा अन्यथा अर्थ नलाग्ला ।
३. चलचित्र – बलिदान गीत – “गाऊँ गाऊँबाट उठ्”
तुलसी घिमिरेद्वारा निर्देशित सुपरहिट चलचित्र बलिदान बि.स.२०५३ चैत्र २८ गते प्रदर्शित चलचित्र हो । वलिदान राजनीति–प्रधान चलचित्र हो । यस चलचित्रमा समावेश “गाऊ गाऊबाट उठ्” बोलको गीतले समग्र युवा वर्गलाई देश निमार्णमा जुट्न आव्हान गर्दछ साथै देशको विग्रदो शासन व्यवस्था अन्तको लागि सम्पूर्ण देशवासीहरू एकाकार हुनुपर्ने संदेश प्रवाह गर्दछ । वरिष्ठ गायक रामेश श्रेष्ठको स्वर रहेको यस गीतमा कलाकार हरिवंश आचार्य, अंजना श्रेष्ठ र अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ । कुल ३ मिनेट २५ सेकेण्डको गीतमा ग्रामीण परिवेशलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको आभास पाइन्छ ।
हरिवंश आाचार्यद्वारा सानो बालकलाई हातमा समाउँदा होस् वा डोकोमा भारी बिसाएका वयोवृद्ध जेष्ठ नागरिक छेउ पुग्दा होस् । यी दुई क्षणलाई क्लोज सट मार्फत छायाङ्कन गरिएको छ । सम्रगमा “गाऊ गाऊबाट उठ्” बोलको गीतले राष्ट्रिय जागरण र परिवर्तनको पक्षमा सशक्त आवाज उठाएको छ । यो गीतलाई सदावहार गीतको संज्ञा दिँदा पनि हुन्छ । साथै यो गीत जति पटक सुन्दा पनि धीत नमर्ने बरु सुनौ सुनौ र हेरौ हरौ जस्तो लाग्नेछ ।
४. चलचित्र – माटो बोल्छ गीत – “माटो बोल्छ”
“माटो बोल्छ” देश प्रेमलाई केन्द्रमा राखेर निमार्ण गरिएको चलचित्र हो । यो बि.स. २०५६ भाद्र २१ गते प्रदर्शित चलचित्र हो । यस चलचित्रका मूख्य कलाकारहरू राजेश हमाल, विपना थापा, मेलिना मानन्धर, दिनेश शर्मा, नीर शाह, सुशिला रायमाझी र सुनिल थापा हुन् । उद्वव पौडेलको प्रस्तुति रहेको यस चलचित्रलाई रेशराज आर्चायले निर्देशन गरेका हुन् । यस चलचित्रमा समावेश “माटो बोल्छ” बोलको गीतले देश पे्रम दर्साउँछ । यस गीतमा यम बराल र ज्ञानु राणको युगल स्वर रहेको छ । कुल ४ मिनेट ३५ सेकेण्डको यस गीतमा वरिष्ठ कलाकार नीर शाह र सुशिला रायमाझीका साथैे बाल–कलाकारले समेत अभिनय गरेका छन् । गीतको प्रारम्भमा बाल–कलाकारले नेपाल प्रहरीको टोपी लगाएको र नेपाली राष्ट्रिय झण्डालाई जमिनमाथि गाडेको दृश्य देख्न सकिन्छ । जुन दृश्यले दर्शकलाई देश भक्तिपूर्ण गीत हो भनि अड्कल लगाउन सजिलै मद्दत पु¥याउँदछ । बाल–कलाकारले जमिनमाथि झण्डा गाड्ने वित्तिकै आफ्ना आमा बुबालाई सलाम गर्दछ । यस गीतमा रहेको “यो माटोको टीका लगाउ, यो देशको माटो बोल्छ” जस्ता हरफले देशप्रतिको प्रेमलाई उजागर गर्दछ । साथै बाल कलाकारले नेपाली राष्ट्रिय झण्डा समाउदै “रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो” भन्दै गीत गाउँछ । यस किसिमको दृश्यले दर्शकदिर्घामा राष्ट्रिय भावना सृजना गर्दछ । यो गीतले देशको जमिन बाझो राख्नु हुदैन । श्रम ग¥यौ भने देशकै माटोमा मोती फुलाउन सक्छौ भन्ने सन्देश दिएको छ । बाल कलाकारले पहिरेको ढाका टोपी, नीर शाह र सुशिला रायमाभीmले लगाएका ग्रामीण पहिरनले गीतमा थप सौन्र्दयता थपेको छ । गीतको अन्ततिर सहिद गेट र बौद्ध गुम्बाको तस्वीर सगँसगै बुद्ध, सीता र सहिदहरू यही देशको माटोमा जन्मेका हुन् भन्ने कुरालाई जोड दिएको छ ।
५. चलचित्र – लाहुरे गीत “वीरताको चिनो”
तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र लाहुरे बि.स. २०४५–४६ मा र्निमित चलचित्र हो । यस चलचित्रले विश्वभरि छरिएर रहेका गोर्खाली नेपालीहरूको वीर गाथालाई प्रतिनिधित्व गर्दछ । यो चलचित्रमा समावेश “वीरताको चिनो वीरको सन्तान” बोलको गीतले नेपालीजातिहरूको वीरता र पराक्रमलाई सम्बोधन गरेको छ । यस गीतको समयावधि ४ मिनेट १५ सेकेण्ड रहेको छ । स्वर सम्राट नारायण गोपालको स्वर र रंजित गजमेरको सङ्गीतमा तुलसी घिमिरे, तृप्ति नाडकर र बाल–कलाकारको अभिनय रहेको छ । गीतको प्रारम्भ देखी अन्त सम्म बाल कलाकार र तुलसी घिमिरेलाई खाली खुट्टैमा देख्न सकिन्छ । कलाकारहरूले लगाउने भादगाउँले टोपी, बोक्ने खुकुरीका साथ साथै हिमाल, पहाड र जङ्गलका दृश्यहरूले दर्शकलाई मन्त्रमुग्ध बनाउँदछ ।
६. चलचित्र – धर्म संकट गीत – “मलाई नेपाली माया मन पर्छ”
“धर्म संकट” बि.स. २०५५ साउन १६ गते प्रदर्शित चलचित्र हो । यस चलचित्रमा समावेश “मलाई नेपाली माया मन पर्छ” बोलको गीतले राष्ट्रिय भावना र प्रेमलाई प्रतिनिधित्व गरेको छ । देविका प्रधानको एकल स्वर रहेको यस गीतको समयावधि ५ मिनेट १२ सेकेण्ड रहेको छ । बुढासुब्बा डिजिटलको प्रस्तुति रहेको यस गीतमा नायिका झरना थापालाई नायक रमेश उप्रेतीले साथ दिएका छन् । यस गीतमा “मलाई नेपाली माया मन पर्छ” र “मलाई नेपाली माया चाहिन्छ” जस्ता हरफहरू ६–६ पटक प्रयोग भएको छ । नायिका थापाद्वारा लगाइएका विभिन्न जात–जाति झल्काउने पहिरनहरूले अनेकतामा एकताको सन्देश प्रवाह गर्दछ । यस गीतका अधिकांश दृश्यहरूमा काठमाण्डाँैमा अवस्थित विश्व सम्पदा क्षेत्रहरू देख्न सकिन्छ । गीतको मध्यभाग तिर “कान्छीलाई घुमाउने काठमाण्डौं सहर” बोलको टुक्काले अभm सोभा बढाएको छ । अन्तमा यस गीतले महिला पात्र मार्फत देश प्रेम र राष्ट्रिय एकतामा जोड दिएको पाइन्छ ।
७. चलचित्र – सिमाना गीत – “उकाली ओराली गर्दै”
“सिमाना” बि.स.२०५२–५३ सालमा र्निमित चलचित्र हो । राजेश हमाल, धिरेन शाक्य र मेलिना मानन्धरको मूख्य भूमिका रहेको यो चलचित्रलाई, प्रकाश शायमीले निर्देशन गरेका हुन् । यस चलचित्रमा समावेश गरिएको “उकाली ओराली गर्दै” बोलको गीतले परदेशमा लामो समय श्रम गरेर स्वदेश फर्किएका युवाहरूको भावनालाई प्रतिनिधित्व गर्दछ । उसको स्वदेश फिर्ती त्यति सहज नभएको र यात्राकै क्रममा आँधीबेरीसँग जुध्दै खोला, नदी र सागर तर्दै आएको जानकारी दिन्छ । प्रतिकूल यात्राका बावजुद उसले स्वदेश फर्कदा नयाँ नयाँ सपना पनि साथैमा ल्याएको छ । गीतमा प्रयोग गरिएका “उकाली – ओराली” जस्ता शब्दहरूले नेपालको भौगोलिक बनावट र अवस्थाको चित्रण गर्दछ ।साथै सयपत्री, सुनाखरी र लालुपाते जस्ता फूलहरू यही भूगोलमा फक्रने फूल हुन् । रत्न शमशेर थापाले रचना गरेको यस गीतमा चर्चित बलिउड गायक सोनु निगमको स्वर र महानायक राजेश हमालको वेजोड अभिनय रहेको छ ।

(लेखक अग्रेजी केन्द्रीय विभाग कीर्तिपुर, काठमाडौंमा पी.एच.डी अध्ययनरत छन् ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank