पत्रकार एलबी विश्वकर्मा मृत्युबारे छानबिन समिति गठन

दलित अनलाईन ९ माघ २०७८, आईतवार २०:५१

काठमाडौँ — सामाजिक न्यायको पक्षमा कलम चलाउने पत्रकार एलबी विश्वकर्मा मृत्युको घटनाबारे छानबिन गर्न निजामति कर्मचारी अस्पताल (सिभिल)ले समिति गठन गरेको छ ।

अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा अस्पतालका उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउण्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेका छन् । सामाजिक न्यायको पक्षमा कलम चलाउने पत्रकार एलबी विश्वकर्माको भएको मृत्युबारे चौतर्फी रुपमा अस्पतालले लापरबाही गरेको भन्दै विरोध जनाएपछि निजामति कर्मचारी अस्पताल (सिभिल)ले छानबिन समिति गठन गरेको हो । तीन दिनभित्र पत्रकार विश्वकर्माको मृत्युमा भएको लापरबाहीबारे सत्य तथ्य सार्वजनिक गर्ने(सिभिल)ले जनाएको छ ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार यसबारे पत्रकार महासंघले पनि अध्ययन गरिरहेको छ । सिभिल अस्पतालले उपचार गर्ने रकम नभएकै कारण पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लैजान भनेको र त्यहीकारण विश्वकर्माको मृत्यु भएको आफन्तको आरोप छ ।

बुधबार सिभिल अस्पतालले इमर्जेन्सी विभागमा भर्ना भएका विश्वकर्मालाई पाटन अस्पताल रिफर गरेको थियो । सिभिलले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको भन्दै यसअघि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

सञ्चारक्षेत्रका माध्यमबाट आवाजविहिनहरुको आवाजलाई सधै सशक्तरुपमा कमलबाट अभिव्यक्त गर्ने विश्वकर्मा ६ सय रुपैया पैसा अस्पतालमा अपुग भएकै कारणल अकालमै मृत्युवरण हुनु परेको थियो ।

सामाजिक न्यायको पक्षमा प्रखर रुपमा कलम चलाउँदै आएका पत्रकार विश्वकर्माको मृत्युपछि नेपाल पत्रकार महासंघ, क्रियाशील दलित पत्रकार संघ, श्रमजिवी पत्रकार संघ र प्रेस काउन्सिल लगायत संघसंस्थाले समेत निजामति अस्पतालमा पत्रकार विश्वकर्माको उपचारमा भएको लापरवाहीबारे निष्पक्ष छानबिन गर्न माग गरेका थिए ।

टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको गत बिहीबार बिहान साढे ३ बजे पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत बिहीबार बिहान निधन भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank