डन्ट गिभ अप दीपा गो अहेड ! मुद्दा हराइयो तर हिम्मत हराउने कसैको तागत छैन

संजिव कार्की ७ असार २०७९, मंगलवार २२:४०

दीपाले फेरि पनि मुद्दा दोस्रोपटक हारिन्, स्पष्ट भनौ उनलाई मुद्दा हराइयो l  सोमबार उच्च अदालत पाटनले, काठ्मान्डौ जिल्ला अदालतको फैसलालाई पुनः सदर गरेको छ। यसर्थ दीपाले मुद्दा हारिन् l

के अब उनको हिम्मत हराउने र गिराउने तागत पनि राख्छ अदालत ? श्रीमान् जबाफ दिनुस् l विभेद गर्दै  गर्दा प्रमाण राख्न रेकर्ड गर्न कति सम्भव हुन्छ यो संवेदनशील विषय होइन ? यस्ता विषय र सवालमा प्रमाण कति पुग्छ कति पुग्दैन त्यो न्याय गर्नेको विवेकमा पनि भर पर्ने कुरा होइन र ? कसैलाई दुख दिन र फसाउन आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न मात्र दीपा जस्ता शैक्षिक पृष्ठभूमिका विद्यार्थी नेताले यस्तो काम गर्लान र ? मानविकीमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गर्दै गरेकी अनेरास्ववियुको केन्द्रीय सदस्य समेत भइ सकेकी मान्छे के लफडा गर्नकै निमित्त मुद्दा मामलामा आइन या उनी र उनको समुदायले भोगेको ज्यादती र अपमानले पोलेर यति जब्बर बनिन् ? श्रीमानको विवेकले ठम्याउने कुरा होइनन् र ? न्यायको लागि हार गुहार गर्ने अदालतलाई मान्नुपर्छ तर अन्याय गर्ने अदालतलाई सबैले सँधै मानिरहनु पूजा गरिरहनु पर्ने बाध्यता नहुन पनि सक्छ l

दीपा विद्यार्थी हुन तर उनको काम र ध्यान काठमाडौंमा बसेर मुद्दा,मामला गर्नु हो । मुद्दाको लागि वकिल भेट्नु  साक्षी र प्रमाण जुटाउनु अनि अड्डा अदालत धाउनु हो l राज्यले अख्तियार गरेको सामाजिक अन्ध कानुन विरुद्ध एक्लै राष्ट्रिय आवाज बनेर गर्जिरहेकी छन् । समाजमा व्याप्त हजारौं वर्ष अघिको धार्मिक कानुनका खिलाफमा नयाँ व्यवस्था र संविधानले तय गरेको कानुनको धारा टेकेर लडदै छन् । उनी आफै कानुनकि विद्यार्थी तर उनले अरुको लागि होइन आफ्नो लागि लडनु परेको छ । उनको लडाइँ एक्लो छ तर त्यो लडाइँको पछिल्तिर ६० लाख दलित समुदायको आत्मसम्मान र समताको हक जोडिएको छ । स्वाभिमान र मर्यादाको सवाल उठेको छ l राज्य र कानुनसँग उनले अरु केही माग गरेकी छैनन्  निर्भय बनेर बस्ने र सामाजिक प्रतिस्ठा पाउने उत्कट अभिलाषा मात्रै हो । एउटा मार्फत होइन सिङ्गो राज्य व्यवस्था र तीन हजार वर्षअधि बिजारोपण भएर हुर्की बसेको, झांगिएको जब्बर जात व्यवस्थासँग पौंठेजोरी खेल्दैछन्। होनहार छोराछोरी यो देशमा वर्षमा दर्जनौ मारिएको र बाँच्नेले पनि आत्म सम्मान गुमाएर बाँच्नु परेको, पटक पटक मार्दै बाँच्नु परेको  तीतो यथार्थको हर दिन र हर समयको आलो घाउ दुखेर दीपाहरु वागी बनेका हुन् । जात व्यवस्थाको सामान्य र गाउँ कुना कन्दराको प्रतिनिधि पात्रसँग होइन, सहरको चेतना शिक्षा र आधुनिक सभ्यताको जननी काठमाडौं बासी अनि सरकारी सेवाको प्रसासनिक निकायको अफिसर लेबलको मान्छेसँग सिङौरी खेल्दै दीपाका दिनहरु बितेका छन् । पढ्ने  र करियर बनाउने बेलामा आफ्नो अस्तित्वको लागि लडनु परेकोमा दीपालाई यो सामाजिक प्रबन्ध जात व्यवस्थाप्रति कति आक्रोश होला अनुमान गर्न सकिन्छ । उच्च शिक्षा लिने र पढाईलाई सर्वोपरि ठानेर ध्यान केन्द्रित गर्नुपर्ने बेलामा मुद्दा मामला, तारिक, सडक प्रदर्शन आदि तिर लाग्नु पर्दा उनको पढ्ने हक कति सुरक्षित भयो राज्यले ध्यान दिएको छ ? संविधान ऎन कानुनको धारा र दफारुपी हतियार भिरेर लडाइँ गर्दै हिंड्नु पर्ने एक गरिब दलित नारीको लागि कति सहज छ काठमाडौं ? यो त्यस्तो सहर हो जसले ब्यापारिक प्रयोजनका लागि कोठा भाडा लगाउँछ र त्यो कोठामा बस्न आउनेको जातको हैसियत सोध्छ र कथित अजात भनिनेलाई कोठा दिन मान्दैन । अछुत भनेर अमानवीय व्यबहार गर्छ र मर्यादाहीन भएर प्रस्तुत हुन्छ ।

मुद्दा हारिन्छ यो जात व्यवस्थाले दीपालाई जित्न दिंदैनथ्यो दिएन तर यो कुतन्त्र पल्टाउन दीपाले मोलेको जोखिम अविस्मरणीय रहनेछ l प्रेरणा र ऊर्जाको जागृत बीज बनेर उम्रने छ l डन्ट गिभ अप दीपा गो अहेड ! वि आर विथ यु l

आत्म सम्मानमा दुख्ने गरि घोच्छ । तिमी अछूत रहेछौ तिम्रो लागि मेरो घर बास दिन योग्य छैन ।  हामीले जात सोध्न बिर्सेर कोठा दिएका हौ अब जात थाहा भयो हाम्रो घर बिटुलाे हुन्छ छोडेर जाउ । कति अमानवीय तर्क र कारण देखाएर मान्छेले आफू जस्तै अर्को मान्छेको मर्ममा हान्छ, हेप्छ निम्न कोटिको हर्कत गर्छ । मानवता बिरोधि अपराध गर्छ । अपराध गर्नेलाई अपराध बोध हुन्न । बरु अपमानित हुने र पिडा पाउनेले आफू जन्मेको परिवेश र समाज अनि देसप्रति खेद व्यक्त गर्नु परेको छ । अपराधी संस्कार र समाजमा जन्म लिनु परेकोमा गहिरो पीडाबोध गर्नुपर्छ । कैलालीको एक गरिब दमाई परिवारकी छोरी आफ्नो उच्च शिक्षा पढ्ने र भविस्य बनाउने सपना लिएर काठमाडौं आउँछिन । उनका लागि काठमाडौं आगमन उसै सजिलो थिएन झन बसाई र यहाँको संघर्ष बडो कठिन भयो । कोठा नपाएर हत्तु हैरान हुनुपर्यो भने पाएको कोठा पनि दलित समुदायको हुनुको कारण छोडन पर्ने र घरभेटिले दिने दुख, जातीय विभेद र अपमानले अरु दर्दमय भयो । गाउँ घरमा जातीय अपमान र दुख झेलेर संघर्ष गरेकी, डटेर लडेकी दीपालाई काठमाडौं यति असहिष्णु र असभ्य होला भन्ने कुरा कल्पनामा पनि थिएन । आधुनिक सभ्य र सुपठित काठमाडौंले मानवीय मुल्य स्खलित गरेर असभ्यताको बर्को ओढछ  र ? तर दीपाले जे कल्पना गरिनन्  त्यो भयो । उनी कथित तल्लो जातको भएको भनेर डेरा बसेको घरमा गलफत्ती पर्यो र निस्केर जान भनियो जुन असाध्यै दुर्भाग्यको कुरा थियो ।

काठमाडौंको शहरी परिवेशको सामाजिक चेत र नेपाल सरकारको अधिकृत लेवलका कर्मचारीको घरको चेतनाको स्तर थियो । कम्युनिस्टले जातपात मान्दैनन् र छुवाछूत गर्दैनन् भन्ने भनाइ दीपा नेपालीका बाबु जन्मेको समयमा नै समाजमा व्याप्त थियो तर दीपा आफूले विश्वास गरेको कम्युनिस्ट पार्टी र सोही पार्टीको भातृ संगठन अनेरास्ववियु जस्तो अत्यन्तै शक्तिशाली,विद्यार्थी माझ लोकप्रिय संगठनकि केन्द्रिय नेता आफै विभेदको सिकार बन्न पुगिन । संघर्षले स्पात बनेकी, समतामुलक समाज निर्माण कि अभियानकर्मी दीपा धेरैले आँट नगरेको भेदका विरुद्ध लडाइँ गर्दैछन् । यिनले जे गर्ने आँट गरिन त्यो आजसम्म यति सुझबुझ भएका मान्छेले आँट गर्न नसकेको कानुनी झमेला हो l मुद्दा मामला सजिलो छैन उसै पनि ? आफू दलित भएको कारण कोठा नपाएको र थाहा पाएपछि कोठा छोडेर चुपचाप हिड्ने कतिपय साँसद, मन्त्री, अधिकारकर्मी र न्यायाधीश समेतले गर्न नसकेको हिम्मत गरेर यी चेलीले धेरैको आँखा खोलिदिएर हिम्मत बढाई दिएकी छन् ।

जातको कारण कोठामा बस्न नपाएका धेरैलाई मुद्दा मामला गर्नु भन्दा चुपचाप बस्नु र यो बेथितिसँग आत्मसमर्पण गर्नु नै श्रेयस्कर लाग्ने र जात लुकाएर बस्नु पर्ने बाध्यता झेल्नेको अगाडि चानचुने र खुद्रा साहस होइन । जब्बर काठमाडौंबासी पहाडसँग कुहिनो बनेर दीपा भिडदै छन् यिनको कुहिनो सामान्य पक्कै होइन ऎतिहासिक र बुलन्द दलनको प्रतिरोध हो । नेपालीले बटुलेको हिम्मतले ६० लाख मान्छेको आत्म गौरव र आत्मसम्मानको लडाईलाई टेवा दिएको छ l संविधानको निर्जीव धारामा समानता र स्वतन्त्रताको हक लेखिएको भएता पनि दलितहरुको जे नियति भएको छ त्यो  राज्यको नियतको परिणाम दीपा जस्ता युवालाई आफ्नो पढाइ लेखाइ र क्यारियर बनाउन छोडेर कानुनी झमेलामा फस्नु परेको छ l दीपाले यो बेथिति बिरुद्द लड्दा पटक पटक आफ्नो पढाइ र परिक्षा हाप्नु परेको छ l के यसको क्षतिपूर्ति राज्यले दिन्छ ? होइन भने आफ्नो महत्वपूर्ण समयमा किन सिंगो राज्यसँग लडेर बस्न बाध्य छन् यी चेली ? अनि सबै नागरिकप्रति समान छ राज्यको कानुन भनेर विश्वास गर्ने आधार के ?

दीपाको जब्बरता भित्र उनले विगतमा आफ्नो जन्मस्थल कैलालीमा गरेको संघर्षको व्यथा पनि छ l बडो दुख र समुदायको संघर्षले एक  विद्यालयको शिक्षक नियुक्ति पाएपछि पनि दीपालाई सहज रुपमा पढाएर बस्ने वातावरण बनेन l बरु दमाईकी छोरीलाई हाम्रा नानी बाबुले कसरी नमस्ते गर्छन यो हुदैन भनेर त्यहाँका कथित उच्च जातकाले अबरोध गरे l दीपाका बाबु आमा जुन पार्टीको पक्षमा लागेर जनयुद्द लडे त्यही पार्टी सम्बद्द मान्छे दीपालाई अछूत भनेर स्कुलमा पढाउने बाटो छेक्न आइपुगे l जुन जनयुद्दले जात भात केही होइन,समाजमा सबैको समानता र स्वाभिमानको मुद्दा बोक्यो, कतिपय ठाउँमा समतामूलक व्यवहारको अभ्यास सिकायो त्यही पार्टीका मान्छे खुला राजनीतिमा आएपछि विभेद गर्ने मतियार बन्न पुगे l

आज पनि मनु स्मृति राज्यको कानुन भन्दा माथि उक्त नियमको पालक क्रान्तिकारी माओवादी कार्यकर्ता बने l आफ्ना कार्यकर्ताले गरेको अमानवीय हर्कतको बिरोध तत्कालिन माओवादीले गर्न सकेन l जनयुद्द लडन दलित युवायुवतीको पसिना रगत र ज्यान चाहियो तर खुला परिवेस र भोटको राजनीति गर्ने ठाउँमा आएपछि दलितको मुद्दा कामयावी भएन र दीपा जस्ता दलितको पक्षमा लड्नुपर्ने माओवादी, दमाईकी छोरीलाई हाम्रा नानीबाबुले कसरी नमस्ते गर्न सक्छन भन्दै दीपाले योग्यता र क्षमताले पाएको शिक्षक जागिर सम्म खोस्न मरिमेटेर लागिपरे l पार्टीको युद्दमा सहभागी भएका मान्छे र तिनका छोराछोरीलाई विभेद गरे l तर दीपाले लड्ने, बरु भाँचिने, नझुक्ने अडान राखिन र त्यहाँ एक किसिमको सफलता प्राप्त गरिन् l अन्याय विरुद्द र जातीय छुवाछुत बिरुद्दको त्यो सफलता आज दीपाको लागि जीवनभर लडने प्रेरणा बनेर रहेको छ l दीपा आज काठमाडौं जिल्ला अदालतबाट जातीय छुवाछूतको मुद्दा हराइएको छ तर जति सकिन्छ जहाँ पुग्नुपर्छ त्याहाँ पुग्ने अठोटमा छन् । दीपा निराश देखिन्नन् l दलित भनेर अपमान गरिने विभेद गरिने कुराको प्रमाण पिडितको छातीमा शुल बनेर रहेको हुन्छ l मन र मस्तिष्कमा सियो बनेर घोचेको हुन्छ l विभेद गर्दै  गर्दा प्रमाण राख्न रेकर्ड गर्न कति सम्भव हुन्छ यो संवेदनशील विषय होइन ? यस्ता विषय र सवालमा प्रमाण कति पुग्छ कति पुग्दैन त्यो न्याय गर्नेको विवेकमा पनि भर पर्ने कुरा हो l जिल्लामा मुद्दा हारेर पनि दीपा पुनरावेदन पुगिन् l सरकारवादी मुद्दा उसै पनि पुनरावेदन हुन्छ नै तर सरकारी वकिलको रवैया र सरकारी वकिल फेरिरह्दा सरकारवादी मुद्दा उसै कम्जोर बन्ने र वकिलको नियतमा भर पर्ने दीपाको ठम्याई छ l तर पटक पटकको ढिलासुस्ती पछि २०७९ असार ६ गते पाटन अदालतका सम्माननीय न्यायाधीशहरूको फैसला आयो प्रमाण पुगेन तसर्थ दीपाले मुद्दा फेरि हारिन् l हुनत दीपालाई  दीपा मुद्दा छोड्न आर्थिक प्रलोभन र अनेकौं अवसरका प्रस्ताव आएका थिए तर उनको लडाइँ अब आफ्नो मात्रै सुबिधा र सजिलोको लागि होइन तसर्थ उनी एक छाक र आधापेट खाएर  दलित समुदायको आत्मसम्मान र स्वाभिमानको लागि लड्दै, भिड्दै गरिन् l

दीपाले थुप्रै धम्कीको सामना गर्नु पर्यो । अरु त ठिकै थियो आफ्नै पार्टीका दलित नेता अगुवा र प्रतिनिधि मुद्दा दायर नगर्न, मिल्न र सामार्थ्यले नभ्याउने शक्तिसँग भिडन खोजेर क्यारियर ध्वस्त पारेर खतरासँग नखेल्न सुझाव दिदै मधस्तता गर्छौ मिल भन्न आए । आफ्नै समुदायका कतिपय दास प्रवृतिका मान्छेले घुमाउरो पाराले धम्काए l सर्वशक्तिमान ओली सरकार भएको बेला आरोपी श्रीकृष्ण विडारी र उनको परिवारसँग  दीपाले मुद्दा हाल्न बिबस बनेको पृष्ठभूमि पनि नियालौ l दीपा २०७६ मङ्सिर महिनाको १३ गते आफ्ना भाइ र बैनी सहित बिडारीको घरमा डेरा बस्न पुगिन् l २४सै घण्टा पानी सहित ८ हजार महिनावारी भाडा बुझाउने शर्तमा कोठा लिएकी हुन् l डेरा सरेकै दिन घरभेटीकी छोरीसँग परिचय भएको जो एक चिकित्सक पनि हुन् उनी मार्फत दीपाको जात दलित भन्ने थाहा पाएको बिडारी परिवारले त्यसपछि जात थाहा नपाएर मात्रै कोठा दिएको, घरमा मरि मराउ पनि परेको एक वर्ष भएको छैन र अन्य भाडावाल पनि दलित बसेको घरमा बस्न मान्दैनन् l घरमा बुढी आमा पनि हुनुहुन्छ भनेर बाहानाका खात नै खात देखाउन थाले l के यी सब बहानाले देशको नियम कानुन र मानब अधिकारको धज्जी उडाएका होइनन् र ? कति हत्तु हैरान पश्चात पाएको कोठा अनि स्नातकोत्तर तहको अन्तिम परीक्षाको रुटिन निस्केको र एलएलबीको पनि दोश्रो वर्षको परिक्षा सन्निकट रहेको बेला दीपाको लागि कोठा छोड्नुपर्ने कुराले तनाव माथि तनाव थपियो र आफू कस्तो अमानवीय संसारमा अमानव भएर जन्मेछु भनेर धिक्कार पनि लाग्यो l

अब जे भए पनि परिक्षा दिने बेला आएकोले दीपाले त्यही बसेर परिक्षा दिने र आफुलाई भएको विभेद सार्वजनिक गरेर मध्यस्तता गरिदिन बिभिन्न निकायलाई गुहार मागिन् मानवाधिकार आयोगदेखि दलित अधिकारकर्मी चक्रमान विश्वकर्मा र दलित आयोगका डाक्टर बुद्दि नेपालीसम्म पुगिन् उहाहरुले सकेको गर्नुपनि भयो घरभेटी कन्भिन्स भएर सहज बातावरण दिएमा, मुद्दा मामला गर्ने दीपाको रहर र समय थिएन तर घरभेटीको रबैया दिनदिनको धम्की,दुर्व्यवहार अनि खानेपानी नदिने,लगायत यावत दुख झन्झट र टर्चर दिएपछि बाध्य भएर पहिलोपटक २०७६ फाल्गुन २० गते प्रहरी कार्यालयमा उजुरी गरिन् तर तत्कालिन नेकपाका कर्मचारी संगठनको केन्द्रीयस्तरको नेता बिडारी शक्ति प्रदर्शनको चलखेल गर्न थाले प्रहरी मुद्दा लिन आनाकानी गर्न थाल्यो, उनको प्रपन्च र शक्ति प्रदर्शनले प्रहरीले विधिवतरुपमा मुद्दा दर्ता गरेन पुन फाल्गुन २० गते उजुरी लिएर जानुपर्यो l

थुप्रै असहजता रस्साकसी पछि २०७६ मंगसिर २२ गते प्रहरीले उजुरी दर्ता गर्यो तर बिडारी पक्राउ परेनन् यस बिच धेरै धम्की आश्वासन र लोभ सबै-सबै प्राप्त भए तर म अब खप्ने र जहिल्ल्यै दुखेर बस्ने स्थितिमा बस्न नसक्ने भएँ l आफ्ना व्यक्तिगत समस्या परिक्षा थाती राखेर बिडारी र उनका बहालवालासँग लडने अठोटमा बसे l मुद्दा फिर्ता गर्ने धम्की लोभले मलाई गलाउन र फसाउन सकेन l अत्याचारको हद नागेपछि मैले सबै भुलेर न्याय र समताको लागि ढुङ्गो बन्ने निर्णय गरेको थिए दीपा सुनाउछिन l घरभेटीले भाडा बढी लिएको र व्यक्तिगत इगोको कारण र चर्चामा आउन दीपाले जातीय विभेदको मुद्दाको हतियार प्रयोग गरेको मान्छेहरुको भनाइ छ नि ? भनेर प्रश्न गर्दा दीपा गम्भीर बन्दै भक्कानिएर भन्छिन् l पढाई र क्यारियर सबै दाउमा राखेर मलाई मुद्दा मामला गर्नु किन पर्यो र ? पहिले पनि नियमित पढाई अबरुद्द भयो ? पढाई लेखाई गरेर लोकसेवा तिर लाग्नुपर्ने मान्छे म कुन रहर र उदेश्यले यस्तो गर्छु होला ? के म मान्छे होइन ? अरुलाई झैँ स्वतन्त्रता पूर्वक बाच्ने र आफ्नो हुँदो गर्ने छूट मलाई छैन ? म अनागरिक हुँ ? कथित अछूत बन्नु मेरो रहर या सौख हो ? मेरो आत्मसम्मान र मर्यादा संधै कसैको पैतालामुनि हुनुपर्छ ? म एक गरिब दमाईकी छोरी मलाई यहाँ बसेर पढन त्यसमाथि मुद्दा गर्न के सजिलो छ ? जीवन सुरक्षाको थ्रेट बोकेर म किन लडे ? मलाई बालाजु वृतका डिएसपी रञ्‍जित राठोरले किन सुरक्षा दिनुपर्यो ? के मैले स्नातकोतर पढनु र कानुन संकायमा पनि स्नातक गर्नु मेरो अपराध हो ? मैले यहासम्म आइपुग्न कति असजिलो र अप्ठ्यारोसंग मुकाबिला गरेको छु तपाईलाई थाहा छ ? मैले मुद्दा लेखिदिने वकिल भेट्न कति मुश्किल बेहोरे ? कतिदिन धाएँ ? मलाई नै लज्जित बनाउने गरि दीपाले एकैसाथ यतिधेरै प्रश्न गरिन् लाग्थ्यो यति धेरै पीडा खपेर पनि दीपा गहिरो डिप्रेसनमा पुगिनन् या पुगेर पनि समालिन सकिन यो उनको आफै माथिको पहिलो विजय हो l दीपाले मलाई जे प्रश्न गरिन ती मुटु भित्रका घाउका पत्रहरु थिए, आला घाउका चहराउने पाप्राहरू l एउटा मान्छेको रुपमा र पीडक समुदायको मान्छे भनेर चिनिएको मेरो जात र धर्मले मलाई लज्जित बनायो यद्दपि म स्वयं पीडक थिइन तथापि मन खिन्न भयो यो अमानवीय अपराध कर्मको साक्षी बस्नुपर्दा ग्लानी र क्षोभ पैदा भयो म के नै गर्न सक्थे र शब्दका माध्यमबाट यो विषयलाई अरु फराकिलो बनाउनु पर्छ भन्ने लाग्यो र यति लेखें l

जात व्यवस्थाको कारण कति मर्कामा छन् दलित ? जातभातको कुरा छैन हुदैन भन्नेलाई थाह छ दीपा नेपालीको पीडा करुणा दर्नाल र रुपा सुनारको जिउदै मर्नुको व्यथा ? अझ थाहा छ अजित मिजार हुनुको कथा ? सेते दमाई र नवराज विक, मना सार्की हुनुको नियति ? दीपालाई परेको अन्यायमा उनको आफ्नै विद्यार्थी संगठन अनेरास्ववियुको संगठित आवाज उठेन ? पार्टी नेकपा बोलेन ? तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले बरु संसदमा हंगामा गर्यो तर गैर दलितलाई यो मुद्दा आफ्नो लागेंन तसर्थ राज्यलाई किन छुन्थ्यो र ? संसद मीन विश्वकर्मा, जितु गौतम, निरा जैरु लगायत दुर्गा सोब गणेश विक र दलित विद्यार्थी नेताहरु मानवाधिकार कर्मीको बलियो साथ् रह्यो l तत्कालिन गृहमन्त्री रामबहादुर थापादेखि महान्यायाधिवक्ता सम्मलाई भेटेर दीपाले आफूमाथि भएको अन्याय र बोकेको प्रमाण पेश गरिन्,कानुन तथा मानवाधिकार समितिमा पनि लिखित उजुरी हालिन कतैबाट पनि रेस्पोन्स आएन l केहीले मानवीय मुद्दाको रुपमा पार्टी भन्दा माथि उठेर बोल्नु भयो तर देसको बौद्दिक वर्ग र समुदाय अपबाद बाहेक मौनताको च्यादर ओढेर बसे राज्यमा प्रभावकारी हस्तक्षेप गर्न सकेनन् l दीपाले न्यायको ढोका
घच्घच्याउने साहस गरेको कारण दोलखाकी करुणा दर्नाल र तँनहुकी रुपा सुनारले पनि कानुनको बाटो समातेका छन् l करुणाको पनि मुद्दा हराइएको छ भने रुपाको मुद्दा चल्दैछ जे होस् यी युवाहरुले गरेको हिम्मतले नेपालबाट मानवीय अव्यवस्था तोडन एउटा दुइटा सिंढी निर्माण भएको छ l यही सिंढी टेक्दै भावी दिनमा अरुलाई जात व्यवस्थाको जरो उखेल्न अवश्य सजिलो हुनेछ l मुद्दा हारिन्छ यो जात व्यवस्थाले दीपालाई जित्न दिंदैनथ्यो दिएन तर यो कुतन्त्र पल्टाउन दीपाले मोलेको जोखिम अविस्मरणीय रहनेछ l प्रेरणा र ऊर्जाको जागृत बीज बनेर उम्रने छ l डन्ट गिभ अप दीपा गो अहेड ! वि आर विथ यु l

(लेखक कार्की एमफिल/पिएच.डी अनुसन्धाता हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank