उपप्रमुखमा उठ्दा आफ्नै पार्टीका नेताले भने,‘यो डुमिनी ठुली हुन पाउँदिन’

महेश नेपाली १७ बैशाख २०७९, शनिबार १९:१७

माओवादीकाे दशवर्षे जनयुद्धले देशभरका सिमान्तकृत समुदायलाई एकै ठाउँमा ल्याउन सकेको थियो। उपेक्षित, उत्पीडितको पक्षमा वकालत गर्ने माओवादीको नाराले त्यतिन्जेल काम गर्यो, जतिन्जेल उ सरकारमा गएन।

पहिलो संविधान सभाको निर्वाचनमा अत्यधिक मत पाएको माओवादीको लोकप्रियता धेरै लामो समय टिकेन। सत्ता भागबण्डाको खेलबाट जनताले नभई आसेपासेले बढी लाभ लिए। परिणाम दोस्रो संविधान सभाको चुनावसम्म आइपुग्दा माओवादीको लोकप्रियता एक सय ८० डिग्रीले घट्यो।

स्वार्थी र लोभीपापीले स्वार्थका आकार, प्रकारका आधारमा पार्टी अंगाल्ने र छोड्ने गरेपनि गाउँघरको सिमान्तकृत, उपेक्षित र उत्पीडित वर्ग माओवादीकै भरोसामा परिवर्तनको आश गरिरहेको छ।

यस्तै परिवर्तन कुरेकी, परिवर्तनको पक्षमा वकालत गर्दै आएकी र आफैँ परिवर्तन गर्न भनेर लागेकी माओवादी जनयुद्धदेखिकी एक कार्यकर्ता हुन्, कल्पना दमाई (परियार)।

हाल उनी हिमा गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार बनेकी छिन्। हिजो पदमा पुगेका र हाल सत्ताको वरिपरि रमाइरहेकाहरूबाट उनको उम्मेदवारी रद्द गरिनुपर्ने खेल खेलिएको छ।

उनको उम्मेदवारी रद्द गर्नको लागि माओवादी केन्द्रदेखि स्थानीयस्तरका नेतासम्म लागे। जसमा केन्द्रीय सदस्यहरू नरेश भण्डारी र गजेन्द्र महत कार्माको नाम पनि जोडिएको छ।

उनीहरूले हिमा गाउँपालिका ओदीकी विनशा रोकायालाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने तयारी गरे पनि गाउँ कमिटीले कल्पनाको नाममा टिकट दियो र उम्मेदवारी दर्ता भयो।

त्यसको भोलिपल्टदेखि उनको उम्मेदवारीको विरोध हुन थाल्यो। कुनै पनि हालतमा उनको उम्मेदवारी रद्द हुनुपर्छ भन्ने खालको आवाज उठ्यो।पार्टीकै मान्छेले गाउँभरका अन्य पार्टीका मान्छेसमेत उचालेर उनको विरोध गर्न लगाए।

हिमाको निर्वाचन कार्यालय अगाडि नारा जुलुस लगाइयो। उनको नाम लिएर अश्लील र असभ्य तबरले गाली गलोज गरियो। उनको जात लक्षित नारा लगाइयो र खुलेआम भनियो, ‘यो डुमिनी ठुली हुन पाउँदिन!’

कल्पनाले विरोध मात्रै हुँदासम्म केही मानेकी थिइनन् तर जब जातीय विभेद गर्ने गरी गाली गर्न थालियो, तब उनले बुझिन्, ‘यी पार्टीका मान्छे होइनन्। भिडबाट प्रेरित छन्। स्वार्थी र लोभीपापी हुन्।’

उनका अनुसार जातीय विभेद गर्नेगरी नारा लगाउनेहरू योभन्दा अगाडि माओवादीबाट विजयी उपाध्यक्ष हिमाली रोकाया, नरेश भण्डारीको टिम र उनकी साली नाता पर्ने लक्ष्मीकन्या बुढा र भण्डारीकै बहिनी नाता लाग्ने विनशा रोकायाबाट उचालिएका अन्य पार्टी समेतका कार्यकर्ता हुन्।

‘नेताहरूले टिपेर विनशालाई उम्मेदवार बनाउन खोज्नुभयो। विनशा नरेश भण्डारीकी बहिनी हुनुहुन्छ,’ कल्पनाले भनिन्, ‘त्यसैले पहुँच र पावरको आधारमा मेरो उम्मेदवारी रद्द गराउन गाली गलोज गर्नुभयो। यत्ति हो गाउँका साथीहरूले मलाई चुन्नुभयो र म चुनावी मैदानमा छु।’

केन्द्रीकृत शासनको विरोध गर्ने माओवादी अहिले आफैँ नेता र ठूलाको निर्णय जबरजस्ती लाद्न खोज्ने खालको भइसकेको छ। त्यसैले परिवर्तन अरूको आश गरेर नहुने भएकाले आफैँ नेतृत्व लिनुपर्ने अवस्था आइलागेको कल्पनाले बताइन्।

‘अघिल्लो पटक पनि गाउँपालिकाको उपाध्यक्षमा मेरो नाम सिफारिस भएको थियो,’ उनले भनिन्, ‘पार्टीकै साथीहरूबाट विभिन्न खालका जालझेल गरियो र म पछाडि हट्नुपर्ने अवस्था आइलाग्यो।’

हिमामा माओवादीको पकड राम्रो छ। २०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा विजयी भएकाे माओवादीको यसपालि पनि सम्भावना राम्रो छ। त्यसमाथि दलित समुदायका मतदाताको बलियो उपस्थिति भएको ठाउँमा कल्पनाको जित्ने सम्भावना उत्तिकै बलियो छ। तर उनलाई नै अगाडि आउन नदिन विभिन्न खालका अवरोध खडा गरिएका छन्।

‘यो जालझेलमा लाग्नेहरू कुनै न कुनै नाममा गाउँपालिकाबाट लाभ लिनेहरू हुन्,’ उनले भनिन्, ‘म अघिल्लो पटक जिल्ला समन्वय समितिकी सदस्य हुँदा सरकारी रकम दुरूपयोग गर्नेको विरोध गर्दै आएकी थिएँ। अहिले म गाउँपालिकामा आएँ भने उनीहरूको लुटको राज ध्वस्त हुने डर छ। त्यसैले ममाथि विभिन्न खालका षड्यन्त्रहरू भइरहेका छन्।’

उनले गाउँपालिकाबाट १२ लाखदेखि ५० लाखसम्म रकम लिएर भ्रष्टाचार गर्ने र सुर्खेतमा घर, घडेरी जोड्नेहरू सबैको एक-एक गरी भण्डाफोर गरिने बताइन्।

‘समय आएपछि सबैको पर्दाफास गरिनेछ। दलितका नाममा राजनीति गरेर अगाडि बढेकाहरू, दलित अगाडि आउन नदिने खेलमा लाग्दा सहेर बस्न सकिँदैन,’ उनले भनिन्, ‘म पनि जनयुद्धको भट्टीबाटै खारिएर आएकी हुँ। अब अर्काे एउटा लडाइँ सुरू भएको छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank