विपन्न समुदायका बालबालिका खाली खुट्टै विद्यालय

दलित अनलाईन २२ फाल्गुन २०७८, आईतवार १६:४९

कपिलवस्तु —कपिलवस्तुको शिवराज नगरपालिका वडा – ८ मा रहेको लक्ष्मणपुर आधारभूत विद्यालयमा करिब २५० हाराहारीमा विद्यार्थी छन् । विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म पठनपाठन हुन्छ । विद्यालयमा अध्ययन गर्न आउने स—साना बालबालिका जाडो वा गर्मी जुनसुकै मौषममा पनि खाली खुट्टा नै विद्यालय आउने गर्छन् । ‘कमजोर आय भएका परिवारका बालबालिकाले एकसरो कपडा त जेनतेन लगाउन पाएको अवस्थामा खुट्टामा जुत्ता र चप्पल कहाँबाट पाउन ?,’ विद्यालयका प्रधानाध्यापक हकिम मुसलमानले भने ,‘विद्यार्थीले पढ्ने पुस्तक कापी कलम त झोला नभएर हातमा नै खुल्ला बोकी ल्याउनुपर्ने उनीहरुको बाध्यता छ ।’

विद्यालयको भौतिक अवस्था राम्रो छ । आवश्यक डेक्स बेन्च पूर्ण छन् । शौचालय खानेपानी सबै राम्रो छ तर कठ्यांग्रिने चिसो र पोल्ने गर्मीमा खाली खुट्टा विद्यालय आएका विद्यार्थीलाई टुलुटुल हेर्नु बाहेकको विकल्प नरहेको विद्यालयका शिक्षक शिक्षिका बताउँछन् ।
यो विद्यालयमा विपन्न समुदायका बालबालिका अध्ययन गर्छन् ।

मधेशी समुदायका पनि ८० प्रतिशत दलित समुदायका विद्यार्थी पढ्ने आउने भएकाले एक जोर पोशाक वर्ष भरी लगाउनु पर्ने बाध्यता छ । अझ गाउँमा हुने विवाह, पूजा कुनै कार्यक्रममा पनि सहभागी हुँदा विद्यालय पोशाकमा नै जान्छन् । फेर्ने कपडा समेत उनीहरुसँग छैन । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले जुत्ता चप्पल किनिदिन नसक्दा विद्यार्थीहरु खाली खुट्टा नै विद्यालय आउनु परेको स्थानीय शिक्षा प्रेमी बासुदेव जमरकट्टेलले बताए ।

कमजोर आय भएका विद्यार्थीहरुलाई पोशाक, जुत्ता, स्कूल व्यागको व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने उनले बताए । ‘वडाका विद्यालयहरुमा पढ्न आउने विद्यार्थीहरुको परिवारको आर्थिक अवस्था हेरी खरिद गर्न नसक्ने परिवारका विद्यार्थीलाई नगर र वडाले किनिदिनु पर्छ’, उनले भने–‘सामाजिक न्याय गर्ने काम स्थानीय सरकारको हो ।’
एउटै कक्षामा कोही जुत्तामोजा लगाएर आउने विद्यार्थी छन् । कोही खाली खुट्टा विद्यालय आउने गर्दा निम्न आयका भएका परिवारबाट विद्यालय पढ्न आउने विद्यार्थीहरुको मनोबल घट्ने सरोकारवालाहरु बताउँछन् ।

जाडो होस् या गर्मी, स–साना बालबालिकाहरु खाली खट्टै विद्यालय पुग्नुपर्ने बाध्यता छ । विपन्न परिवारका उनीहरुसँग किताब बोक्ने झोला छैन, एकजोर पोशाखले नै दुई वर्ष गुजार्नु पर्छ ।

विपन्न बालबालिकालाई सहयोगी संघ संस्था वा सम्बन्धित निकायसँग समन्वय गरी जुत्ता चप्पल उपलब्ध गराउनु पर्ने समाजसेवी इश्वरी पाण्डेले बताए । पाण्डेले केही विद्यार्थीका लागि झोला उपलब्ध गराएका छन् । आफूले विद्यार्थीका लागि स्कुल झोला वितरण गरेको जनाउँदै सक्नेले फजुल खर्च घटाएर यस्ता निम्न आय भएका परिवारका विद्यार्थीहरुलाई सहयोग गर्नुपर्ने बताए ।

त्यसो त नगरका दक्षिणी भेगमा रहेका आधारभूत विद्यालयहरुमा पढ्न आउने बालबालिकाहरु प्रायः जसो खाली खुट्टा, हातमा किताब च्याप्दै विद्यालय आउने गरेका भेटिन्छन् । हरेक वर्ष नगरले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि करोडौं रकम विनियोजित गर्दै आइरहेको छ ।
नगरको तथ्यांकमा भौतिक तथा शैक्षिक क्षेत्रमा करिब करिब नगरका सबै विद्यालय सम्पन्न भएका छन् तर सम्पन्न विद्यालयमा पढ्न आउने विद्यार्थी खाली खुट्टा नै विद्यालय पढ्न आउनुपर्ने बाध्यता रहेको छ ।जाडो न्यानो लुगा नपाएका बालबालिकाहरु बिरामी भई नियमित विद्यालय समेत आउन पाएका छैनन् । गर्मीमा खाली खुट्टा हिंड्नै नसक्ने अवस्था रहेको छ । विद्यालयका प्राध्यानाध्यापक मुसलवानले सहयोगी संस्थाहरुलाई विपन्नलाई राहत दिन आग्रह गरेका छन् । ‘हामीले विभिन्न संस्थाहरुलाई भन्ने गरेका छौं, म अहिले पनि सहयोगी संस्थाहरुलाई झोला, जुतामोजा सहयोग गर्न आग्रह गर्दछु ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank