बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षीया रेजिना नेपालीका बुबा न्याय खोज्न काठमाडौंमा

दलित अनलाईन ६ फाल्गुन २०८०, आईतवार १७:२१

काठमाडौं —   गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षीया रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौँ आउन बाध्य भएको बताएका छन् ।

शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्साहनको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् ।

सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्ने मात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने, ‘मलाई मेरो गाउँघरमा न्यायका लागि साथ दिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्याय बाहेक अरू केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।’

मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्साहन नभई जबरजस्ती करणी र हत्या नै भएको दाबी गरेका छन् । ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलात्कारपछि हत्या गरेको दाबी गरे । घटना भएको पुष १ गते राति ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिवादी रावतलाई भेटेको बताउँदै भने, ‘मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरूमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिवादी घटनास्थलमा देखिनु कुनै संयोग हुन सक्दैन ।’

एकीकृत दलित मुक्ति मोर्चा,नेपालका संयोजक दर्शनकुमार नेपालीले पीडितको न्यायका लागि आफूहरू कुनै पनि हदसम्म जाने बताउँदै भने, ‘मृतक रेजिना नेपालीको हत्यापछि र हत्या अघिका घटनाहरू केलाउँदा घटना आत्महत्या दुरुत्साहन नभई जबरजस्ती करणी र हत्या नै भएको देखिन्छ ।’

संयोजक नेपालीले बलात्कारपछि हत्या नै भएको आधार दिँदै भने,’मंसिर २९ गते भागि बिहे गरेकी बिपना नेपालीलाई पुर्याउन गएकी मृतक रेजिनाका ३ जना साथीहरूलाई फर्किने क्रममा नाईन भन्ने ठाउँमा गाडीमा लक गर्ने र प्रतिवादीले रेजिनालाई गाडीबाट टाढा लगेर २५-३० मिनेटपछि फर्किनु, मृत्यु हुनुअघि रेजिनाको सल प्रतिवादी रावतसँगै हुनु, प्रतिवादी घटना भएको समयमा नजिकै भेटिनु, घटनापछि फरार हुनु, प्रहरी प्रशासनले ३२ दिनसम्म जाहेरी नलिनु,पीडितले दिएको बलात्कार तथा हत्याको जाहेरीलाई उल्ट्याउँदै आत्महत्या दुरुत्साहनको जाहेरी दिन दबाब दिनु, राम्रोसँग छानबिन नहुँदै मृतकको शवलाई अन्त्येष्टि गर्न मनोवैज्ञानिक रूपमा दबाब दिनु र पीडितको पक्षमा बोल्नेहरूलाई प्रहरी चौकीबाट बाहिर निकाल्नु लगायतका अन्य अदृश्य षड्यन्त्र हुनु प्रतिवादी बचाउनु मुख्य आधार हुन् ।’

पीडितले न्याय नपाए त्यसको दोषी सिंगो एकात्मक ब्राह्मणवादी राज्य व्यवस्था हुने र त्यसको डटेर प्रतिवाद गरिने नेता नेपालीले चेतावनी दिए ।

सो मोर्चाका नेता राम नेपालीले सो घटनालाई ओझेलमा पारी पीडकलाई उन्मुक्ति दिने अनेक षडयन्त्र भइरहेको बताउँदै भने’स्थानीय सरकार,संसदीय राजनीतिक पार्टीका नेताहरू,प्रहरी प्रशासनलगायत सरोकारवालाहरू जिम्मेवार नहुनुले उत्पीडित दलित समुदायले गम्भीर संकटको सामना गर्नु परेको देखिन्छ ।’

के हो घटनाः

गत मंसिर २९ गते गाउँकै रेजिनाकी दिदी नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफूलाई आधी बाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली ४ जना बिपनालाई घरदेखि पोइली घरसम्म छोड्न २ नम्बर वडा अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए । सो क्रममा मृतक रेजिनसहित ४ जनाले बिपनाको पोईली घर सुदाडा पुर्याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारैजना किसोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि  गाडिमै फर्काएका थिए ।

त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुन्ड्याएको परिवारको आरोप छ ।

घटनालगत्तै छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जाँदा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको थियो । त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाको ठूलो बुबा सुरेन्द्र नेपालीको भनाइ छ । प्रहरीले आफूले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् । प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोस्टमार्टम रिपोर्टमा समेत आफूहरूको असन्तुष्टि रहेको उनको जिकिर छ ।

पोस्टमार्टम रिपोर्टमा समेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफूहरूको बुझाई रहेको उनले बताएका छन् । निज आरोपित अर्जुन रावत रेजिना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासनदेखि, विभिन्न राजनीति दलका नेताहरू नै सक्रिय देखिएको आफूहरूको ठम्याई रहेको नेपालीले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank