अन्तरजातीय विवाहमा केन्द्रित उपन्यास : ‘निहारिका’ भित्र के छ ?

दलित अनलाईन १२ पुष २०७६, शनिबार १२:४४

प्रस्तुत उपन्यास अंश प्रकाश तिवारीको हालसालै बजारमा आएको उपन्यास निहारिकाबाट उधृत गरिएको हो । यसअघि  तिवारीका परित्यक्त र निलोफर नामका अन्य दुई आख्यान प्रकाशित भईसकेका छन् ।

 

शारदा घर फर्किँदा साँझ परिसकेको थियो । छोरी देखेर चन्द्रप्रसादको कन्सिरी तात्यो । ‘आज पनि डाङ्रोलाई भेटेर आइस् हैन । नभेटेसम्म खाको पच्दैन कि कसो ? कामीसित मुख जोडेको समाचार गामभरि फैलेको छ । सम्झाउनु सम्झायौँ तर टेरपुच्छर लाइन । अब अति भो । जुन त बाटो आइथिस् त्यै बाटो जा ।’ बुढो गर्जियो ।
‘पत्रिकामा लेखेको झुटो हो । रमनेले फैलाको हल्लाको पछि नलाग्नुस् बुबा !’
‘केको बुबा ! को बुबा ? म¥यो तेरो बुबा !’
बाबुछोरीको चर्काचर्की भयो । हल्लाखल्ला सुनेर गाउँलेहरू जम्मा भए ।
‘रमनले मात्र भन्या हो र ? सबै कामीसित जान लाई भन्चन् । जाने भए गैहाल्, म तेरो मुख पनि हेर्न चाहन्न ।’
‘त्यस दिन हामीले रेस्टुराँमा बसेर चिसो र एकएक प्लेट ममः खाएको मात्रै हो ।’ शारदाले रुँदै भनी ।
‘भेटेको त हो रैच नि । थुक्क कुकुनी ! गाउँभरि बुइँबुइँ छ । छोरी सुध्रेली भनेको तर । यो घरबाट निस्किहाल् ।’ रमा पनि कुर्लिई ।
‘रमाले ठीक भनिन् । अब यौटा टुङ्गोमा पुक्नैपर्च । केजातीलाई भन्दा देख्नीलाई लाज भनेजस्तो । हाम्लाईसमेत लाजमर्नु भैसक्यो ।’ लप्टन्नी कान्छीले थपी ।
दहलफसल चल्दाचल्दै रमनको बाबु वामदेव पनि टुप्लुक्क आइपुग्यो ।
‘बोरामा कुइएको आलु प¥यो भने सबै आलु कुहाउँच । सासू मरी भन्नुभन्दा काल पल्केला भन्नी डरभो । छोरीलाई मोहनेको जिम्मा लाएर आउ चन्द्रप्रसाद !’ उसले भन्यो ।
‘छिमेकीले के भने सुनिस् ?’
‘मलाई मोहनको जिम्मा लाउने कि आफ्नो छोरालाई मखमलीको ९मखमली नाम गरेकी ‘सर्किनी’ युवती) जिम्मा लाउने हो, सोचेर बोल्नुस् ।’ शारदाले कडा जवाफ फर्काई । वामदेव वचनको चोटले घाइते भयोे ।
‘ठुलाबडासँग मुखमुखै लाग्ने ! कुलङ्गार काँकी । ह्याँबाट निस्किहाल् ?’ चन्द्रप्रसाद फेरि कड्कियो ।
‘म किन जाने ? के अपराध गरेकी छु र जाने ?’ शारदाले अड्डी लिई ।
‘यस्ता सन्तान जन्मनुभन्दा कोख बाँझो रहेको राम्रो ! धिक्कार छ तँलाई !’ रमा शारदाको जगल्टा लुछ्न अघि बढी ।
‘मोहनेसित नलाग् भनेर कति सम्झायौँ । हाम्रा लागि तँ मरिस् ! हट्, भाग् !’ चन्द्रप्रसादले शारदालाई घोक्¥यायो । ऊ घरको भित्तामा ठोकिई । टाउको र अनुहारमा चोट लाग्यो ।
रमाले भुइँमा पछारिएकी शारदाको कपाल लुछी ।
‘आजदेखि तँ मेरी छोरी हैनस् । कमिनी होस, कमिनी !’ उसले भनी ।
‘यिनको पक्षमा बोल्दिने कोइ छैन भन्दैमा अत्याचार गर्न त भएन नि ! छोरी हो हजुरहरूकी । पाप लाग्च ।’ रञ्जनालाई दया लाग्यो ।
‘जान्ने हुन्चेस्, ला…!’
रमाले रञ्जनाका गालामा एक चड्कन हानी ।
शारदा आँगनको डिलमा घोप्टो परेर रोइरहेकी थिई ।
‘जा भनेको सुनिनस् ?’ चन्द्रप्रसादले जगल्टा समाएर घिसार्न थाल्योे ।
गाउँलेहरूले चन्द्रप्रसाद र रमाकै पक्ष लिए । बेसहारा शारदा रुँदै रुचिलाको घर पुगी । रुचिलाले शारदालाई आफ्नो कोठामा लगेर राखी ।
भोलिपल्ट मोहन र शारदा जिल्ला अदालत पुगे । उनीहरू पत्रिकामा प्रकाशित समाचारको सत्यतथ्य छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै गाली बेइज्जती मुद्दा दायर गरी फर्किए ।

                                                                                          ०००
साँझ शारदा र मोहन ‘पिपल ट्री रिसोर्ट’मा पुगे । मोहनले शारदालाई रिसोर्टमा बस्ने बन्दोबस्त मिलायो । ‘भोलि व्यवस्थापन समितिको बैठक छ । बैठकमा तिम्रो नियुक्ति र बस्ने कोठा उपलब्ध गराउने प्रस्ताव राख्नेछु ।’ उसले भन्यो ।
बस्ने तारतम्य मिलाएर रातको नौ बजे मोहन घरतर्फ लाग्योे ।
औँसीको रात भएकोले जताततै अन्धकार थियो । ओरपर स्याल कराईरहका थिए । नजिकैको बाँसको झ्याँङ्बाट हुँचिल कराएको त्रासद आवाज आइरहेको थियो । ऊ मोबाइल लाइटको सहारामा अगाडि बढ्दै गयोे । खोल्सोजस्तो ठाउँमा पुगेपछि खस्याक्खुसुक् गरेको आवाज आयो । चारपाँच जना केटाहरू नाटकीय शैलीमा देखापरे । उनीहरूले मुखमा रुमाल बाँधेका थिए । त्यसमध्येको यौटाले मोहनको बाटो छेक्यो । अन्य केटाहरूले परर लाठी वर्षाउन थाले । मोहन भुइँमा पछारियोे ।
‘तैले जनहित माविलाई धरासयी बनाइस् । चलिआएको धर्मसंस्कारलाई माटोमा मिलाइस् । कामी भएर बाहुनकी छोरी ताक्ने अनि उल्टै हामिमाथि गाली बेइजती मुद्दा दिने ?’ छातीमा टेक्दै नकावधारीले भन्योे ।
‘रगत छाद्ने गरी हान् !’ अर्को कुर्लियोे ।
होहल्ला सुनेर परबाट कसैले टर्चलाईट बाल्यो । आक्रमणकारीहरू फरार भए । उनीहरू नजिकै खोला छेउको झाडीमा गएर लुके । मोहनले शारदालाई फोन ग¥यो । केही बेरमा शारदा र रिसोर्ट साहु आइपुगे । शिवराम पनि भाइभतिजाहरूलाई लिएर आइपुग्यो । मोहनको टाउकोमा गहिरो चोट लागेको थियो । शारदा र तुलाराम मिलेर उसलाई पश्चिमाञ्चल अस्पताल पोखरा लिएर गए ।
भोलिपल्ट बिहान दोषीउपर कडा कारबाहीको माग गदै बाबु शिवराम स्थानीय नेताको घर पुग्योे । नेताजीलाई बोल्न गाह्रो प¥यो । लामो मौनतापछि उसले मुख खोल्योे–
‘मैले सबै कुरा बुझेँ । गाउँमा तल्ला जातको दुई अढाई सय भोट हो तर गैर दलितको भोट हजार हाराहारी छ । चुनाव आउँदैछ । थोरै तलवितल भो भने भोट ब्याङ्क बिग्रन्छ । हाम्रो पक्षमा पर्दै आएको भोट विरोधी पार्टीको बाकसमा जान सक्छ । अरू क्यै भए भन्नुस् तर यो विषयमा सरी !’ जवाफ आयो ।
‘उसोभा आउँदो चुनावमा हाम्रो भोट चाइँदैन हैन ? दुई हात जोर्दै भोट माग्न नआउनु नि फेरि ।’ शिवराम रिसले चुर हुँदै नेताको घरबाट निस्कियो ।
ऊ सरासर प्रहरी चौकी पुग्यो । पुग्दा चौकी इन्चार्ज ड्युटीको खटनपटन गर्दै थियो । शिवरामलाई देख्नासाथ चौकी इन्चार्जले कुरा बुझिहाल्यो ।
‘हामीले घटनाको जानकारी पाइसकेका छौँ । अभियुक्तको खोजी हुँदैछ । दश बजे आएर जाहेरी दिनुहोला ।’ उसले जवाफ दियो ।

                                                                                       ०००

पश्चिमाञ्चल अस्पतालमा मोहनको उपचार चल्योे । त्यस रात

शारदा अस्पतालको भुइँमा पछ्यौरा ओछ्याएर सुती । रात बित्यो, बिहान भयो ।
चित्रबेसीका दलितहरू सबेरै अस्पताल पुगे । उनीहरू पुग्दा डाक्टर प्रल्हाद चेकअपमा थियो । ‘सिरियस केही छैन । एक हप्ता अस्पतालमै राखेर उपचार गर्नुपर्छ ।’ प्रल्हादले अवस्था खुलायो ।
‘अहिले तपाईंंलाई कस्तो छ ?’ मलीन अनुहारको साथ शारदाले सोधी ।
‘बिल्कुल ठीक छु ।’ मुस्कुराउँदै मोहनले भन्यो ।
मोहन मानौँ केही भएकै छैन जसरी मुस्कुराइरहेकोे थियो । शारदाले मोहनको हातमा गुलाफको थुङ्गा दिई ।
‘गहिरो चोटका बाबजुद तपार्ईंंँको ओठमा मुस्कान !’ आश्चर्य मिश्रित वाक्यमा शारदाले सोधी–
‘म रुनु तिमीलाई रुवाउनु हो । त्यसैले रुन्न । बरू हाँस्छु, खित्का छोडेर हाँस्छु । सक्छ्यौ भने तिमी पनि हाँस !’
‘ठीक भन्नुभो । हाँसीहाँसी बाँच्नु । हाँसीहाँसी जङ्गार तर्नु । हाँसीहाँसी मर्नु ! रुनेको नजिक को जान्छ ? हाँस्नेले जगत हँसाउँछ ! हाँसो पोख्ने ओँठभित्र सिङ्गो ब्रह्माण्ड अटाउँछ ! तर सधैँ त्यसो गर्न सकिन्न र पो ।’ शारदाले भनी ।
यसरी नै मोहनले छ रात बितायोे ।
सातौँ दिनको बिहानै डाक्टर प्रल्हाद चेकअपका लागि आइपुग्यो ।
‘दृढ इच्छाशक्ति हुनेहरू छिटो तन्दुरुस्त हुन्छन् । तपार्ईंंले घरमै बसेर औषधी खाँदा हुन्छ ।’
उसले डिस्चार्ज गर्न मिल्ने सङ्केत दियो । अपरान्हको समयमा मोहन अस्पतालबाट डिस्चार्ज भयो ।
डिस्चार्ज भएको रात उनीहरू महेन्द्रपुलको होटलमा बसे । ऊ त्यतिबेलासम्म बिस्तारै हिँडडुल गर्न सक्ने भएको थियो ।
त्यस रात मोहन र शारदाले जिन्दगीको भावी मार्गचित्र बनाए । भोलिपल्ट बिहान तुलारामलाई साथमा लिएर उनीहरू सराङ्कोट पुगे ।
सराङ्कोटको आकाशमा बादलका टुक्राहरू फुर्रफुर्र उडिरेका थिए । पर्यटकहरू स्वच्छ मौसमको फाइदा उठाउँदै प्याराग्लाइडिङ गर्ने तयारीमा थिए । तल बेँसीमा फेवा मुस्कुराइरहेकी थिई । पाश्र्वमा माछापुच्छ्रे्र्र हिमाल सेतोे केस फिँजाउँदै हाँसिरहेको थियो ।
मोहनले उद्घोष गर्न लाग्योे–
‘प्रिय भाइ तुलाराम ! यतिखेर हामी जीवनको महत्त्वपूर्ण मोडमा खडा छौँ । अबको केही बेरमा तिमी हाम्रो जीवनमा घट्न लागेको सुखद् परिघटनाको साक्षी बन्नेछौ । क्यामरा उठाई तयार होऊ ।’
तुलाराम हातमा क्यामेरा लिँदै दृश्य कैद गर्न हतारियो । मोहनले खल्तीबाट चाँदीको डिब्बा निकाल्यो अनि माछापुच्छ्रे हिमाललाई साक्षी राख्दै शारदाको सिउँदोमा सिन्दुर हाल्यो । आसपास उपस्थित दर्जनभर मानिसहरूले ताली बजाए । शारदाको आँखाबाट हर्षका आँसु झरे ।
‘आँसु नझार शारदा ! आज हाँस्ने दिन हो । जबसम्म माछापुच्छ्रे्र र फेवाताल यस धर्तीमा रहनेछन्, तबसम्म हाम्रो प्रेम जीवित रहने छ !’ उसले भन्यो ।
शारदाको कवयत्री मन जागृत भयो । ऊ कवितात्मक शैलीमा बोल्न थाली–
‘ओ चराचर जगतको रचयिता, मौन प्रकृति ! तँ घायल प्रेमीको आवाज सुन् ! जबसम्म आकाशमा चन्द्र–सूर्य र तारा– नक्षेत्रहरू झिलमिलाउने छन् । जबसम्म यस धर्तीमा पहाड, खोलानाला, झरना, छहरा गीत सुसेल्दै बग्नेछन् । जबसम्म फेवा, रारा, गण्डकी, कोसी, कर्णाली, गंगा, यमुनाले असीम प्रेमका साथ सागरतर्फको यात्रा जारी राख्नेछन्, तबसम्म प्रेमीहरूको दुनियाँमा हाम्रो नाम अमर रहने छ । अबका प्रेमीहरूले रोमियो जुलियट हैन, लैला मजनु हैन, मुनामदन पनि हैन, शारदा र मोहनको नाम लिने छन् ।’
भावनाको ज्वार उल्र्यो । दुबैका आँखा रसाए । मोहन र शारदा कसिलो अङ्गालोमा बाँधिए ।
‘मेरी शारदा !’ मोहनले भन्यो ।
‘मेरो मोहन !’ शारदाले भनी ।
शारदाले आफूलाई थाम्न सकिन । उसका आँखा साउने झरीझैँ वर्षिन थाले । एकैछिन अघिसम्म स्वच्छ प्रतीत सराङ्गकोटको आकाशमा कालो बादल मडारिन लाग्यो । बिजुली चम्कियो । मेघ गर्जियो । घनघोर वर्षा भयो । मोहन र शारदाले जलिरहेको तन वर्षाको पानीमा भिजाए ।
‘तेरो अभिशेषले तन–मनको जलन शान्त भयो । धन्यवाद छ तँलाई !’ आकाशतिर हेर्दै मोहनले भन्यो ।
विवाहको खबर चित्रेबेसी पुग्यो । दलितहरूले खुसीयाली मनाए ।
मोहनमाथिको क्रूर हमलाले चित्रेबेसीका युवालाई उत्तेजित बनायो । भेला बस्यो । युवाहरूले इँटको जवाफ पथ्थरले दिने कसम खाए ।
शिवराम विश्वकर्मा पिँढीको डिलमा बसेर चिलिममा ककड तान्दै थियो । शान्त, सौम्य, प्राय कसैसित झैझगडा गर्न नचाहने स्वभावको थियो शिवराम । तर त्यस दिन उसको आँखामा क्रोधको ज्वाला दन्किएको थियोे ।
आक्रोसित तीन दर्जन युवाहरू शिवरामको घर पुगे ।
‘ए कालीकी आमा ! कालीकी आमा !’ केटाहरू आएको देखेर शिवरामले आफ्नी बुढीलाई बोलायो ।
शिवरामकी बुढी सुँगुरलाई आहारा खुवाउँदै थिई । ऊ दगुर्दै आई ।
‘बाबुहरू आ छन् । गुन्द्री, काम्लो बिछ्या त ।’
कालीकी आमाले आँगनमा गुन्द्री–काम्ला बिछ्याई ।
‘बस बाबु हो !’
शिवरामको बोली भुइँमा खस्न नपाउँदै युवाहरू बोले । ‘बस्नी हैन जानी । रमन र उसका गुन्डाहरूले मोहन दाइलाई धन्नै ठहरै पारेका । दाइले तिनेरको के बिगा¥या थ्यो ? कामी भनेर हेपेको हैन ?’ भतिजो चतुरे कड्कियोे ।
‘टाउकाँ लाठी वर्षाका रे ! कति दुख्यो होला ।’ स्थानीय प्राविमा पढाउने चिनबहादुर विश्वकर्मा पनि उत्तेजित भयोे ।
‘छातीमा लात हानेका रे !’ लालबहादुरले थप्यो ।
‘त्यसै छोड्न हुन्न बा ! खुनको बदला खुन ! अतिसार भो ।
सबै मिली रमनको घर जाम ।’ माइलो कर्मीको छोरो बेसारे झनै तात्यो ।
‘म पनि त्यो काठालाई कसरी ठीक पार्नी भनेर सोच्तै थिएँ । हिन जाम ।’
शिवराम जुरुक्क उठ्योे ।
कसैले लाठा बोके त कसैले बाँसका भाटा ! युवाहरूको अगुवाइ गर्दै शिवराम निस्कियो । घाँसको भारी बोकेर जाँदै गरेकी रमनकी भाउजू चन्द्रकलाले लाठा, भाटा बोकेर आउँदै गरेका दलितहरूलाई देखी । ऊ हस्याङ्फस्याङ गर्दै घर पुगी ।
‘लौन नि ! के हुन लाग्यो यस्तो ! शिवरामको पछि लाएर एक हुल केटाहरू लाठा, भाटासहित आउँदैछन् । रमन बाबुको नाम लिँदै थिए । हिँजो साँझ चित्रबेसीमा मिटिङ बसेको थियो भन्नी सुन्याथेँ । रमनको हात–खुट्टा भाँच्नुपर्च भन्दै थिए रे !’ घाँसको भारी बिसाउँदै चन्द्रकलाले सुनाई ।
रमनको बाबु वामदेव खाना खानुअघिको आरतीमा थियो । बुढो पूजा चौकीबाटै कड्किन थाल्योे ।
‘आउन् न ह्याँ । मैले पनि जान्याछ ।’
दलितहरू आइपुगे ।
‘ए रमने डाँका बाहिर निस्कि ।’
आँगनमा गर्जन सुरूभयो । रमन टुप्लुक्क आइपुग्यो ।
चन्द्रकलाले रमनलाई घरभित्र लुक्ने सल्लाह दिई तर ऊ पाखुरा सुर्कँदै अघि बढ्यो ।
अनिष्ट हुने डरले चन्द्रकला आत्तिई ।
‘म किन लुक्ने ? के बिराएको छु र लुक्ने ? डाङ्ग्राहरूसँग डरार भाग्ने ! को हुन् यिनेरू ? हाम्रा पैताला चाटेर हुर्केका हैनन् ?’ रमनले मुख छोड्योे ।
‘खबरदार ! अरू एक शब्द बोलिस् भने मुख च्यातिदिन्चम् !’
असारेको कन्सिरी तातेर आयो ।
‘के भनिस् रे ? फेरि भन् त ?’ रमन पाकुरा सुर्किँदै लम्कियोे ।
‘बा ! ए बा ! छिटो बाहिर निस्किनुस् ।’ चन्द्रकला चिच्याई ।
वामदेव पूजा अधुरै छोडेर निक्लियो ।
‘ए शिवराम !’
‘हजुर मुखिया !’
‘यी ठेट्नालाई समाल् । बाहुनसित कसरी बोल्नपर्च, सिका यिनलाई !’ बामदेव रन्कियो ।
‘ठेट्ना नभन्नुस् । तल्लो जातका पनि मानिसै हुन् । पशु त हैनन् नि गाँठे ।’ शिवराम जोसियो ।
‘सिँगानधरी राम्ररी पुछ्न नजान्ने ठेउकालाई ठेट्ना नभने के भनूँ त !’
‘धेरै कुरा हैन, तिम्रो छोरोले गुन्डा लगार मोहनलाई मरनासन्न हुने गरी किन कुट्यो ? जवाफ चाहियो ?’ शिवराम पनि तात्यो ।
‘हुँदाहुँदा तिमी भन्न थालिस् हैन ? मेरो छोराले पिट्न लाको प्रमाण के छ ? जे मुखाँ आयो त्यै बोल्नी ? तल्लो जातको भएसि आफ्नो थान्कामा बस्न पर्च । छोरो बच्यो भन् न !’
वामदेवका शब्दले युवाहरूलाई झनै उत्तेजित तुल्यायो ।
‘ठोक बाउछोरालाई !’ चिनबहादुर कुर्लियो ।
असारे र लालबहादुरले लाठी उठाए । शिवरामले रोकिने इसारा ग¥यो ।
‘तल्लो जात भनेर नहेप । मेरो छोरोले पनि एमए पास ग¥या छ !’ शिवरामले भन्यो ।
‘मरेको सिनो खाने जातले जतिसुकै पढोस् !’ रमन फेरि बोल्न थाल्यो ।
‘ए दिनको बाहुन रातिको सार्की ! मुख समालेर बोल् । जात र धनको बलमा तैले कति सर्किनीको घोडा चढिस् ? कति कुमारी केटीलाई घरकी न घाटकी बनाइस् ? कसैले थाहापा’को छैन भनेको ! त्यस्ता कुकर्म दोहो¥याइस् भने ………….। अर्को कुरा पनि सुन्, आइन्दा मेरो छोरोमाथि टेडो नजर लाएको थापाए ठीक हुने छैन ।’ शिवरामले पनि मुखभरिको जवाफ दियोे ।
‘हँसिया, कोदाला अर्चापेर खाने डाङ्रा ! दसैँ भाग भन्दै किरा परेको काँधो खाने जात ! बडो हामीसित मुखमुखै लाग्च !’ वामदेव पनि पछि हट्ने पक्षमा थिएन ।
‘रमनले मोहनमाथि आक्रमण गरेजस्तै यिन्लाई पनि ठोक्नैपर्च ।’ असारे र लालबहादुरले पुनः लाठी उठाए । रिसले आगो हुँदै चतुरेले भाटो उठायो । युवाहरू रमनमाथि जाइलाग्न तम्तयार भए ।
शिवरामले फेरि रोक्यो ।
‘बाहुनका बुद्धिमा बिर्को लायो भन्दैमा हामी मूर्ख हुनुुहुन्न । बाजे बराजुको पालादेखि मिलेर बसेका हामी । खुनको बदला खुन ! हत्याको बदला हत्या ? यो हुन सक्तैन । भनाइ छ, बैगुनीलाई गुनले मार्नु । कसैलाई मार्नु छ भने गोलीले हैन बोलीले मार्नु । पिर्थिवी जित्नु छ भने गोलीले हैन बोलीले जित्नु ! आज पैलोबाजी कसैले यिनेरूमाथि ठाडो शिर गरेर बोल्यो । यिनेरू मुखले ट्याउँट्याउँ गरेनि मनले हारिसके । मनले हारेकाले गुलेली चलाउन सक्तैन । यिनलाई यति भए पुक्यो ।’ बुढोले केटाहरूलाई सम्झायो ।
केटाहरू संयमित भए ।
रमन र वामदेव थरथर काम्दै घर भित्र पसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank